|

काठमाडौं :  चीन सरकारले नेपाललाई पाँच लाख डोज कोभिडविरुद्धको खोप प्रदान गर्ने भएको छ। शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्तामा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलरवाङले खोप उपलब्ध गराउने बताएका हुन्।

 यसअघि १८ माघमा पनि चीनले ३ लाख कोरोना खोप दिने बताएको थियो। विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन।

तर चीनले नेपाललाई कोरोनाविरुद्धको खोप अनुदान दिने घोषणा गरेसँगै काठमाडौंस्थित चिनियाँ दूतावासले कोरोनाविरुद्धको खोप सिनोफार्म नेपालमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिन औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ।

 विभागका अनुसार केही दिनमै चीनले दिने खोप नेपालमा आउने हुँदा छिट्टै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन दूतावासले अनुरोध गरेको बताइएको छ।

 विभागका प्रवक्ता सन्तोष केसीले अहिले चीनको सिनोफार्म खोपको लागि आपतकालीन प्रयोगको लागि अनुमति दिन अनुरोध आइरहेको बताए। उनले भने,
‘हाल चीनको सिनोफार्म खोपको स्वीकृतिको लागि अनुरोध आएको छ।‘चिनियाँ पक्षले सिनोफार्म खोप विश्वका १३ वटा मुलुकमा प्रयोग भइसकेको जानकारी दिएको छ।

विभागका अनुसार हाल सिनोफार्मको आपतकालीन प्रयोगको लागि अनुमति माग्दै केही काजगजात पेश गरिसकेको छ भने केही आउने प्रकृयामा रहेको र सो पुरा भएमा आपतकालिन प्रयोग अनुमती दिने जनाइएको छ।

यसअघि नेपाललाई भारतले १० लाख भाइल खोप अनुदानमा दिएको थियो । सो अनुदान पछि नेपालमा कोरोनाविरुद्धको खोप अभियान  गत माघ १४ गतेबाट शुरु गरिएको हो ।

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुने भएको छ। १० दिनअघि सुरु भएको खोप अभियान आज सम्पन्न हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई गरी शुक्रबारसम्म एक लाख ७१ हजार ४८६ जनालाई खोप दिइएको छ । ७७ वटै जिल्लामा २०१ बुथबाट खोप प्रदान गरिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

शुक्रबारसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६, बागमतीमा ५९ हजार ९४२, गण्डकीमा १७ हजार ३१५, लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप प्रदान गरिएको छ। भारतले अनुदानमा उपलब्ध गराएको १० लाख कोभिशिल्ड खोप पहिलो चरणमा प्रदान गरिएको हो। पहिलो चरणमा बचेको खोप दोस्रो चरणमा प्राथमिकताको आधारमा प्रदान गरिने मन्त्रलयले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.