|

गुल्मी : सदरमुकाम तम्घासमा झारफुक गराउने क्रममा गत पुस २९ गते तातो फलामले डामिँदा इश्मा गाउँपालिका-३, दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भयो।

मुखियाको मृत्यु प्रकरणमा संलग्न रामप्रसाद श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा छन् भने मुख्य योजनाकार रुपन्देहीमा बस्दै आएको स्थानीयहरूले बताएका छन्।

वर्षौंदेखि तम्घासमा यसरी झारफुक गरि निको बनाउने अन्धविश्वास कायमै राखेर धन्दा चलाउँदै आउँदा पनि प्रहरी र प्रशासनले देखेको/नदेख्यै गरी आँखा चिम्लेर बस्ने गरेको नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले बताए। यस्तो व्यवसायमा दर्जनौं व्यक्तिहरू संलग्न रहेको ठोकुवा गरे। 

स २६ गते प्रहरी र प्रशासन कार्यालयको नजिकै महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत माधव पछाई साथीहरूकै कुटाइबाट गम्भीर घाइते भए। उनको अहिले पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने केही फरार छन्। 

इश्मा गाउँपालिकाको छिनुवामा गत भदौ २० गते राती २३ वर्षका मोतिबहादुर कुँवरको हत्या भयो। उनको टाउको र शरीरका विभिन्न भागमा डरलाग्दा चोट लागेको थियो।​​

रुरुक्षेत्र गाउँपालिकाकी एक किशोरीलाई ललाइ-फकाई भारततर्फ लैजान खोज्ने गुल्मीदरबार गाउँपालिकाका ३८ वर्षीय नारायण पाध्य चुदालीविरुद्ध मंसिर १० गते जिल्ला अदालतले पक्राउ पूर्जी जारी गर्‍यो। तर उनलाई हालसम्म पनि प्रहरीले प्रक्राउ गर्न सकेको छैन्। उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाइएको छ।

पुस २२ गते चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा सौभाग्य शाहले संचालन गरेको बाख्रा फार्ममा अज्ञात समुहले आगो लगाइदिए। आगजनीका कारण करिब ७० लाख रुपैयाँ बराबरको क्षति भयो। तर, सो फर्ममा आगो लगाइदिने व्यक्ति अहिलेसम्म पहिचान भएको छैन। 

मालिका गाउँपालिका-७ घमिरमा मुमानन्द लम्सालले लगाएको केरा खेती पनि फँडानी भयो। मालिका गाउँपालिका-७ घमिरको वडा कार्यालय पटक-पटक तोडफोड गरी ल्यापटप र नगद चोरी भयो, तर अहिलेसम्म पनि घटनामा संलग्न पहिचान भएको छैन।

जंगलमा घाँस काट्न जाँदा भरुवा बन्दुकको छर्रा लागेर रेसुंगा नगरपालिका-१४, पराल्मीका ४७ वर्षीय तुलबहादुर विकको मृत्यु भयो। रेसुंगा वन क्षेत्रमा वन्यजन्तु चोरी सिकार गर्ने व्यक्तिले हतियार चलाएको हुनसक्ने रेसुंगा वन संरक्षण तथा संरचना निर्माण समितिका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बताए।

जिल्लामा यी लगायत दर्जनौं आपराधिक घटना घटिरहँदा प्रशासनले आरोपितलाई नियन्त्रणमा लिने र अनुसन्धान गर्ने काम नगरेको पीडितहरूको गुनासो छ। 
तर, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठ भने आफूहरूले शंकास्पद व्यक्तिहरूको खोजी गरिरहेको बताउँछन्‌। 

अनुसन्धानमा सघाउन आग्रह

अनुसन्धान भने जस्तो सजिलो नहुने बताउँदै उपरीक्षक श्रेष्ठले सत्य/तथ्य पत्ता लगाउन अनुसन्धानमा सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गरे।

उनले कुनै अनुसन्धान तत्काल हुने भन्दै कुनै घटनाको अनुसन्धानका लागि समय लाग्ने समेत बताए।

संवेदनशील स्थानमा सीसी क्यामेरा राखिने

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिनानुदिन अपराधका घटनाहरू बढ्नु दुःखद भएको बताइन। उनले अनुसन्धान गर्न सूचनाहरू आवश्यक पर्ने भएकाले सूचना दिई सहयोग गर्न आग्रह गरिन्। 

जिल्लामा हुने गरेका अपराधहरू नियन्त्रण गर्नका लागि संवेदनशील स्थानहरूमा सीसीटिभि क्यामरा जडान गर्न लागेको पनि उनले जानकारी दिइन्‌। 

जिल्लामा घटेका घटनाहरू अनुसन्धान गर्नका लागि आकस्मिक र रणनीतिक तरिकाहरूबाट जिल्ला सुरक्षा समिति लागेको उनले बताइन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.