|

एक समयमा ढाल बनेर उभिएको पश्चिमा जगतमा यतिखेर आङ सान सुकीका समर्थक शून्य बराबर छन्।

सन् २०१८ मा रोहिंग्या मुसलमानमाथि नरसंहार भयो। त्यसको एक वर्षपछिसम्म सुकी आफ्नो क्याबिनेटमा सहभागी सैन्य शासकको प्रसंशा गरेर कहिल्यै थाक्दिनथिन्।

​विश्वले नै रोहिंग्यामाथि भएको अत्याचारविरुद्ध आवाज उठाउँदा म्यानमारकी यी मानव अधिकारवादी पहिचान बनाएकी नेतृ दमनकारी सेनाको प्रतिरक्षामा ढाल बनेर उभिइरहेकी थिइन्। 


सुकी र सेनाप्रमुख (हाल सैन्य शासक) मिन आंग ​ह्वाइंग ।

सैनिक शासकको समर्थनमा लिप्त भएकी सुकीलाई यतिखेर उनै सैन्य शासकले घरमै नजरबन्द गरिदिएका छन्। लामो समयसम्म सत्तामा प्रभुत्व जमाएको त्यहाँको सेनाले फेरि देशलाई आफ्नो सैन्य–राजनीतिक कब्जामा लिएको छ। 

त्यसो भए के-विश्वभर आफूलाई स्वतन्त्रता सेनानी र मानवअधिकारवादीका रूपमा ब्राण्डिङ गरेकी सुकीको स्वार्थ फगत सत्ताका लागि थियो? सेनासँग सत्ता साझेदारी गर्न पाउनु नै उनको जीवनको ध्येय थियो? के सेनाको गोली र यातनबाट मारिएका रोहिंग्याहरूको जीवनभन्दा सुकीका लागि याङ्गुनको सत्तासुख नै विशेष महत्वको थियो ? कम्तिमा रोहिंग्या मुसलमानहरू मारिँदै र आफ्नो माटोबाट विस्थापित हुँदै गर्दा सुकीले सान्त्वनाका दुई शब्द बोलिदिएकी भए के जान्थ्यो ? किन उनी रोहिंग्याकै विरुद्धमा उभिइन् र नरसंहारमा संलग्न सेनालाई बचाउनतर्फ लागिन्?

रोहिंग्या महिला म्यानमारका सेनाबाटै बलात्कृत

यी तीखा प्रश्नहरूको जवाफ कहिल्यै दिन नसक्ने अवस्थामा पुगिसकेकी सुकीको अन्त्य अब सैन्य हिरासतभित्रै भएपनि सायदै विश्वले पीडा महसुस गर्नेछ।

सुकी समर्थकले जे जस्ता अपेक्षा राखेपनि अब तत्काल म्यानमारमा लोकतन्त्र पुनर्बहाली हुने सम्भावना शुन्यप्रायः छ। म्यानमारमा सुकीका समर्थकले सैन्य कदमको विरोध गरेपनि उनको अन्तरराष्ट्रिय छवी धुलिसात भइसकेको छ।

बाँकी विश्वले म्यानमारमा भएको सैन्य तख्तापलटको विरोध गर्नुको अर्थ अब लोकतन्त्रप्रतिको प्रतिबद्धता औपचारिक रूपमा दर्शाउनमात्रै हो, न कि सुकीको सुरक्षा चिन्ता! 

म्यानमारमा त सुकी लोकप्रिय नै छिन्। किनकी त्यहाँ अल्पसंख्यक इतर बाहुल्य जनसंख्या सुकी पक्षधर हो। हालै भएको चुनावमा पनि सुकीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले ८० प्रतिशतभन्दा धेरै भोट पाएको थियो। यो उनले हालसम्म प्राप्त गरेको सबैभन्दा फराकिलो जीत थियो। 

आज पनि याङ्गुन शहरका हरेक गल्लीमा सुकीका पोस्टर, पेन्टिङ र क्यालेन्डर झुण्ड्याइएको देखिन्छ। राजधानी शहरमा मदर सुकीका रूपमा उनी लोकप्रिय छिन् नै। 

यतिखेर यी गल्लीमा प्रदर्शनकारी चिच्याइरहेका छन्। भाँडा बजाउँदै सैन्य तख्तापलटको विरोध गरिरहेका छन्। म्यानमारमा परम्परागत रूपमा भूत (खराब आत्मा) लाई भगाउन भाँडा बजाउने गरिन्छ। उनीहरू सुकी तत्काल रिहा भएको हेर्न चाहन्छन्। 

सामाजिक सञ्जालहरूमा भाँडा बजाएर सेनालाई भगाउन खोजिएको अभिव्यक्ति जताततै देखिन्छन्।

रोहिंग्या मुसलमानहरूको अधिकारनिम्ति काम गरिरहेकी सामाजिक कार्यकर्ता वाई वाई नूले यंगुनस्थित एक सडकको दृश्य सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन्, 'यस्तो देख्नु निकै दर्दनाक छ।' 

