|

गुल्मी : गुल्मीमा अदालतले पक्राउ पूर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन।

गुल्मीदरबार गाउँपालिका-४ का ३८ वर्षीय नारायण पाध्या शर्मा चुदालीविरुद्ध गत मंसिर ८ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा मानव बेचविखन मुद्दा दर्ता भएको थियो। पीडितको बयानका आधारमा जिल्ला अदालतले मंसिर १० गते उनको नाममा पक्राउ पूर्जी समेत जारी गरेको थियो।

गत कात्तिक २६ गते चुदालीले रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी १७ वर्षीया किशोरीलाई आफ्नो घर लगेका थिए। त्यसपछि मंसिर १ गते भाइटीकाका दिन आफ्नो घर बलेटक्सार जान भन्दै मोटरसाइकलमा राखेर ती किशोरीलाई गोरखपुर पुर्‍याएका थिए। उनले छत्रकोट गाउँपालिकाको चोयघामा एक प्रकारको पेय पदार्थ खान दिएर आफूलाई गोरखपुर पुर्‍याएको पीडितको बयानमा उल्लेख छ।

किशोरीलाई गोरखपुरको राज होटलमा ५ दिनसम्म करणी गरेको तथा बन्धक बनाएर राखेको निवेदनमा लेखिएको छ। शर्मा विरुद्ध मानव बेचबिखनको मुद्दा दर्ता गरिएको छ। पीडितका बुबाले पीडक नारायण शर्मा गाउँ–घरमै डुलेर बस्दासमेत पहुँचको आधारमा प्रहरीले चासो नदिएको गुनासो गरे।

यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले अदालतबाट पक्राउ पूर्जी भइसकेको तथा आरोपित पत्ता लगाउन नसकेको बताए। 
एकपटक रूपन्देही तथा विभिन्न स्थानका प्रहरी चौकीहरूसँग समन्वय गर्दा समेत नभेटिएको प्रहरी प्रमुख श्रेष्ठले दावी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.