|

जयमान बुढामगर (रुकुम पूर्व) : जिल्लाका स्थानीयले सञ्चालन गरिराखेको अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको छ। कच्चा पदार्थ उत्पादन र प्रशोधन गरी बनाइएको अल्लोका सामग्रीले उचित बजार नपाएपछि व्यवसाय नै धरापमा परेको हो।

जिल्लाभित्रका विभिन्न व्यक्तिले अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे सीप, ज्ञान प्राप्त गरेर अल्लोका घरेलु उद्योग सञ्चालन गरेपनि उक्त सामग्रीले परिश्रम अनुसारको आम्दानी नहुँदा उद्यमी चिन्तित छन्।

जिल्लाको ३ वटै स्थानीय तहमै प्रशस्त मात्रामा अल्लोको कच्चा पदार्थ पाएपनि उत्पादित सामग्रीको मूल्य परिश्रमअनुसार नपाउँदा अल्लो उद्योग सञ्चालनमा समस्या भइरहेको पुथाउत्तरगंगा गाउँपालिका–१४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योगका सञ्चालक गौसरी पुनले बताइन्। जामा बगरमा विगत ६ वर्षदेखि व्यवसायिक ढंगले उद्योग सञ्चालन गरेपनि अल्लोबाट बनेका सामग्रीले भनेजस्तो बजार र परिश्रम अनुसार मूल्य नपाउँदा उद्योग सञ्चालनमा समस्या भइरहेको पुनको भनाइ छ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्छ। तर, गाउँमा बेच्दा बजार र श्रम अनुसारको आम्दानी नहुने तथा रुकुमकोट र रुकुम पश्चिमको सदरमुकाम खलंगासम्म पुर्‍याउँदा सास्ती ब्यहोर्नुपरेको उनले बताइन्।

अल्लोको कच्चा पदार्थलाई खोजि प्रशोधन गरी सामग्री तयार गर्दा मूल्य महंगो पर्ने, गाउँमा अल्लोको धागो खरिद गर्दा प्रतिकिलो १ हजारदेखि १ हजार ५ सय रुपैयाँ पर्ने र खरिद गरी अल्लोका सामग्री तयार गर्दा एक सामान्य बर्कीलाई दुई हजारदेखि एक कोटलाई कम्तिमा आठ हजारदेखि बढी मूल्य पर्ने उत्पादकहरू बताउँछन्‌। त्यसैले अल्लोका सामग्री सहज तरिकाले बिक्री हुन नसकेको उद्यमीले बताएका छन्। 

अल्लोबाट तयार पारिने घरेलु उद्योगबाट उत्पादित सामग्रीबाट पारिश्रमिक समेत नउठेपछि उत्पादनमा कमीको साथै सञ्चालनमा रहेका उद्योग समेत संकटमा परिरहेको उद्योग सञ्चालकहरूले बताउने गरेका छन्। भौगोलिक विकटताका बीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोट लगायत विभिन्न लत्ताकपडाका सामग्री निर्माण गरेपनि गाउँमा बजार नभएपछि व्यवसाय धरापमा पर्ने सम्भावना रहेको उनीहरू बताउँछन्‌। 

जामाबगरस्थित सिर्जनशील अल्लो उद्योगको स्तर विकास व्यवस्थापनको लागि अल्लोका कपडा तयार गरिने आधुनिक औजार खरिदका साथै आवश्यक तालिम सञ्चालनको लागि चालु आर्थिक वर्षमा गाउँपालिकाको ४ लाख र वडाको ५० हजार रुपैयाँ गरी ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजित गरेको पुथा–१४ का वडाध्यक्ष हर्कमान बुढाले जानकारी दिए।

अल्लो उद्योग सञ्चालनबाट स्थानीयलाई आत्मनिर्भर र व्यवसायिक बनाउन सरकारसँगै विभिन्न संघ-संस्थाले पनि तालिम र सामग्री निर्माणका लागि औजार दिने गरेका छन्‌। तर, सामग्रीले उचित बजार तथा मूल्य नपाउँदा अल्लो उद्योगीहरू निराश भएका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.