|

काठमाडाैं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन्। 

नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन्।

निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताए। निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाइ छ। 

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ।

निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित गर्‍यो भन्ने बुझाई गलत भएको पनि उनले बताए। पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव परेको भन्ने अर्थमा बुझ्न नहुने उनले बताए। 

जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आह्वान गरिएको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे। अस्थिरता निम्त्याउने, अन्तर्कलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.