|

कालिकोट : सरकारले स्थानीय तह पुनःसंरचनाको अन्तिम खाका राजपत्रमा प्रकाशित गरेपछि जिल्लामा धमाधम स्थानीय तह कार्यान्वयनको लहर चलेको छ। जिल्ला विकास समिति फेरिएर ‘जिल्ला समन्वय समितिको कार्यालय’ बनेपछि कार्यालयको साइनबोर्ड पनि ‘जिल्ला समन्वय समिति’ मा परिवर्तन गरिएको छ।

‘हामीले राजपत्रमा सूचना प्रकाशित भएपछि साइनबोर्ड परिवर्तन गर्यौ,’ स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले भने, ‘कार्यालयको लेटरप्याड, छापलगायत पनि परिवर्तन भइसक्यो।’ 

उनले कार्यालयको बैंक खाताको नाम परिवर्तन गर्न पत्रचार गरिने बताए। ‘नाम परिवर्तन प्रक्रियामा बैंक खाता केही दिन रोक्का हुन्छ, त्यसपछि नयाँ नामअनुसार चालु हुन्छ,’ उनले भने। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश–२०७३’ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन्। जिविससहित जिल्लाका नगरपालिका र गाउँपालिकाले पनि धमाधम साइनबोर्ड, लेटरप्याड, छाप र बैंक खाताको नाम परिवर्तन भइरहेको जनाएका छन्। 

जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिकाको साइनबोर्ड सोमबार दिउँसोसम्म परिवर्तन गरिएको छ। कार्यालयले लेटरप्याड र छाप भने परिवर्तन गरिसकेको खाँडाचक्र नगरपालिका कार्यकारी अधिकृत शरणबहादुर बडुवालाले बताए। 

को को तोकिए नगर र गाउँपालिका अधिकृत ? 

पुनःसंरचना गर्दा कालिकोटमा ६ गाउँपालिका र ३ नगरपालिका बनाइएका छन्। ती गाउँपालिका र नगरपालिकामा कार्यकारी अधिकृत नियुक्त गरिएको जानकारी स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले दिएका छन्। 

नियुक्त भएका कार्यकारी अधिकृतमा नरहरि गाउँपालिकामा धर्मेन्द्र शाही, शान्नि त्रिवेणी गाउँपालिकामा दुर्गबहादुर बुढा, पलाता गाउँपालिकामा भवनसिंह शाही, पचालझरना गाउँपालिकामा छक्कबहादुर शाही, कालिका गाउँपालिकामा भीम खत्री, महावै गाउँपालिकामा नन्दप्रसाद देवकोटा कार्यकारी अधिकृत नियुक्त गरिएको छ।

३ वटा नगरपालिकामा खाँडाचक्र नगरपालिकामा शरणबहादुर बडुवाल, रास्कोट नगरपालिकामा वीरेन्द्रबहादुर माझी र तिला गुफा नगरपालिकामा गोबिन्द्रबहादुर थापालाई कार्यकारी अधिकृतका रुपमा नियुक्त गरिएको जिल्ला संमन्वयन समितिको कार्यालय कालिकोटले जनाएको छ। 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सोमबार स्थानीय तह कार्यान्वयनका लागि गरेको निर्देशनअनुसार सबैमा कार्यकारी अधिकृत नियुक्त गरिएको स्थानीय विकास अधिकारी प्रदीपराज अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.