|

बेइजिङ : विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनको अनुमान छ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिएको छ। सन् २०५० सम्ममा भने यसमा केही कमी आउने अनुमान छ।

यद्यपि यस शताब्दीको अन्त्यसम्ममा भने चीनको जनसङ्ख्या एक अर्ब १० करोडमा झर्ने अनुमान छ। आयोगले चीनको जनसङ्ख्या सम्बन्धी यस रिपोर्टलाई शनिबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको थियो।

चीनको जनसङ्ख्याका विषयमा व्यक्त गरिएका चासोलाई खण्डन गर्दे आयोगका उपप्रमुख वाङ पेइयानले भने,'चीनमा जनसङ्ख्याको आगामी केही दशक वा एक सय वर्षभित्रसम्म कमी हुने छैन।'

चीनमा बुढापाकाको जनसङ्ख्या धेरै भएको र नयाँ पुस्ताले कम वा बच्चा जन्माउने वा बच्चा नै नजन्माउने भन्ने खबरहरू बाहिर आइरहेका बेला चीनद्वारा यो तथ्याङ्कलाई सार्वजनिक गरेको हो।  वाङलाई उद्धृत गर्दै राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्स दैनिकले चीनमा काम गर्ने उमेर समूह अर्थात् १५ वर्षदेखि ६४ वर्षका नागरिकको जनसङ्ख्या एक अर्बभन्दा माथि रहेको र यो चीनको वर्तमान जनसङ्ख्याको ७३ प्रतिशत रहेको जनाएको छ।

आयोगको अनुमान अनुसार सन् २०२० सम्म काम गर्ने उमेर समूहको जनसङ्ख्या ९८ करोड ५० लाख हुनेछ भने सन् २०५० मा यो जनसङ्ख्यामा केही कमी आई ८० करोडमा सीमित हुनेछ।

चीनमा दुई बच्चा जन्माउनसक्ने नीति लिएसँगै चीनमा सन् २०१६ मा एक करोड ८० लाख ४६ हजार नयाँ शिशुले जन्म लिएका थिए। यो सङ्ख्या सन् २००० पछिको सबैभन्दा बढी जन्मदर हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.