नूले पोष्ट गरेको सो भिडियोमा देखिएको एक तस्वीरले सबैको ध्यान खिच्नसक्छ। सो तस्वीर म्यानमारको हिंस्रक र दुखद इतिहासको प्रतीक हो।


सुकीका पिता जनरल आंग सानको तस्वीर वरपर झुम्मिइरहेका बर्मेली किशोर-किशोरी ।

स्मार्टफोनको उज्यालोमा चम्किरहेको सो तस्वीर सुकीका पिता जनरल आंग सानको हो, जसबारे आज पनि म्यानमारमा सम्मानका साथ कुरा गरिन्छ। बेलायती उपनिवेशबाट म्यानमार स्वतन्त्र हुनुअघि नै सानको हत्या भएको थियो। 

सान नै आधुनिक बर्माको सेनाका संस्थापक थिए। उनै सानले स्थापना गरेको सेनाले नै छोरी सुकीको स्वतन्त्रता खोसिदिएको छ। 

म्यानमारमा यसअघि सन् १९८८ या २००७ ताका भएका सबै आन्दोलन जमिनमा लडिएको थियो। तर यसपटक अनलाइनमा लडाइँ भइरहेको छ। फेसबुकलगायत सामाजिक सञ्जालमा बर्मेलीहरूले आफ्नो धारणा राखिरहेका छन्। यसैकारण सेनाले तख्तापलट गरेपछि सबैभन्दा पहिले फेसबुकमा प्रतिबन्ध लगाइदियो।

तर अल्पसंख्यक रोहिंग्या मुसलमानलाई समर्थन र सहयोग गर्न अस्वीकार गरेपछि सुकी आलोचनामा फसिन। उनको रवैयाबाट हतोत्साही भएका अन्तराष्ट्रिय विश्वविद्यालय र संगठनहरूले सुकीलाई दिएका पुरस्कार फिर्ता लिन थाले। 

सुकी यसअघि पनि १५ वर्षसम्म घरमै नजरबन्दमा थिइन्। त्यतिखेर पश्चिमा मुलुकहरू उनको पक्षमा थिए। बीबीसीले त्यतिखेर सुकीको आवाज विश्वभर पुर्‍याएको थियो। 

तर, सन् २०१७ मा म्यानमारको रखाइन प्रान्तमा भएको रोहिंग्या नरसंहारपछि सबै कुरा बदलियो।

सन् २०१९ मा पनि सुकीले अन्तराष्ट्रिय न्यायालयमा आफ्नो देशको सेनाको बचाउ गरेकी थिइन्। 


सन्‌ २०१९ मा अन्तरराष्ट्रिय अदालतमा नरसंहारक बर्मेली सेनाको पक्षमा बोल्दै गरेकी सुकीको तस्वीर।

सुकीले दायित्व शून्य म्यानमारको सेनाले गरेका अपराधलाई सही ठहर्‍याउन प्रयास गरिरहेकी थिइन्। सेनामाथि व्यापक घृणा भएपनि सुकीको यो निर्णयलाई भने म्यानमारीहरूले सहर्ष स्वीकार गरे। किनकी, बहुसंख्यक बर्मेलीहरू अल्पसंख्यक रोहिंग्याहरू समाप्त भएकै हेर्न चाहन्थे। यसमा परस्परविरोधी भएपनि सेना र बहुसंख्यक सम्प्रदायको स्वार्थ मिलेको थियो। 

बोल्न मान्दैनन् काठमाडौं आएका रोहिंग्या शरणार्थी, के भयो उनीहरुलाई ?

संयुक्त राष्ट्र संघका लागि अमेरिकी पूर्व राजदूत बिल रिचर्डसनले भनेका छन्, जब मैले पछिल्लोपटक म्यानमारमा भएको सैन्य कू बारे सुनेँ, तब मलाई लाग्यो–शैतानसँग सम्झौता गर्दा यस्तै नतिजा निस्कन्छ।

रिचर्डशन सन् २०१८ सम्म सुकीका निकट थिए। तर रोहिंग्या मुसलमानमाथि भएको नरसंहारपछि स्थिति बदलियो। उनी भन्छन्, 'जबसम्म सुकी निर्वाचित भएकी थिइनन्, तबसम्म म उनको निकै ठूलो प्रशंसक थिएँ।' 

म्यानमार सरकारले रोहिंग्या संकटबारे देखाएको ब्यहोरा अन्तरराष्ट्रियस्तरमै निन्दा गर्न लायक थियो। 

अब सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले नयाँ नेतालाई अघि बढाउनुपर्ने रिचर्डशन बताउँछन्। 

सुकीमाथि लगाइएका आरोप पुष्टि गराइए उनलाई जेल सजाय हुनसक्छ। अर्थात, उनी त्यसपछि कहिल्यै राष्ट्रपतिको दौडमा सामेल हुनसक्ने छैनन्।

(बीबीसी र अन्य सञ्चारमाध्यममा प्रविष्ट सामग्री अनुवाद गरी तयार पारिएको सामग्री ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.