|

डडेल्धुरा : सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट पहिलो चरणको खोप अभियान शुभारम्भ गरेका हुन्। 

काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियान सुरु गरेपछि मुख्यमन्त्री भट्टले पनि अभियान शुभारम्भ भएको घोषणा गरेका हुन्। 

सुदूरपश्चिम कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाए।

पहिलो दिन सुदूरपश्चिम एक हजार ८२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। पहिलो दिन बुधबार प्रदेशका ८ वटा जिल्लामा खोप लगाइएको हो।

पहिलो दिन कैलालीमा २ सय ५७ जना, कञ्चनपुरमा १ सय २४, डडेल्धुरामा १ सय २२, बैतडीमा ७८, दार्चुलामा ५०, डोटीमा १ सय ५६, अछाममा २ सय ३६ जना र बझाङमा ५९ जनालाई लगाइएको स्वास्थ्य निर्देशक अवस्थीले जानकारी दिए।

सुदूरपश्चिमका ८ वटा जिल्लामा खोप लगाइए पनि बाजुरामा भने बिहीबार बिहानबाट खोप लगाउन सुरु गरिने बताइएको छ। संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना विरुद्धको ३६ हजार डोज खोप धनगढी पठाएको थियो।

डडेल्धुरामा नगरप्रमुख ओझाले लगाए पहिलो खोप लगाए 

डडेल्धुरामा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। बुधबार अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको हो।

कोरोनाविरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगरप्रमुख ओझाले प्रतिक्रिया दिए।

पहिलो दिन डडेल्धुरामा १ सय २२ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

पहिलो चरणमा जिल्लाका एक हजार एक सय ३५ जनालाई खोप लगाइने जानकारी दिएका छन्। उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ।

बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ।

प्रमुख श्रेष्ठका अनुसार कोरोना खोप बुधबार स्वास्थ्य कार्यालय, डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय, अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, कर्मचारी र अमरगढी नगरपालिकाबाट कोरोनाका क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइएको छ।

यस्तै भोलि अर्थात् १५ गते कोरोनाका क्षेत्रमा खटिएका गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने छ।

१६ गते अजयमेरु र भागेश्वर गाउँपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी, १७ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मी र १८ गते सबै छुट भएका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.