माघ १४ देखि लगाउन थालिने

|

काठमाडौं : भारतले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप 'कोभिशिल्ड' आज सरकारले सातै प्रदेशमा पठाएको छ।

गत बिहीबार भारतले अनुदान स्वरूप नेपाललाई १० लाख डोज खोप दिएको थियो। टेकुस्थित स्टोरमा राखिएको सो खोप आज देशका विभिन्न भागमा पठाउन लागिएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार सबै प्रदेशमा खोप पठाउन शुरू भइसकेको बताए। यसअघि हिजै खोप पठाउने भनिएपनि औषधि व्यवस्था विभागबाट गर्नुपर्ने केही कागजी कार्य नसकिँदा आजबाट खोप पठाइएको हो। 

टेकुस्थित स्टोरमा राखिएको खोप लिएर बोकेको रेफ्रिजेरेटर भ्यानलाई उच्च सुरक्षासहित विभिन्‍न प्रदेशमा लगिँदैछ। पहिलो पटक मन्त्रालयले सात प्रदेशका ७७ वटै जिल्लामा खटिएका फ्रन्टलाइन हेल्थ वर्करलाई लगाउन पुग्ने ४ लाख ५० हजार डोज खोप पठाउँदै गरेको हो।

यो खोप कोरोना महामारी नियन्त्रण गर्न फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गरिरहेका चार लाख ३० हजार कर्मचारीलाई लगाइनेछ। खोप लगाउनेहरूको सूची सरकारले तयार गरिसकेको छ।

मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ। उनीहरूको संख्या २ लाख २५ हजार ७ सय ८२ छ। बाँकी खोप सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीलाई दिइनेछ।

मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखासँग रहेको दुईवटा रेफ्रिजेरेटर भ्यानले पूर्व र पश्चिममा खोप लैजाने भएको छ भने गण्डकी प्रदेशका लागि खोप लिन आफ्नै रेफ्रिजेरेटर भ्यान आएको छ।

बागमती प्रदेश अन्तर्गतका काठमाडौँ उपत्यकासहित नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछाप लगायतका जिल्लाहरूमा काठमाडौँबाटै खोप वितरण गर्ने योजना मन्त्रालयले बनाएको छ।

सात प्रदेश र ७७ जिल्ला गरी विभिन्न ३०० वटा अस्पतालमा खोप लगाइने मन्त्रालयले जनाएको छ। काठमाडौंमा १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ। आगामी बुधबारदेखि खोप लगाउने तयारी भएको छ। 

पहिलोपटक लगाएको करिब १ महिनापछि खोपको दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ। एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको योजना छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप माघ १४ गतेदेखि लगाउन थालिने बताएका थिए। स्वास्थ्य मन्त्रालयले पनि १४ देखि १८ गतेभित्र ७७ वटै जिल्लामा खोप लगाउन शुरू भइसक्ने गरी योजना बनाएको छ।

मन्त्रालय स्रोतका अनुसार दुर्गम जिल्लाहरूमा खोप पुग्न केही ढिलाइ हुनेछ। तर ती स्थानमा पनि १८ गते सम्ममा खोप पुग्ने बताइएको छ। सुगम स्थानमा भने शुरूमै खोप लगाउन थालिने अधिकारीहरूले बताएका छन्‌।

खोप लगाउनेबारे आज सबै मुख्यमन्त्रीसँग छलफल

खोप अभियानबारे आज मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्रीसँग स्वास्थ्य मन्त्रालयले छलफल गर्दैछ।

सबै प्रदेशका मुख्यमन्त्री, सचिव, स्वास्थ्य मन्त्रालय मातहतका महाशाखा प्रमुख, प्रदेशका स्वास्थ्य प्रमुख, महानिर्देशक, प्रदेश खोप-अर्डिनेटरहरूको सहभागिता खोप अभियान सहज र प्रभावकारी बनाउन छलफल हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.