|

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दाबी गर्ने अधिकार नभएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका नेता माधवकुमार नेपालले बताएका छन्।

ताप्लेजुङमा मंगलबार आयोजित विरोध सभामा नेता नेपालले केन्द्रीय कमिटीका बहुमत सदस्यहरू आफ्नो पक्षमा रहेको र पार्टीको आधिकारितासमेत आफूहरूसँग रहेको दाबी गरे।

उनले निर्वाचन आयोगको निर्णयपछि केपी समूहका मान्छे कोठामा बसेर रोएको आरोप लगाएका छन्। ‘ओलीका केही मान्छेले आयोगको निर्णय हाम्रो पक्षमा आयो भनेछन्,’नेपालले थपे, ‘जनतालाई झुक्याउन निर्णय हाम्रो पक्षमा आयो भन्छन् अनि कोठामा बसेर निर्वाचन आयोगले हामीलाई डुबायो भनेर क्वाँ क्वाँ रोएछन्।’

निर्वाचन आयोगले २०७५ साल जेठ २३ गतेको निर्णय मात्रै मान्ने फैसला गरेको नेपालको दाबी छ। ‘पार्टीको विधान, घोषणा पत्र, नियमावली हेर्दा त्यसलाई मात्रै मान्न सकिने निष्कर्षमा निर्वाचन आयोग पुग्यो र त्यो फैसला गर्‍यो,’ उनले भने, ‘त्यो अनुसार हामीसँग ३ सय बढी केन्द्रीय सदस्य छन्, ओलीसँग एक सय जना मात्रै छन्।’

जेठ २३ को निर्णयअनुसार पार्टीमा ४ सय ४१ जना केन्द्रीय सदस्य रहेका उनले जनाए। तीमध्ये कतिपयको मृत्यु, कतिपय राजदूतलगायत अन्य नियुक्तिमा गएपछि १२ जनाको संख्या खाली छ।

उनका अनुसार अहिले ४ सय ३३ जना सदस्य छन्। तीमध्ये एक सय जना जतिमात्रै ओलीमा रहेका उनले दाबी गरे। सर्वोच्चको फैसलाले ओलीलाई हटाउने र त्यसपछि मात्रै उनी आफ्नो घर जाने नेपालले बताए। कार्यक्रमलाई नेताहरू जनार्दन शर्मा र योगेश भट्टराईले समेत सम्बोधन गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.