|

  • नमीन ढकाल

इलाम : अव्यवस्थित कटान र फडानीका कारण लोप हुँदै आएको लोक्ता र  अर्गेली खेतीबाट इलामका किसानले आम्दानी लिन थालेका छन्। इलाममा वि.स २०४० साल अघिबाट खेती गरिदैं आएको लोक्ता र अर्गेली कटान सम्बन्धी ज्ञान अभावका कारण मासिदैं गएको थियो।

जिल्ला वन कार्यालय, जडिबुटी सम्बन्धी काम गर्दै आएका गैरसरकारी संस्थाले यसको महत्व तथा  कटान सम्बन्धी सचेतना जगाएपछि किसान आफैले संरक्षण गरि व्यवसायीक रुपमा खेती गर्दै आएका छन्। समुद्र सतहको १ हजार पाँच सय देखि २ हजार ३ सय मिटर सम्म अर्गेली र समुद्र सतहदेखि १ हजार ८ सय देखि २ हजार ६ सय मिटरसम्म लोक्ताको खेती हुने गरेको जिल्ला वन कार्यालय इलामले जनाएको छ।

नेपाली कागज बनाउने र जापानी नोट बनाउन प्रयोग गरिने लोक्ताको स्थानीयस्तरमै कागज उद्योग स्थापना समेत हुँदै आएको छ। चेतना अभावका कारण अनियन्त्रित रुपमा फडानीका कारण लोप भएपनि अहिले किसानको जागरणका कारण लोक्ता र अर्गेलीको खेती हुँदै आएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए।

इलामबाट लोक्ताको निकासी पैठारी सुरु भएपछि जिल्ला वन कार्यालयले ग्रामीण क्षेत्रमा यसको खेती प्रवद्र्धनका लागि केही वर्ष अघिदेखि नै अध्ययन सुरु गरेको थियो। वन कार्यालयले गोर्खे गाविसस्थित सिंहदेवी थुम्के सामुदायिक वनमा पहिलो पटक अध्ययन गरेको थियो। सो सामुदायिक वन क्षेत्रमा ३९ हेक्टर क्षेत्रफलमा लोक्ताको एउटै प्लट रहेकाले अध्ययन केन्द्र समेत बनाइएको वन कार्यालयले जनाएको छ।

व्यवस्थापनका लागि समुदायमा हस्तान्तरण गरिएका वन, राष्ट्रिय वन बाहेक अहिले किसानस्तरमा यसको व्यवसायीक खेती बढ्दै गएको छ। जोगमाई, गोर्खे, चमैता, माबु, माइमझुवा, जमुना, साखेजुङ्ग लगायतका जिल्लाका एक दर्जन बढी गाउँका निजी, राष्ट्रिय र समुदायमा व्यवस्थापनका लागि हस्तान्तरण भएका वनमा लोक्ता अहिले प्रशस्त पाइने वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

छिटो बढ्ने र रोपीएको तीन वर्षदेखि उत्पादन निकाल्न सकिने लोक्ता किसानले खाद्यबाली मासेर २० रोपनीदेखि एक सय ५० रोपनीसम्म खेती गर्दै आएको जिल्ला वन अधिकृत श्रेष्ठले बताए। इलामबाट चालु आर्थिक वर्षको ६ महिनामा जिल्लाबाट १ हजार केजी लोक्ता र ४ हजार ६ सय केजि अर्गेली निकासी भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ।

लोक्ता र अर्गेलीको बोक्रा गुणस्तर हेरेर प्रतिकेजी ९० रुपैयाँदेखि १ सय ८० रुपैयाँ सम्म बिक्री हुने गरेको छ। कम गुणस्तरको लोक्ताको बोक्रा पनि न्युनतम ७५ रुपैयाँमा बिक्री हुने गरेको चमैताका किसान आस बहादुर राई बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.