उमाकान्त भन्छन्‌ : पुनर्जीवन पाएँ, अब खेतीपाती गरेर बस्छु

|

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा शुक्रबार सहयोगापेक्षी सडक मानवहरूको राष्ट्रिय उद्धार कार्यक्रम (मेची–महाकाली यात्रा) समापन समारोहमा केही अतिथिहरू आइरहेका थिए भने, कोही आएर कार्यक्रम हलमा बसिसकेका थिए। केही कलाकारहरू सांस्कृतिक पोशाकमा सजिएका देखिन्थे।

मानव सेवा आश्रमले एक महिना अवधिमा सडकमा अलपत्र परेका व्यक्तिहरूको कसरी उद्धार भयो भन्ने प्रत्यक्ष भिडियो ठूलो पर्दाको स्क्रिनमा देखाइरहेको थियो। एक कहालीलाग्दो, तर वास्तविक कथा थियो उमाकान्त चौधरीको।

उमाकान्त सप्तरी जिल्लाका हुन्‌। मनोरोगका कारण खुर्पाले आफ्नै बुहारीलाई हिर्काएपछि १३ वर्षसम्म उनलाई फलामको साङ्लोमा बाँधियो। परिवार र छिमेकीकै ज्यान जाने जोखिम भएकाले उनलाई बाँधिएको साङ्लोको चाबी खोल्ने हिम्मत कसैले गरेनन्। गाई गोठको मलमुत्रमा बस्न बाध्य भए, १३ वर्ष त्यसरी नै जीवन बिताए।

त्यो अवधिसम्म उनकै श्रीमतीले खानपिन गरेर स्याहारिन्‌। द‌ृश्यमा २ मिटर लामो फलामको साङ्लो मासुमै फसेको देखिन्थ्यो। 

१३ वर्षपछि उनको अवस्था मानव सेवा आश्रमले थाहा पायो। त्यसपछि सामाजिक अभियन्ता उनलाई साङ्लो मुक्त बनाउने उद्देश्यले गए।

छेउमा जाँदा उमाकान्तले अभियन्तालाई नै लखेटे र पिटे पनि। तर, अभियन्ता पछि हटेनन्। अन्तत: खिया लागिसकेको चाबी तोडेर उमाकान्तलाई साङ्लोमुक्त बनाए। उनलाई अभियन्ताले आश्रममा लगे। शरीरमा घाउ हेरिसक्नु थिएन। उपचार गरे।

अभियन्ताबाट पालनपोषणसँगै माया ममता पाएका उमाकान्तको जीवन साङ्लोमा बाँधिएको १४ वर्षपछि नियमित लयमा आउन थाल्यो। बोल्न सक्ने भए। अरूसँग घुलमिल भए। बोटबिरुवामा पानी हाले। आश्रम आफैँ सफा गरे। यी सब द‌ृश्य पर्दामा दर्शकहरूले नियालेर हेरिरहेका थिए।

छोरीले जब बुबालाई साङ्लोमुक्त अवस्थामा देखिन्‌

पुन:मिलन गराउन गाउँ लैजाँदा उनका छिमेकीहरू उमाकान्तको स्वागत गर्न बसिरहेका थिए। जब उमाकान्त आश्रमको गाडीबाट झरे-कोही छिमेकीहरूले उनीमाथि मोबाइलको क्यामेरा सोझ्याए त केहीले फूलमाला लगाइदिएर उनलाई स्वागत गरे।

गाउँलेहरू निकै खुसी देखिन्थे। कसैले आँशु थाम्न सकिरहेका थिएनन्। उनकी छोरी अस्मिता चौधरीले पनि १३ वर्षपछि बुबा साङ्लोमुक्त भएको देख्दा आँशु थाम्न सकिनन्‌। प्रज्ञामा यी द‌ृश्य हेरिरहेका अतिथि दर्शकहरूको आँखामा पनि आँशु देखिन्थ्यो। भावुक भएर केही बोल्न पनि सकेका थिएनन्। 

आश्रमले उमाकान्तलाई पुन:मिलन गराएपछि उनकी छोरीले भनिन्‌, ‘आज मलाई धेरै राम्रो लाग्यो, मेरो बुबा घरमा आउनुभयो, म अत्यन्तै नै खुशी छु, अब म उहाँको धेरै ख्याल राख्नेछु।’

उमाकान्तले अब घरमा खेतीपाती गरेर बस्ने सुनाए।

पुस ७ गतेदेखि माघ १५ गतेसम्म खुला आकाशमुनि रहेका ७ सयभन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको आश्रमले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.