|

काठमाडौं : केन्याविरुद्ध ७ विकेटको जित निकालेपछि प्रशिक्षक जगत टमाटाले नेपालको शीर्ष चारभित्र पर्ने सम्भावना कायमै रहेको बताएका छन्। उनले अझै ४ म्याच खेल्न बाँकी रहेको भन्दै जित्नका लागि खेल्ने बताए।

'हामीसँग चान्स छ, अझै ४ वटा म्याच बाँकी छ। हामी चारवटै म्याच जित्छौँ भनेका छौँ। बेटरभन्दा बेटर क्रिकेट खेल्दै जानेछौँ।'

उनले आज निकै राम्रो ब्याटिङ गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीको खुलेर प्रशंसा गरे। 'केटाहरुले सुपर्व (अति नै राम्रो) खेलेको छ। विशेषगरी ज्ञानेन्द्रले, उसले आज म्याच फिनिस गरेर आफूलाई नेपालको वान अफ द वेस्ट ब्याट्सम्यान हो भन्ने प्रमाणित गरेको छ। त्यसैगरी अण्डर १९ को दीपेन्द्र, उसलाई हामीले जुन हिसाबले विश्वास गरेका थियौँ, आफूलाई प्रुभ गरेर देखाएको छ,' प्रशिक्षक टमाटाले भने, 'ओभरअल सबै डिपार्टमेन्टको सपोर्टले गर्दा हामीले म्याच जितेका छौँ।'

सामान्य लक्ष्य पाएपछि नर्मल क्रिकेट खेल्ने प्लान रहेको सुनाउँदै उनले लुज बल पाउँदा ब्याट्सम्यानहरुले हिट गरेको बताए। सोही कारण सहज जित प्राप्त भएको उनको भनाइ थियो।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि जितको जस सबै डिपार्टमेन्टलाई जाने बताए। 'हामीले १५०/१७० रनमा केन्यालाई रोक्ने लक्ष्य लिएका थियौँ, बलरहरुले निकै राम्रो गरे,' मल्लले भने, 'दीपेन्द्रले पनि निकै राम्रो खेल्यो। मैले पनि २०/३०, २०/३० यस्तै भइरहेको थियो, म्याच फिनिस गर्न सकेँ खुसी लागेको छ।'

यस्तै केन्याका प्रशिक्षक स्टिभ टिकोलोले नेपालसँगको हारका बाबजुद शीर्ष ४ मा पर्ने आशा नमरेको बताए। आफूहरु नेपालभन्दा अझै २ अंकले अघि रहेको भन्दै उनले थप अंक हाँसिल गर्ने लक्ष्यसहित स्कटल्याण्ड र हल्याण्ड जाने बताए। केन्याले बाँकी खेल स्कटल्याण्ड र हल्याण्डसँग खेल्नेछ।

साथै उनले नेपाली समर्थकको पनि खुलेर प्रशंसा गरे। आफूहरुकोमा मुस्किलले ५०० दर्शक पनि नपुग्ने भन्दै उनले १० हजार दर्शक सामान्य कुरा नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.