कुन खोप र भारतले कसरी दिने भन्नेबारे भने अनिश्चित
कुन खोप र भारतले कसरी दिने भन्नेबारे भने अनिश्चित
काठमाडौं : पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा २८ हजार ७ सय ३२ जनाले कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइसकेका छन्।
गत माघ ९ गते भारतको सिरम कम्पनीको कोभिसिल्ड खोप नेपाललमा अनुदानस्वरुप ल्याइएको थियो। त्यही खोप सरकारले कोरोनाविरुद्धको मोर्चाको अग्रपंक्तिमा रहनेलाई लगाइरहेको छ।
यता पहिलो चरणको खोप अभियान चलिरहेको बेला सरकारले दोस्रो चरणको खोप ल्याउने तयारी गरिरहेको जनाएको छ। सरकारले दोस्रो चरणमा कोरोनाविरुद्ध खोप ल्याउने प्रक्रिया लगभग अन्तिम चरणमा पुर्याइसकेको पनि बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतबाट दोस्रो चरणको खोप ल्याउन यसअघि नै पत्र पठाइसकिएको र छिट्टै दोस्रो चरणको खोप नेपाल आउने छ।
दोस्रो चरणको खोप २० प्रतिशत नागरिकलाई पुग्ने गरी ल्याइँदै
दोस्रो चरणको खोप ल्याउन सबै तयारी पूरा भएको र केही बाँकी काम मात्र रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने, ‘कुन कम्पनीको खोप ल्याउने भन्ने अझै निश्चित भएको छैन तर दोस्रो चरणमा २० प्रतिशत जनतालाई पुग्ने गरी खोप ल्याउने तयारीमा छौँ।‘
मन्त्रालयले २० प्रतिशत अर्थात् ६० लाख जनतालाई पुग्ने गरी दोस्रो चरणमा खोप ल्याइने समेत प्रवक्ता प्राडा गौतमले बताए। मन्त्रालय स्रोतका अनुसार फेरि पनि कोभिसिल्ड खोप नै ल्याइने सम्भावना छ। जसका लागि नेपालले भारत सरकारसँग अनुरोध गरिसकेको छ। तर भारतले अब खोप अनुदानमा पठाउने/नपठाउने निश्चित भने भइसके छैन।
मन्त्रालय स्रोतले भन्यो, ‘आपतकालीन प्रयोगको अनुमति पाइसकेको र अहिले लगाउन सुरु गरिसकिएकोले खरिद गरेर वा पुन अनुदानमै यही खोप ल्याउने खोजिएको छ, त्यसको लागि आवश्यक पहल भइरहेको छ।‘
सरकारले पहिलो चरणमा कोरोनाविरुद्ध अग्रमोर्चामा रहनेलाई खोप लगाइरहेको छ। भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप अभियान सुरु भइरहेको बेलामा कोभ्याक्स फ्यासिलिटीले दिने खोप भने चैत वैशाखसम्म आइपुग्ने बताइएको छ।
स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै आगामी अप्रिलभित्र खोप पठाउने जानकारी दिइसकेको छ। कोभ्याक्स खोप सबै देशले बराबर रुपमा पाउनुपर्छ भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायतका संस्था मिलेर बनेको एलाइन्स हो।
२० प्रतिशत नेपालीलाई पुग्नेगरी निशुल्क उपलब्ध गराउने पनि कोभ्यासले प्रतिबद्धता जनाइसकेको छ। यद्यपि आगामी अप्रिलसम्म खोप पठाउने जानकारी कोभ्याक्सले मन्त्रालयमा पत्रसहित दिए पनि कुन कम्पनीले उत्पादन गरेको खोप पठाउने भन्नेबारे पत्रमा नखुलाइएको मन्त्रालय बताउँछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।