|

नमीन ढकाल

इलाम : सरकारले स्थानीय तहको खाका राजपत्रमा प्रकाशित गरेपछि इलाममा स्थानीय तह कार्यान्वयनमा आएको छ। जिल्ला विकास समिति ‘जिल्ला समन्वय समिति’मा रुपान्तरित भनेको छ भने गाविसहरु गाउँपालिका बनेका छन्। ‘राजपत्रमा सूचना प्रकाशित भएपछि हामीले आइतबार नै साइनबोर्ड परिवर्तन गर्‍यौँ,’ योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले भने, ‘कार्यालयको लेटरप्याड, छापलगायत पनि परिवर्तन भइसक्यो।’ 

उनले कार्यालयको बैँक खाताको नाम परिवर्तनका लागि सोमबार नै पत्र पठाएको बताए। ‘आजबाट साविकका गाविसहरुको बैंक खाता बन्द गरिएको छ। अब केही दिनपछि स्थानीय तहले आफूलाई पायक पर्ने स्थानबाट खाता सञ्चालन गर्न सक्नेछन्। नयाँ खोलिएको खातामा पुरानो मौज्दातलाई सञ्चित कोषका रुपमा रकमान्तर गरिनेछ।’

तत्काल स्थानीय तहको कार्य सञ्चालनका लागि सम्बन्धित गाँउपालिका र नगरपालिकामा अधिकृतलाई कर्मचारी तोक्ने अधिकार प्रदान गरिएको खतिवडाले बताए। थप कर्मचारीका  लागि प्रमुख जिल्ला अधिकारी संयोजक तथा स्थानीय विकास अधिकारी र प्रमुख कोष नियन्त्रक सदस्य रहने गरी कर्मचारी पदपुर्ति समिति बनाइएको उनले जानकारी दिए।

त्यसैगरी गाउँपालिकाको केन्द्रका सम्बन्धमा विवाद आएमा सामान्यीकरण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय विकास अधिकारी र विवाद भएको क्षेत्रका कार्यकारी अधिकृत सदस्य रहने गरी विवाद समाधान समिति बनाइएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश– २०७३’ अनुसार स्थानीय तहले आफ्नो नाम परिवर्तन गरेका हुन्। जिविससहित जिल्लाका नगरपालिका र गाउँपालिकाले पनि धमाधम साइनबोर्ड, लेटरप्याड, छाप र बैंक खाताको नाम परिवर्तन भइरहेको जनाएका छन्। 

त्यस्तै नवघोषित माई नगरपालिकामा समेत साइनबोर्ड र छाप परिर्वतन गरिएको छ। परिर्वतन गरिएपछि नगरपालिकाको साइनबोर्डमा माइ नगरपालिका– २०७३ लेखिएको छ। जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिको वडा कार्यालयको साइनबोर्डहरु राखिए पनि केन्द्रमा भने मंगलबार बेलुकासम्ममा परिर्वतन हुनेछ। तर, कार्यालयले लेटरप्याड र छाप भने परिवर्तन गरिसकेको कार्यकारी अधिकृत महेन्द्र खाम्याङ्गले बताए।

नगरपालिकाको नाम परिवर्तन नभएपनि मन्त्रालयको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश– २०७३’ अनुसार यसको नाम भने ‘इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय’ रहनेछ।

सूर्याेदय नगरपालिकाले पनि लेटरप्याड र छाप परिवर्तन गरिसकेको छ। ‘साइनबोर्डमा नगरपालिकाको नामपछि २०७३ साल थपियो, अरू परिवर्तन गर्नुपर्दैन,’ सुर्योदय नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले भने। उनले लेटरप्याड र छाप परिवर्तन गरी ‘सूर्याेदय नगरपालिका, नगर कार्यपालिकाको कार्यालय’ राखेको जानकारी दिए।

जिल्ला समन्वय समितिका अनुसार जिल्लाका १० वटै नयाँ स्थानीय तहको केन्द्रका कार्यालयको नाम परिवर्तनसँगै छाप र साइनबोर्ड परिर्वतन गर्ने कार्य धमाधम भइरहेको छ। चुलाचुली गाउँपालिकाले सोमबार साइनबोर्ड परिर्वतन गरेर आजबाट नयाँ घोषित संरचनाअनुरुप कार्य गरिरहेको कार्यकारी अधिकृत गोविन्द सुवेदीले बताए। ‘भौगोलिक रूपले सदरमुकामभन्दा टाढाका गाउँपालिकाहरुमा आज बेलुकासम्म साइनबोर्ड र छाप परिर्वतन भइसक्ने प्रशासकीय अधिकृत खतिवडाले बताए।

तोकिए नगर र गाउँपालिका प्रमुख

नयाँ संरचनाअनुसार जिल्लामा ४ नगर र ६ गाउँपालिकाका लागि तोकिएका अधिकृतहरुले आजबाट काम थालेका छन्। इलाम, सूर्याेदय र देउमाई नगरपालिकालाई केही गाविस गाभेर विस्तार गरिएको छ भने नयाँ नगरपालिकाको रुपमा माई नगरपालिका थप गरिएको छ। जिल्लामा फाकफोकथुम, चुलाचुली, माइजोगमाई र माङ्सेबुङ गाउँपालिका घोषणा गरिएको छ।

पुराना नगरपालिकाहरुमा कार्यकारी यथावत रहेका छन्। नयाँ घोषित माई नगरपालिकाका लागि साविकको दानाबारी गाविसका सचिव डिल्लीराम सुवेदीलाई कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ। यस्तै सन्दकपुर गाउँपालिकाका लागि लक्ष्मी श्रेष्ठ, रोङ गाउँपालिकाका लागि नेत्रप्रसाद पोख्रेल, माङसेबुङ गाउँपालिकाका लागि लक्ष्मण ढुङ्गेल, माईजोगमाई गाउँपालिकाका लागि मानबहादुर पौडेल, चुलाचुली गाउँपालिकाका लागि गोविन्द सुवेदी र फाकफोकथुम गाउँपालिकाका लागि कुमार राईलाई कार्यकारी अधिकृत तोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.