|

कपिलवस्तु : तेस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले हात पारेका छन्। ४२ दशमलव १९५ किलोमिटरको दूरी होमलालले २ घण्टा २२ दशमलव ३६ सेकेण्डमा पूरा गरेका हुन्।

सशस्त्र प्रहरीका गोपिचन्द्र पार्की २ घण्टा २४ दशमलव २४ सेकेण्डको टाइमिङसहित दोस्रो भए। २ घण्टा २४ दशमलव ४१ सेकेण्डमा दौड पूरा गरी नेपाल आर्मीका खगेन्द्र भाटले तेस्रो स्थान हासिल गरे 

विजेता होमलाल श्रेष्ठले १ लाख रुपैयाँ हात पारे भने गोपिचन्द्रले ७५ हजार र खगेन्द्रले ५० हजार रुपैया प्राप्त गरे।  सिद्धार्थ गौतम बुद्धत्व प्राप्त गरी कपिलवस्तु फर्केको दिन फाल्गुन शुक्ल पूर्णिमाको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबार पीस म्याराथन आयोजना गरिएको हो।

बुद्धत्व प्राप्ति पछि कपिलवस्तु आउँदा बुद्धले पिता शुद्धोधनलाई पहिलोपटक भेटेको कुदानबाट म्याराथन शुरु गरिएको थियो। कुदान, तिलौराकोट, दोहनी हुदै  मायादेवी बगैंचामा पुगेर म्याराथन सम्पन्न भएको थियो । 

यस्तै हाफ म्याराथनको उपाधि टंक पुनले जिते। नेपाल आर्मीका रामजी बस्नेत दोस्रो आर्मीकै टीकाराज कटवाल तेस्रो भए। हाफ म्याराथनका विजेताले ५० हजार उपविजेताले ३५ र तेस्रो हुनेले २५ हजार रुपैया प्राप्त गरेका छन् ।

प्रतियोगितामा ७ विदेशीसहित ५५ जनाको सहभागिता थियो । २–२ जना चिनियाँ र बेलायती धावकका साथै स्पेन, इटाली र जमैकाका १–१ जनाले प्रतियोगितामा भाग लिएका थिए। प्रतियोगिता'बुद्धिष्ट सर्किट्स डट कम' र 'एडभेन्चर स्पोर्टस् टुरिजम सोसाइटी'ले संयुक्त रुपमा गरेको हाे। प्रतियोगितामा ओलम्पिक स्टाण्डर्डको ४२ दशमलव १९५ किलोमिटरको दौड गरिएको यो पहिलो पटक हो । सन् २०१३ मा आयोजित पिस म्याराथनमा दोहनीदेखि लुम्बिनी बगैंचा सम्मको दूरी तय गरिएको थियो। बुद्धको पाइला पछ्याउँदै नारा दिइएको प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिइने प्रतियोगिताका परिकल्पनाकार विक्रम पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.