|

  • बिदुर कटुवाल-

उदयपुर : हिमाली क्षेत्रमा जाडो सुरुवात भएपछि मधेस झरेका भेडीगोठ हिमालतिरै फर्कन थालेका छन्। हिमाली क्षेत्र पर्ने सोलुखुम्बुबाट जाडो छल्न उदयपुरको भित्री मधेस झरेका भेडीगोठ अहिले धमाधम फर्किन थालेका हुन्।

जाडो मौसम सुरु भएसँगै कात्तिकको दोस्रो हप्ताबाट मंसिरसम्म उदयपुर आउने र फागुनको अन्तिमबाट चैतको पहिलोहप्ता भित्र फर्किसक्छन्। वर्षेनी पाँच दर्जनभन्दा बढी भेडा गोठहरु आउने गर्दछन्। ‘हिमाली क्षेत्रमा पर्ने सोलुखुम्बु र ओखलढुंगाबाट जाडो छल्न मधेस झर्छौं’, सोलुखुम्बुको  खुम्बु निवासी ठोड्के गुरुङले भने, ‘जाडोमा भेडा चराउन मधेसका वनमा आउने गर्दछौं भने गर्मी सुरु भएसँगै उत्तै फर्कने हाम्रो पुर्ख्यौली परम्परा हो।’

आफ्नो पुर्ख्यौली पेशा भेडापालन नै भएको बताउने ४२ वर्षे गुरुङले जाडोमा हिमाली क्षेत्रमा घाँस नपाइने र भित्री मधेसका जंगलमा आउनुपर्ने बाध्यता भएको बताए। फेरि जाडो मौसममा भेडीले पाठापाठी जन्माउने भएकाले हिमाली क्षेत्रमा जाडोबाटो बचाउन र पाठापाठीको बिक्रीको लागि पनि तराई नझरी नहुने अर्को समस्या भएको गुरुङ बताउँछन्। ‘तराई झर्‍यो भने पाठापाठीको पनि बिक्री हुन्छ’ ७ सय भेडाका मालिक गुरुङले भने, ‘जाडोले जन्मेका पाठापाठी पनि मर्दैनन्, बिक्रीको लागि आउनुनैपर्छ।’

भेडाको पाठापाठी ४ हजारदेखि ८ हजारसम्मको बिक्री हुन्छ। वर्षेनी मधेस झरेर २ सयदेखि ४ सम्म पाठापाठी बिक्री गर्ने गरेको गुरुङले बताए। हिउँदमा जन्मेका भेडाका साना पाठापाठी उदयपुर, सिरहा, सिन्धुली, सप्तरीका स्थानीयले भेडाभेडा पाठापाठी मासुको लागि पाल्न खरिद गर्ने गर्छन्।

मधेसका सामुदायिक वनका पदाधिकारीले मनपरी पैसा लिएर दुख दिने गरेको भेडीगोठालाहरु बताउँछन्। भेडीगोठका मालिक दुर्गाबहादुर राईले भने, ‘एउटा सामुदायिक वनले चारदेखि पाँच हजार रुपैयाँ रोयल्टी लिएर मात्र भेडाको लागि बासस्थान दिने गरेको छ।’  ६५ वर्षका राईले सिरहा, सप्तरी, र सिन्धुलीका वनहरु सामुदायिक वनमा परिणत भएपछि विभिन्न समस्या आउने गरेको बताए। ‘सामुदायिक वनहरुमा भेडाले खाने घाँसहरु लोप हुँदै गएको छ,’ राईले भने, ‘तराईमा पाइने घाँस अहिले हिमाली भेगमै पाइने गरेको छ।’

ओखलढुङ्गा, सोलुखुम्बु लगायतबाट उदयपुरको तावाश्री, सिरिसे, पञ्चावती, कटारी, ओख्ले लगायतका दुई दर्जन गाविसमा भेडी गोठ आउने गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.