काठमाडौं : नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले बुधबार राति फेसबुकमा स्टाटस पोष्ट गरे,‘मैले केही भन्न सकिनँ। एकजना अभिभावकले फोन गरेर सोध्नुभयो। भण्डारीजी, भोलि छोराको जाँच थियो, हड्ताल रहेछ, म ज्ञानेश्वर बस्छु। जाँच ललितपुरको ताल्चिखेलमा छ, झण्डै ७ किलोमिटर पर्छ, बाइकमा राखेर पुर्याउन जाऊँ कि, के होला, कसरी जाने होला? म नाजवाफ भएँ, केही भन्न सकिनँ।’
ज्ञानेश्वरका नरेश पाण्डेको छोराले आज स्नातक इन्जिनियरको परीक्षा दिनुपर्ने छ। परीक्षा केन्द्र भने ताल्चिखेलमा परेको छ। ‘हामी ज्ञानेश्वरमा बस्छौँ। मेरो छोराले भने परीक्षा ताल्चिखेलमा दिनजानु पर्नेछ। कसरी छोरालाई लानुपर्ने हो चिन्तामा छु।’ पाण्डेले थाहाखबरसँग गुनासाे पाेखे।
उनका अनुसार परीक्षा साढे १ बजेदेखि सुरु हुनेछ। तर,परीक्षा केन्द्रसम्म पुग्नुपर्ने नै ठूलो चुनौती बनेको छ। ‘अब बाइकमा पुर्याउने कि भन्ने सोचमा छु। खै बाइक हिँड्न दिने हो कि नदिने हो थाहा छैन। अब छोरालाई लिएर निस्किने तयारीमा छु।’
राजनीतिक आन्दोलनका कारण सधैँ जनताले सास्ती खेप्नुपर्ने भन्दै उनी गुनासो पोख्छन्। भन्छन,‘यसरी हड्ताल नगरेको भए हुन्थ्यो। सबैभन्दा बढी परीक्षा दिने विद्यार्थीलाई समस्या पर्ने भयो।’
संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रूपमा नियुक्ति गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको गरेको छ। प्रचण्ड–नेपाल समूहले बिहानै काठमाडौंको सामाखुसीमा ट्याक्सी जलाइसकेका छन। चावहिल चोकमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र ट्राफिक प्रहरीले एम्बुलेन्स र प्रेस बाहेकका अन्य सवारीसाधन छिर्न दिएको छैन।
‘बन्द समस्याको समाधान होइन, जनतालाई दुःख नदिऊँ’
अभिभावक महासंघका अध्यक्ष भण्डारीले बन्द हड्ताल मात्रै समस्याको समाधान नभएको भन्दै जनतालाई दुःख नदिन माग गर्छन्। उनले भने,‘हड्तालले गर्दा सवारी चलेका छैनन्। अहिले परीक्षा चलिरहेको छ। परीक्षार्थी १०,१२ किलोमिटर पैदल यात्रा गरेर कसरी परीक्षा सक्छ? परीक्षा भनेको स्वतन्त्र ढंगले दिनुपर्छ। विभिन्न यातना लिएर परीक्षा कसरी दिने?'
पाण्डेले मात्रै नभई परीक्षाकै विषयलाई लिएर धेरै अभिभावकले गुनासो गर्ने गरेको उनले सुनाए। बन्दले स्वास्थ्य,शिक्षा, पसल व्यवसाय लगायतमा अपूरणीय क्षति पुग्ने उनले बताए। ‘बन्द नै गर्नुपर्ने भए सिंहदरबार बन्द गरेको भए हुन्थ्यो नि। जनतालाई सास्ती त हुने थिएन नि!। विरोध गर्ने अन्य विकल्प प्रयोग गरेको भए हुन्थ्यो।’आक्रोशित हुँदै उनले भने।
आम हड्तालले पैदलयात्रुहरू समेत सास्ती खेपिरहेका छन्। चावहिलमा भेटिएका सुस्मिता कार्कीले भनिन्,‘म रत्नपार्क पुग्नुपर्ने काम छ। तर, आज सवारी नै चल्न दिएका छैनन्। अब कसरी पैदल यात्रा गरेर पुग्ने हो थाहा छैन।’
उनले पैदलयात्रा गर्दासमेत हस्तक्षेप सहनुपरेको सुनाइन्। ‘मान्छेहरू कति आवश्यक काम परेर हिँडेका हुन्छन्। तर पनि स्वातन्त्र ढंगले हिँड्न पाइँदैन। मलाई त एकैछिन् चावहिलमा रोक्यो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।