|

बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी इन्चार्ज पृथ्वी सुब्बा गुरुङले मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्। चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितका लागि संसद विघटन गरेको उनको तर्क थियो।

ओलीले जनताको माझमा जाने निर्णय गर्दै संसद् विघटन गरेको दाबी गर्दै गुरुङले तोकिएको समयमै निर्वाचन हुने र ओली नेतृत्वको नेकपा सूर्य चिह्न लिएर निर्वाचनमा जाने दाबी गरे।

‘अफ्ठेरोमा परेका बेला देशको अदालत जनता हुन्’, उनले भने, ‘ताजा जनादेशमा जाने कुरा लोकतान्त्रिक कि अलोकतान्त्रिक?’ उनले प्रतिगमन चाहनेहरुले नै संसद् विघटन गरेर मध्यावधिमा जाने कदम प्रतिगामी भएको भन्दै आएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको भेलालाई बागलुङको बुर्तिबाङ बजारमा सम्बोधन गर्दै गुरुङले केपी शर्मा ओलीको प्रभावकारी कामबाट आत्तिएकाहरुले संसद् विघटन गर्न बाध्य बनाएको आरोप लगाए। 

‘बिरालोको घाँटी समाएर कुट्यो भने त्यसले कुट्नेहरुकै घाँटीमा समाउँछ’, गुरुङले भने, ‘घाँटीमा बाँध्न खोज्नेहरुले सुर्केनी राम्रो लगाएनन्, त्यसैले अहिलेको परिस्थिति जन्मिएको हो।’

हिजो भारतीय नाकाबन्दीका समयमा केपी ओलीको अडानबाट आत्तिएकाहरु अहिले देशको चुच्चे नक्सा, पारवहन सम्झौता र विदेशीसँग नझुक्ने कदमका कारण आत्तिएर पार्टीमा विभाजन ल्याएको उनको भनाइ थियो।

‘बुर्तिबाङमा देवकुमारले गरेको कामले यहाँ अरु दलहरु आत्तिएका छन्, संघमा प्रधानमन्त्री ओलीका कामले आफ्नै दलभित्रका विभाजनकारी आत्तिए’, गुरुङले भने ‘छिमेकी रिझाउन विभाजनको बाटो खोज्नेहरू आफैं सकिन्छन्।’

गुरुङले एकीकृत पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नातावादको झुण्ड बनाउन लागेको आरोप लगाए।

हिजो युद्धको लिगेसीबाट आएका अध्यक्षले समेत सीमित स्वार्थ र परिवारवादमा लागेकाले नेपाली जनताले चाहेको जस्तो काम हुन नसकेको उनको भनाइ थियो। ‘प्रचण्डजी नेता हो, रामबहादुर थापा युद्ध कमाण्डर हुनुहुन्छ’, गुरुङले प्रश्न गर्दैै भने, ‘पूर्वएमालेबाट अध्यक्ष र महासचिव र पूर्वमाओवादीबाट युद्ध कमाण्डर रहनुभएको पार्टी दुवै लिगेसीको हुन्छ कि, नेता मात्रै चोइटिएर गएको पार्टी ?’ 

एक घण्टा लामो भाषणमा गुरुङले नेकपा वरिष्ठ नेता माधव कुमार नेपालको पनि टिप्पणी गरेका थिए।

‘विधि र पद्धतिका कुरा गरेर देशलाई अहिलेको अवस्थामा पुर्‍याउने माधव नेपाल हुन्’, उनले भने, ‘हिजो दुई पार्टी एकता हुने बेला दोस्रो वरीयताका झलनाथलाई विधि मिचेर हुत्याउनेले विधिको कुरा गर्न सुहाउँदैन।’ पित्तल भैसकेका माधव नेपालले सुन नै हुँ भन्ने अहंकार पालेका कारण नेकपामा विचलन आएको उनको आरोप थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.