|

दाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्ड–माधव समूहले पार्टीबाट निकालेको भन्दै त्यो हास्यास्पद भएको बताएका छन्।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह दाङको राप्ती गाउँपालिकाको लालमटियामा आयोतिज बृहत् जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘तपाईंहरु अचम्म पर्नुहुन्छ होला, २/४ जना मान्छे पार्टीको बैठकमा नआएर बैठक छोडेर बाहिर गएर विभिन्न ब्याङ्केटहरु, रेष्टुरा, चौतारीमा बसेर केपी वलीलाई पार्टीबाट निकाले अरे, साधारणसदस्यबाट पनि निकाले रे। हास्न मन लागेन तपाईंहरुलाई कुरा सुन्दा?’

त्यस्तै उनले आज देश विशेष परिस्थितिमा रहेको भन्दै देशले परिर्वतन, अग्रगमन, विकास चाहेको समेत बताए। ‘देशले शान्ति र जनताले आफ्नो जीवनमा परिर्वतन चाहेका छन्,’ उनले भने, ‘अभिभावक नभएका जनताहरु अभिभावक र साहरा खोजेका छन्। जनताप्रति उत्तरदायी हुने सरकार चाहिएको छ। तर, त्यो कुरा देख्न, सुन्न नसक्ने जन्तुहरू असफल पार्नका लागि विभिन्न प्रकारका बहानामा देशलाई अफलतातर्फ लग्न खोजेका छन्।’

त्यसैगरी उनले आफू बिरामी परेपछि अर्को समूह खुसीले गदगद् हुने गरेको समेत बताए। ‘म बिमारी परें भनेर सुनेपछि गदगद् हुन्छन्,' उनले भने, ‘निको भएर फर्कियो भनेपछि तैंतेरी भन्छन्, खच्याक्क हुन्छन्। केपी ओली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्ने गर्दछन्। उनीहरु त भरसक केपी वली यो पृथ्वीमै नरहे हुन्थ्यो भन्छन्। तर, उनीहरुले भनेर हुने वाला त होइन्।’

साथै उनले पार्टी नटुक्रिएको समेत समेत बताए। अर्को समूहले पार्टी छोडेर गएको भए पनि जनता एक ढिक्का भएर बसेका उनको भनाइ थियो। केही मानिसहरु निस्किएको मात्रै भएकाले यसमा भ्रममा नपर्न आम कार्यकर्तालाई उनले आग्रह गरे।

‘ २/४ जना भष्मासुरले पार्टी छोड्दैमा आन्दोलन कमजोर हुँदैन,’ उनले भने, ‘चुनावमा नजाने शक्ति लोकतान्त्रिक हुँदैन। उनीहरु पार्टीको बैठकमा नआएर निर्वाचन आयोगमा पुगेछन्, सूर्य र पार्टी हामी नै हौं, भन्छन्।’

त्यसैगरी उनले आफू जस्केलाबाट नगई जनताबाट निर्वाचित भएर गएको भन्दै आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको बताए। साथै, प्रधानमन्त्री ओलीले आज नै नेपाल कै दोस्रो लामो राप्ती नदीको पुल उद्घाटन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.