|

भद्रपुर : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले आह्‍वान गरेको आम हडतालले झापामा जनजीवन प्रभावित बनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लासमेत रहेको झापामा हडतालका कारण बिहानैदेखि लामो तथा छोटो दूरीको सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा आउन सकेको छैन। विद्यालय, कलकारखाना, राजमार्ग आसपासका मुख्य बजार क्षेत्रका पसलहरू पूर्ण रुपमा बन्द छ।

सरकारले संवैधानिक निकायहरूमा जबरजस्ती पदाधिकारी नियुक्त गरेपछि त्यसको विरोधमा आम हडताल सफल बनाउन राजमार्गमा बिहानैदेखि नेकपाका कार्यकर्ताहरू बन्द गराउँदै हिँडेका थिए।

बिहानै राजमार्ग तथा सहायक राजमार्गहरूमा सवारीसाधनहरू फाट्टफुट्ट सञ्चालनमा आएपछि नेकपाका कार्यकर्ताले सम्झाइ बुझाइ फर्काएका थिए। जिल्लाको भद्रपुर, बिर्तामोड, काँकडभिट्टा, धुलाबारी, बुधबारे, अर्जुनधारा, दमक, सुरुङ्गा लगायत क्षेत्रमा बन्दको प्रभाव परेको छ।

बन्दका क्रममा हालसम्म झापामा कुनै अप्रिय घटना नघटेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उनका अनुसार निजी प्रयोजनमा प्रयोग हुने साना सवारीसाधन सञ्चालनमा छ, फाट्टफुट्ट पसलहरू पनि खोलिएको छ। जिल्लामा कुनै अप्रिय घटना हुन नदिन मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको उनले बताए।

केही तस्वीर झलक :     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.