|

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौं राउण्डको दोस्रो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गर्‍यो। ३० ओभर २ बलमा नै ७ विकेटको जित दर्ता गर्ने क्रममा नेपालले तारिफयोग्य प्रदर्शन गर्‍यो। यसबीचमा म्याचमा यस्ता ४ टर्निङ पोइन्ट आए, जसले नेपालको जितको आधार तयार पारे। हेर्नुहोस् ती ४ टर्निङ पोइन्ट । 

मेहबुबको ओभर

पहिलो ओभरमै छक्का प्रहार गरेको केन्याले ३ ओभरमा १४ रन जोडिसकेको थियो। सोमपाल कामीको अट्याक खासै प्रभावकारी देखिन नसकेका बेला चौँथो ओभर लिएर मेहबुब आलम आए। यो उनको स्पेलको दोस्रो ओभर थियो। तेस्रो बलमा मेहबुबले एलेक्स ओबाण्डालाई विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गराए। सोही ओभरको अन्तिम बलमा धिरेन गोण्डरियालाई बोल्ड गरे। यो ओभर खेलको पहिलो यस्तो टर्निङ पोइन्ट बन्यो, जसले नेपालको जितका लागि फाउण्डेसन तयार पार्न सघायो। त्यसपछि कैयन ओभर केन्याका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। मेहबुबले पाँचवटा त मेडन ओभर नै फाले।

सन्दिपको 'ब्रेक थ्रू'

कोलिन्स ओबुया र इरफान करिमबीच तेस्रो विकेटका लागि ७९ रनको साझेदारी भइसकेको थियो। म्याचमा केन्या निकै राम्रो लयमा देखिएको थियो। यसबीचमा २८औं ओभर बलिङ गरेका सन्दिप लामिछानेले ४८ रन जोडिसकेका ओबुयालाई स्टम्पिङ गराए। यही विकेटले नेपाललाई फेरि म्याचमा फर्कायो। त्यसपछि थप ६१ रन जोड्दा केन्याले बाँकी ७ विकेट गुमायो। यो नै म्याचको दोस्रो टर्निङ पोइन्ट बन्यो, जुन नेपालको जितमा सहयोगी सावित भयो।

सरदको स्पेल

सरद भेषावकर पार्टटाइम बलर हुन्। उनलाई बलिङमा परिस्थिति हेरेर कहिलेकाहीँ मात्र प्रयोग गर्ने गरिन्छ। सोमबार ७ ओभर १ बल फालेका सरदले २८ रन खर्चिएर ४ विकेट लिए। जसमा ओबुयासँग ७९ रनको साझेदारी गरेका करिमको विकेट पनि सामेल थियो। सरदको यही स्पेलले केन्यालाई १ सय ५४ रनमा समेट्न मुख्य भूमिका खेल्यो।

दीपेन्द्र र ज्ञानेन्द्रको साझेदारी

१४ रनमा दुई विकेट गुमाएपछि नेपाली पारी धर्मराएका बेला दीपेन्द्रसिंह ऐरी क्रिजमा आए। अण्डर १९ बाट आएर यही प्रतियोगितामा राष्ट्रिय टोलीका लागि डेब्यू गरेका दीपेन्द्रले कप्तान ज्ञानेन्द्र मल्लसँग शतकीय साझेदारी गरे। ६६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६२ रन बनाएका दीपेन्द्र र ज्ञानेन्द्रबीचको १ सय ११ रनको साझेदारी नेपाली टोलीको जितमा सबैभन्दा महत्वपूर्ण तथा निर्णायक रह्यो। यतिबेलासम्म नेपाली टिमले म्याचमा निकै राम्रो पक्कड बनाइसकेको थियो। त्यसपछि ज्ञानेन्द्र र सरदले खुलेर ब्याटिङ गर्न पाए र नेपालले ३१औं ओभरमा नै जित दर्ता गर्‍यो। 

यो जितले नेपाललाई केही आशा जगाइदिएको छ। अब बाँकी चार खेल जित्नसके नेपाल प्रतियोगिताको शीर्ष ४ मा पर्ने सम्भावना बाँकी छ। नेपालले सन २०१७ भित्रै हङकङ र युएईसँग दुई-दुई खेल खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.