यो वर्ष थप २० हजार ५ सय ८ जनालाई क्यान्सर

|
तस्वीर : इन्टरनेट ।

काठमाडौं : नेपालमा कोरोना भाइरस महामारी फैलँदा सयौं संक्रमितले ज्यान गुमाए।

महामारी नियन्त्रण गर्न लामो समयसम्म नेपालमा लकडाउन गरियो, त्यसको प्रत्यक्ष असर दीर्घरोगीहरूमा पनि पर्‍यो। उनीहरूले नियमित रूपमा पाउनुपर्ने सेवा ठप्पप्राय: भयो।

समयमै उपचार पाउँदा आराम पाउने गरेका क्यान्सर रोगीहरूलाई एक वर्ष यताको अवधि सकसपूर्ण भएको छ।

समयमै उपचार पाउँदा पूर्ण सञ्‍चो खालमा क्यान्सरका बिरामीहरू ढिलो अस्पताल पुगेकाले उनीहरूमध्ये धेरैकै स्वास्थ्यावस्था खराब भइसकेको चिकित्सकहरू बताउँछन्‌ ।​

हालसालै क्यान्सर, तर अन्तिम स्टेजमा

वीर अस्पतालको क्यान्सर रोग उपचार विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेश आचार्य भन्छन्‌, 'कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्न लामो समय लकडाउन लगाउँदा अस्पतालहरूले पूर्ण रूपमा सेवा दिन सकेनन्‌, लकडाउन खुलेपछि बिरामीहरू बल्लतल्ल अस्पताल आउन सके, तर उनीहरूमध्ये धेरैको क्यान्सर फैलिएर अन्तिम स्टेजमा पुगिसकेको छ।'

पछिल्लो एक-दुई महिनामा पहिचान भएका धेरै बिरामीहरूको शरीरभित्र क्यान्सर पूर्ण रूपमा फैलिएको र उनीहरू जटिल अवस्थामा पुगिसकेका उनले बताए।

पूराना बिरामीले यस एक वर्षको अवधिमा रुटिङ अनुसार केमो तथा त्यसपछि हुने साइडइफेक्टको समयमै उपचार नपाउँदा धेरै क्यान्सर पीडितको मृत्यु भएको डा. आचार्यले उल्लेख गरे।

उनले भने, ‘कोरोना महामारीमा क्यान्सरका पूराना बिरामीले पाउनुपर्ने सर्जरी सेवा र केमो थेरापी गराइरहेका बिरामीहरूले केमोको असरबाट आउने जटिलताको सेवा पाउन सकेनन्‌, जसले गर्दा कतिपय सञ्‍चो हुने खालका बिरामीहरूले पनि ज्यान गुमाए।‘  

एक वर्षभित्र थप २० हजार ५ सय ८ जनालाई क्यान्सर

नेपालमा क्यान्सर रोगका बिरामीहरू दिनानुदिन बढिरहेको छ।

समयमै पहिचान गर्नसके उपचारपछि स्वास्थ्यलाभ प्राप्त गर्न सकिने भएपनि ढिलोगरी अस्पताल पुग्ने भएकाले क्यान्सरका बिरामी संख्या बढिरहेको चिकित्सकहरू बताउँछन्‌।

​नेपालमा कति नागरिकलाई क्यान्सर भएको छ भन्ने एकीन तथ्याङ्क छैन। तर, अर्बुद रोग निवारण संस्थाका अनुसार नेपालमा यो वर्ष करिब २० हजार ५ सय ८ जनामा क्यान्सर क्यान्सर पहिचान भएको छ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले नेपालमा क्यान्सर रोगकै कारण दैनिक ३७ जनाको मृत्यु हुने गरेको बताए। नेपालमा एक वर्षमा मात्रै १३ हजार ६ सय २९ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको उनले जानकारी दिए।

विगत ५ वर्षको अवधिमा करिब ४३ हजार क्यान्सर पीडित पूर्ण रूपमा निको भएका छन्। हाल नेपालमा करिब ५० देखि ६० हजारको हाराहारीमा क्यान्सर पीडित रहेको अनुमान छ।

तथ्यांकअनुसार पछिल्लो वर्ष विश्वभर १ करोड ९२ लाख ९२ हजार ७२९ जना क्यान्सर पीडित रहेका थिए। जसमध्ये करिब ९९ लाख ५८ हजार १ सय ३३ जना बिरामीले ज्यान गुमाइसकेका छन्।​

