|

काठमाडौं : मुलुकभरका कोभिड अस्पतालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइँदै छ। सातै प्रदेशका ६२ वटा अस्पतालमा खोप लगाइने सूचीमा परेका स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउने भएका हुन्।

काठमाडौं उपत्यकाका मुख्य-मुख्य कोभिड अस्पतालमा खोप लगाइने भएको छ। टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल र सशस्त्र प्रहरी बलम्बु अस्पतालमा खोप लगाइने भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियान सुरु गर्ने भएका छन्। ओलीले भर्चुअल माध्यमबाट सुरु गरेपछि पहिलो चरणमा सातै प्रदेशका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट एकैसाथ खोप खोप अभियान सञ्चालन हुनेछ।

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गरिएको टेकु अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी र अस्पतालमा संक्रमितको उपचारमा खटिने डा. अनुप बाँस्तोलाले पहिलो खोप लगाउने भएका छन्। खोप अभियान सुरु हुनु पूर्वसन्ध्यामा दुवै चिकित्सकसँग थाहाखबरले उनीहरुकाे मनोभावना बुझ्ने प्रयास गरेकाे छ।

खोप लगाउन हिच्किचाउनु पर्दैन : डा. राजभण्डारी

खोप लगाउन पाउँदा टेकु अस्पतालका निर्देशक राजभण्डारी निकै उत्साहित छन्। महामारीका बेला वर्ष दिनभित्रै खोप लगाउन पाएर महामारीलाई विजय गर्न सकिने आत्मविश्वास बढिरहेको उनको भनाइ छ।

'नेपालीले राम्रो अवसर पाएका छन,' उनले भने, 'सबैले खोप लगाउनुपर्छ। सुखद समाचार आएको छ र यसले सबै नेपालीलाई सुरक्षित राख्न सक्ने आशा जगाएको छ।'

राजभण्डारी अगाडि थप्छन्,' खोप सुरक्षित छ भनेर सर्वसाधारणलाई सकरात्मक सन्देश पुर्‍याउन भए पनि लगाउनुपर्ने छ। खोप सबैले लगाएका छन्। अवसर पाउँदा खोप लगाउनुपर्छ। हामी फ्रन्टलाइनर हौँ, हामीले लगाएर अरुलाई लगाउन प्रोत्साहन गर्नुपर्छ।'

खोप लगाउने या नलगाउने विषयमा धेरै स्वास्थ्यकर्मीमा शंका उब्जेकोले यसकाे निराकरण गर्न भए पनि खोप लगाउन लागेका उनले बताए। खोप आइसकेकाले फ्रन्टलाइनमा रहेर काम गरिरहेका सबैले खोप लगाउन हिच्किचाउन  नहुने उनकाे सुझाव छ। 

पहिलो दिन टेकु अस्पतालमा २ सय ६० जना स्वास्थ्यकर्मीलाई खोप लगाइन्छ। १० दिनसम्म खोप लगाउने सूचीमा परेका २ हजार ९ सय जनालाई तत्कालै लगाइने उनले जानकारी दिए।

विश्वमा अनुसन्धानको प्रक्रियामा रहँदा निर्माण भएका केही खोपले असर गरेको उदाहरण पनि रहेको उनी बताउँछन्। उनी भन्छन्,' सयमा दुई जनालाई असर गर्न सक्छ। तर, त्यसलाई पूर्ण रुपमा असर गरेको भन्न मिल्दैन। खोप लगाउँदा केही साइड इफेक्ट देखिएमा असर गरेको भन्न मिल्दैन।'

बच्चालाई खोप लगाउँदा ज्वरो आएमा त्यसको प्रभाव परेको र एलर्जी भएमा खोपले काम गरेको भनेर सम्झनुपर्ने उनको भनाइ छ। धेरै मुलुकले कोभिडविरुद्ध खोप लगाउन थालिसकेका छन्। अहिले लगाउन लागिएको खोप तुलनात्मक रुपमा सुरक्षित रहेको उनको दाबी छ। गम्भीर घटनाहरु सार्वजनिक नभएकोले एकदमै सुरक्षित छ भनेर विश्वास गर्न सकिने ठाउँ रहेको उनको भनाइ छ।

स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेकाले थप उत्साहित छाैं : डा. बाँस्तोला

महामारीमा पनि यति छिटो खोप लगाउन पाएकोमा थप उत्साही भइरहेको टेकु अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोला बताउँछन्। भारत सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा त्रसित होइन खुसी रहेको उनले बताए।

खोप स्वेच्छाले लगाउन लागिएको र ९० प्रतिशतसम्म प्रभावकारी रहेकाले लगाउन डराउन नहुने उनको प्रतिक्रिया छ। नयाँ कुराको प्रयोग गर्दा केही असर भने हुन सक्ने उनी बताउँछन्। 'बान्ता हुने, चिलाउने र फोका आउने हुन सक्छ', भन्छन्, 'त्यसलाई व्यवस्थापन गर्न सकिन्छ। सुरुमा असाधारण लक्षण देखिए पनि आत्तिन हुँदैन।'

सुरक्षित तरिकाले खोप लगाइसकेपछि रोग प्रतिरोधात्मक क्षमता बन्न केही समय लाग्छ। संक्रमित भइसकेका मानिसले एक महिनासम्म खोप लगाउन नहुने उनी सुनाउँछन्।

औषधि खाइरहेका मानिसले खोपको प्रयोग नगर्न उनकाे सुझाव छ। महामारीको अन्त्य गर्न खोज्दा सूचनाको महामारी पनि आउन सक्ने भन्दै उनले यस्ता कुराबाट सजग हुनुपर्ने सुझाव दिन्छन्। खोपबारे सत्य तथ्य जानकारी नआउँदा पनि यस्तो भएको हुनसक्ने उनले बताए।

कोरोनाबाट सुरक्षित रहन खोप मुख्य आधार नरहेको भन्दै उनी थप्छन्, 'यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्छ। खोपले भाइरसबाट बच्न कत्तिको सुरक्षित राख्छ ? त्यसको पनि अध्ययन अनुसन्धान भइरहेकाे छ।'

सरकारले खोप लगाउन स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेकाले आफूहरूमा थप उत्साह थपेको डा.बाँस्तोला बताउँछन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.