|

बर्दिया : लोप हुँदै गएको कृष्णसारको संख्या अहिले विश्वभर ५० हजार हाराहारीमा छ। यो वन्यजन्तुको प्राकृतिक वासस्थान अब नेपाल र पाकिस्तानमा मात्र छ। तर नेपालमा कृष्णसार जोगाउन हम्मेहम्मे परिरहेको छ।

संसारमा २ उप-प्रजातिका कृष्णसार पाइन्छ। नेपालमा पाइने कृष्णसारलाई एन्टीलोप सर्भी काप्रा भनिन्छ। अहिले बर्दियाको कृष्णसार संरक्षण क्षेत्र, खैरापुरमा २ सय वटा कृष्णसार रहेका छन्। 

बाँकेको नेपालगन्ज उप–महानगरपालिकाले व्यवस्थापन गरेको चिडियाखाना उपयुक्त नदेखिएपछि त्यहााँ रहेका कृष्णसारलाई शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिएको छ।

संख्या हेर्दा चाहिँ नेपालमा कृष्णसार बढिरहेको छ। विसं दशमलव २०३२ सालमा बर्दियाको गुलरिया नगरपालिका-२ खैरापुरमा ९ वटा कृष्णसार रहेकोमा हाल बढेर २ सय वटा पुगेको छ।

तर, २०७१ सालमा आएको बाढीका कारण केही कृष्णसार बगेर बेपत्ता भएका थिए। बाढी आउनुअघि कृष्णसारको संख्या झण्डै ३ सयसम्म पुगेको थियो। सो बाढीका क्रममा १ सय वटा कृष्णसार मारिएको थियो।

खैरापुर गाउँ आसपासमा बसोबास गर्ने शाकाहारी यादव लगायतका समुदायको बसोबास रहेका कारण संरक्षणमा ठूलो टेवा पुगेको छ। त्यस क्षेत्रका स्थानीयले कृष्णसारलाई भगवानको वाहनका रूपमा पनि मान्ने गर्दछन्।

संसारबाट लोप हुँदै, नेपालमा जोगाउनसके फाइदा

कृष्णसार समथर घाँसे मैदान, खुल्ला क्षेत्र, भएको ठाँउमा बस्न रुचाउँछ। भुस्याहा कुकुर, चितुवाको आक्रमण तथा वासस्थान विनाशका कारण यो प्राणी संसारबाटै लोप हुने अवस्थामा पुगिसकेको छ।

कृष्णसारको भालेको तौल ३५ देखि ५० र पोथीको २५ देखि ४० किलोग्रामसम्म हुन्छ।​ भालेको लम्बाइ १ दशमलव ९ मिटरसम्म र पोथीको १ दशमलव ४ मिटरसम्म हुन्छ। उचाइ ० दशमलव ९ देखि १ मिटरसम्म हुन्छ।

सामान्यतया: पोथी ८ महिनादेखि १ वर्ष र भाले १ देखि २ वर्षको उमेरमा वयस्क हुन्छ। गर्भधारण अवधि १ वर्षको हुन्छ।

कृष्णसारले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ। भाले कृष्णसार वयस्क हुँदै गएपछि ६ महिनापछि सिङ निस्कन थाल्छ। सामान्यतया: कृष्णसारको औषत आयु १२ वर्ष हुन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा कृष्णसारलाई नेपालको संरक्षित वन्यजन्तुमा सुचीकृत गरिएको छ।

कृष्णसार मार्न, वा कुनै पनि अंग ओसारपसार गर्न, व्यापार गर्न र घरमा राख्न प्रतिबन्ध लगाइएको छ। यस्तो कार्यमा संलग्न हुने व्यक्तिलाई ४० देखि ७५ हजार रुपैयाँ जरिवाना वा २ देखि १० वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.