चीनले दिने खोप ल्याउन तयारी पनि थालिएन, अझै अलमल

|

काठमाडौं : नेपालमा कोरोना संक्रमण भएको एक वर्षपछि नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो।

खोप अभियान उद्घाटन गरेको दिन माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले किनेरै भए पनि आगामी तीन महिनाभित्र सम्पूर्ण नागरिकलाई खोप लगाइने बाचा नै गरेका थिए। 

तर प्रधानमन्त्री ओलीले खोप उपलब्ध गराउने बाचा गरे पनि सरकारद्वारा गठित विज्ञ समूहका संयोजकले भने नेपालीहरूलाई कोरोना भाइरसको खोप दिन कम्तीमा एक वर्षको समय चाहिने बताएका थिए। 

तर हालसम्म नेपालले कोरोनाविरुद्ध खोप खरिद गर्न कुनै गृहकार्य नै बढाएको छैन। 

हुन त हालसम्म नेपालमा औषधि व्यवस्था विभागले 'कोभिसिल्ड' खोपलाई मात्र आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। जसले गर्दा सरकारले खरिद गरेर ल्याए पनि यही खोप मात्रै ल्याउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रमलयका अधिकारीहरू बताउँछन्। 

पहिलो चरणको खोप अभियान चलिरहेका बेला सरकारले दोस्रो चरणको खोप ल्याउने तयारी गरिरहेको बताए पनि अब सरकार आफैंले खोप खरिद गरेरभन्दा कोभ्याकसकै खोप आएपछि दोस्रो चरणको खोप अभियान सन्चालन गरिने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

मन्त्रालय भन्छ, 'नेपालले अहिलेसम्म कोभिसिल्ड खोपलाई मात्रै आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ, जसले गर्दा खरिद गरे पनि यही खोप मात्रै किन्न मिल्छ।'

सेरम इन्स्टिच्युटसँग मात्र खोप खरिदको प्रक्रिया बढेको र त्यही पनि अब कोभ्याक्सले दिने खोप चाँडै आउने भएपछि हाललाई खोप खरिद गर्ने प्रक्रिया अघि नबढ्ने मन्त्रालयको भनाइ छ। 

पुन त्यही खोप ल्याइने!

केही समयअघि कोभिसिल्ड खोपका लागि नै नेपालले भारत सरकारसँग अनुरोध गरिसकेको छ। तर भारतले अब खोप अनुदानमा पठाउने/नपठाउने निश्चित भने गरिसकेको छैन। मन्त्रालय भन्छ, ‘आपतकालीन प्रयोगको अनुमति पाइसकेको र अहिले लगाउन सुरु गरिसकिएकोले खरिद गरेर वा पुन अनुदानमै यही खोप ल्याउने खोजिएको छ।'

सेरम इन्स्टिच्युट विश्वकै ठूलो खोप उत्पादक कम्पनी हो। सरकारले समेत उक्त कम्पनीलाई खोप दिनका लागि अनुरोध गरेको छ। तर, कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएकाले अझै खोप खरिदमा अलमल नै देखिन्छ।

चीनले दिने खोप ल्याउन पनि थालिएन तयारी

यता केही दिनअघि चीनले पनि कोरोनाविरुद्ध तीन लाख डोज खोप अनुदान स्वरुप दिने बताएको छ। तर मन्त्रालयले हालसम्म चीनले दिने कोप ल्याउन कुनै तयारी नगरेको मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

यसरी हेर्दा हालसम्म नेपालले हालसम्म नेपालमा खोप आउने भनेको भारत र चीनबाट मात्र हो। खोप खरिदका लागि प्रयाप्त स्रोतको जोहो गरिसकेको दाबी मात्र गरिएको छ। यसका लागि सरकारले खोप खरिदका लागि सार्वजनिक सूचना नै निकालेर पैसा माग्न थालेको छ। 

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका अधिकारीका अनुसार हाल कोभिसिल्डबाहेक खोप आए पनि दोस्रो चरणको खोप अभियान सन्चालन गर्न केही समय लाग्नेछ। 

व्यवस्थापन महाशाखाका अधिकारी  भने, ‘पहिलो चरणको खोप अभियान अस्पातलहरुमा केन्द्र बनाएर सन्चालन गरिएको हुँदा प्राविधिक रुपमा धेरै तयारी गर्नु परेन, तर दोस्रो चरणको खोप भनेको गाउँस्तरमा पुग्ने हुँदा समयमै खोप आए पनि धेरै तयारी गर्नुपर्छ।‘

हिजो(बिहीबार) मात्रै नेपालले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २२ लाख ५६ हजार डोज खोप दिने घोषणा गरिसकेको छ।

कोभ्याक्सको अन्तरिम वितरण योजनाअन्तर्गत नेपालले अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको तथा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्राप्त गर्ने भएको हो।

सरकारले कुल जनताको  ७२ प्रतिशत दुई करोड १६ लाख) नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ। कोभ्याक्स सुविधाबाट प्राप्त हुने २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने तथा सरकारले अहिलेसम्म खरिद प्रक्रिया अगाडि बढाएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार सरकार आफूले किनेरभन्दा पनि मागेर नै काम चलाउने मनस्थितिमा छ। 

हाल भारत सरकारले अनुदानस्वरुप गत माघ ९ गते दिएको १० लाख डोज खोप कोरोनाविरुद्ध फ्रन्टलाइन खटिएका स्वास्यकर्मीसहित पहिलो चरणमा, सफाइकर्मी, कैदीबन्दी र वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने छ। भारतको सिरम इन्स्टिच्युटबाट निर्मित ‘कोभिसिल्ड’ खोप गत १४ गतेदेखि लगाउन सुरु गरिएको पहिलो चरणको खोप अभियान भोलि(शनिबार)बाट सकिँदै छ।

बिहीबारसम्म देशभर ७७ जिल्लाको २ सय १ खोप केन्द्रबाट १ लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका छन्। प्रदेश १ मा २१ हजार ७ सय ५४, प्रदेश २ मा २१ हजार १ सय ८५, बागमतीमा ५५ हजार ५ सय ४,गण्डकीमा १७ हजार २ सय ६७,लुम्बिनीमा २३ हजार ७ सय ९८,कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिममा १० हजार ९ सय ७ ले खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.