यस्ता मानिसमा क्यान्सर हुने जोखिम

चिकित्सकका अनुसार सुर्तीजन्य पदार्थको सेवन नै क्यान्सर लाग्ने मुख्य कारण मानिन्छ।

सुर्ती सेवनबाट मुख, नाक, गला, घाँटी र फोक्सोमा क्यान्सरको जोखिम बढी हुन्छ। शरीरको कुनै भागमा भएको घाउ लामो समयसम्म निको भएन भने त्यसले पनि पछि क्यान्सरको रूप लिन सक्छ।

 

अनियमित जीवनशैली, रक्सीको अत्यधिक सेवन र वंशानुगत कारणले पनि क्यान्सर रोग लाग्छ। पछिल्लो समयमा क्यान्सर बढ्नुको मुख्य कारण वातावरण प्रदूषण समेत हो।

यसबाहेक फलफूल, तरकारी लगायतका खाद्यान्नमा अत्यधिक मात्रामा विषादीको प्रयोग, धुलो-धुँवा, असन्तुलित आहार, जनचेतनामा कमीलगायत कारण नेपालमा क्यान्सर जोखिम बढ्दो छ। नेपालमा फोक्सो, महिलामा पाठेघर तथा स्तन क्यान्सर धेरै देखिने गरेको चिकित्सकहरू बताउँछन्।

जीवनशैली सुधार्न अति जरूरी

क्यान्सर निम्त्याउने ८० प्रतिशत कारक सुर्तीजन्य पदार्थ नै हो। त्यसैले यसको सेवनबाट टाढै रहनुपर्छ।

सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ। सुर्ती र गुट्खा खाँदा मुख र पाचन ग्रन्थीमा क्यान्सर फैलनसक्छ।

मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ। मोटोपन बढ्दा महिलाहरूमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ। क्यान्सरबाट बच्नका लागि सन्तुलित खानेकुरा खानुपर्छ। फलफूल, हरिया सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ।

सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानुनहुने पोषणविद्‌हरू बताउने गर्छन्‌। रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहनु राम्रो हुन्छ। यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ।

विकिरणबाट समेत टाढा बस्नुपर्छ। कडा खालको घाममा समेत बस्नु हुँदैन। घाममा हुने विकिरणबाट छालाको क्यान्सर हुने सम्भावना धेरै हुन्छ।

क्यान्सरका लक्षण

शरीरमा कुन अंगको क्यान्सर छ-त्यही अनुसार लक्षणहरू देखिन्छन्। टाउकोमा क्यान्सर छ भने टाउको दुख्ने, वान्ता हुने हुन्छ। पेटमा क्यान्सर छ भने खान मन नलाग्ने, वाकवाक लाग्ने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ।

त्यसैले यो क्यान्सरको लक्षण यही नै हो भन्न नसकिने डा. आचार्य बताउँछन्। सबैथरी क्यान्सरका केही साझा लक्षण भने हुन्छन्। 

शरीरमा देखिएका घाउखटिरा साधारण उपचारबाट निको नहुनु, नदुख्ने गिर्खाहरू देखिनु, त्यो बढ्दै जानु, शरीरका विभिन्‍न भागबाट रक्तश्राव, पी आउनु, खाना निल्न अप्ठेरो हुनु, कब्जियत हुनु र पिसाब फेर्न कठिनाई हुनु क्यान्सरका साझा लक्षण हुन्।

तौल घट्दै जानु, कोठीको आकार परिवर्तन हुनु, महिलाहरूमा स्तन वरपर गिर्खा देखापर्नु पनि क्यान्सरका लक्षणहरू हुन्।

खोक्दा कफमा रगत देखिनु, रगत बान्ता हुनु, दिसामा कालो रगत देखिनु, पिसाबमा रगत देखिनु, पुरुषको लिंगमा घाउ देखिनु र घाउ बढ्दै गएमा त्यस्ता खराबीहरूले विभिन्‍न किसिमका क्यान्सर हुने सम्भावना अत्यधिक हुने गर्छ।

उमेर पुगेका व्यक्तिहरूलाई खान मन नलागेमा, अपच भएमा, आखा पहेँलो भएमा पनि क्यान्सरको शंका गरेर उपचार गराउन गइहाल्नु डा. आचार्य सुझाउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.