|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन्।

उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रहेको बताए। ‘यो कू विफल बनाउन म्यान्मारमाथि पर्याप्त दबाब दिनका लागि अन्तर्राष्ट्रिय समुदायका प्रमुखहरूलाई परिचालन गर्न आवश्यक सबै हामी गर्नेछौँ’ उनले भने,‘जनचाहना र चुनावको परिणामलाई उल्ट्याउनु पूर्ण रुपमा अस्वीकार्य छ। म आशा गर्छु कि म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ।’

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सुकीलाई गिरफ्तार गरेको थियो। म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ। फेब्रुअरी १५ तारिखसम्म उनी हिरासतमा रहनेछिन्। सेनाले सत्ता हातमा लिएपछि सुकी र राष्ट्रपति विन मिनका तर्फबाट कुनै किसिमका प्रतिक्रियाहरू आएका छैनन्।

म्यान्मारमा सेनाद्वारा एक वर्षका लागि संकटकाल लागु गरेको र सेनाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरिने बताएको छ। गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको आरोप सेनाले लगाएको छ। उक्त चुनावमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले अत्यधिक मत ल्याएको थियो। गत नोभेम्बरको चुनावबाट संसदको तल्लो र माथिल्लो दुवै सदनका कूल ४७६ स्थानमध्ये सुकीको दल एनएलडीले ३९६ स्थान जितेको छ। सन् २००८ को संविधान बमोजिम सेनालाई संसदको कूल स्थानको २५ प्रतिशत छुट्याइएको छ।

साथै कतिपय महत्वपूर्ण मन्त्रालय पनि सेनालाई नै दिइएको छ। सेनाले फेसबुकलाई बन्द गर्न निर्देशन दिएको पनि समाचारमा जनाइएको छ। सामाजिक सञ्जालहरूले स्थायित्वको पुन : स्थापनामा बाधा पुर्‍याएको भन्दै सेनाले त्यस्तो निर्देशन दिएको हो। बिहीबार प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा पहुँच नभएको बताएका थिए। कूको विपक्षमा बनाइएको फेसबुक पेजमा दशौँ हजार लाइकहरू आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.