|

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्धको दोश्रो खेलमा नेपालले १ सय ५६ रनको लक्ष्य पाएको छ। सोमबार काठमाडौंको कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६.१ ओभरमा अल आउट हुँदै १ सय ५५ रन जोडेको हो।

केन्यालाई मध्यम स्कोरमा रोक्न नेपालका शरद भेषावकरले ४, बसन्त रेग्मी र महबुब आलमले २/२, सन्दीप लामिछाने र सागर पुनले १/१ विकेट लिएका हुन्। नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। ७ ओभर बलिङ गरेका भेषावकरले २८ रन खर्चिएर ४ विकेट लिएका हुन्। त्यस्तै ७ ओभर नै बलिङ गरेका महबुबले ५ मेडन राख्दै २ विकेट लिएर जम्मा ११ रन खर्चिए। 

८ ओभर बलिङ गरेका बसन्तले १ मेडन राख्दै २४ रन खर्चिएर २ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले ३५ रन खर्चिएर एक विकेट लिएका हुन्। त्यस्तै ७ ओभर बलिङ गरेका सागरले १९ रन खर्चिएर १ विकेट लिए। नेपालका बलरहरु सोमपाल कामी र शक्ति गौचनले भने विकेट लिन सकेनन्। २ ओभर बलिङ गरेका शक्तिले १३ रन खर्चिए भने ५ ओभर बलिङ गरेका सोमपालले एक मेडन राख्दै २४ रन खर्चिएका थिए। 

ब्याटिङ तर्फ केन्याका कोलिन्स ओबुयाले ४८, इर्फान करिमले ३८, कप्तान राकेप पटेलले २१ रन जोडे। केन्यासँग यसअघि शनिबार भएको खेलमा हार ब्यहोरेको नेपाल सोमबारको खेलमा भने जित्नैपर्ने दबाबमा छ। सोमबार पनि नियमित कप्तान पारस खड्काको सट्टा नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.