|

उदयपुर :  उदयपुरको नयाँ ८ स्थानीय तहमा कार्यकारी अधिकृत तोकिएका छन्। मंगलबार जिल्ला समन्वय समितिको उद्घाटन कार्यक्रममा ४ गाँउपालिका र ४ नगरपालिकामा कार्यकारी अधिकृत औपचारिक रुपमा तोकिएका हुन्।

जिल्ला विकास समितिलाई भंग गरी जिल्ला समन्वय समितिको कार्यालय घोषणा गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्थानीय तह कार्यान्वयनको लागि औपचारिक रुपमा काम सुरु भएको बताए। प्रमुख पराजुलीले जिल्ला विकास समितिको होर्डिङ बोर्ड हटाएर जिल्ला समन्वय समितिको कार्यालयको बोर्ड स्थापना गरेका थिए।

स्थानीय विकास अधिकारी गणेशप्रसाद दाहालले राजपत्रमा प्रकाशित भएका गाँउपालिका र नगरपालिकामा कार्यकारी अधिकृतको नामावली सार्वजानिक गरेका थिए। दाहालका अनुसार ३ जना शाखा अधिकृत, ३ जना नायव सुब्बा र एक जना खरिदारलाई नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृत तोकिएको छ।

जसमा बेलका नगरपालिकामा शाखा अधिकृत पुष्पराज सिग्देल, चौदण्डी नगरपालिकामा शाखा अधिकृत हरिप्रसाद चापागाईं, त्रियुगा नगरपालिकामा उपसचिव भानुभक्त न्यौपाने, कटारी नगरपालिकामा शाखा अधिकृत पुण्यप्रसाद पौडेल, रौतामाई गाउँपालिकामा नायब सुब्बा सुदर्शन भट्टराई, उदयपुरगढी गाउँपालिकामा नायव सुब्बा गुणराज श्रेष्ठ, सुनकोशी गाउँपालिकामा नायब सुब्बा पदमकुमार राई र ताप्ली गाउँपालिकामा खरिदार किशोरकुमार राईलाई कार्यकारी अधिकृत तोकिएको छ।

‘कार्यालयको लेटरप्याड, छापलगायत पनि परिवर्तन भइसक्यो’ समन्वय समितिको कार्यालयका एलडिओ दाहालले भने, ‘सबै नगरपालिका र गाउँपालिकाको बोर्ड र नाम परिर्वतन भोलिबाट हुन्छ,’ दाहालले भने, कार्यालयको बैंक खाता समेत परिवर्तन गर्न पत्राचार समेत गरिसकिएको छ र सबैको नयाँ संरचना अनुसार हुनेछ।’

समावेश भएका गाउँ विकास समितिमा कार्यरत गाविस सचिवलाई सोही वडाको जिम्मेवारी तोकिएको छ। प्रत्येक नयाँ वडामा कार्यालय व्यवस्थापन तीन दिनभित्र गरिसक्ने गरी काम अघि बढाइएको एलडिओ दाहालले बताए।

जिल्ला समन्वय समितिको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका नेकपा माओवादी केन्द्रका संयोजक विनोद कटुवाल दिवशले जनताले चाहेको संघीयता कार्यन्वयन भएको भन्दै खुशियाली मनाउनुपर्ने बताए। ‘सरकारले घोषणा गरेकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ’ कटुवालले भने, ‘स्थानीय तहको संरचनामा अब स्थानीय राजनीतिक दलका संघ संगठनलाई नयाँ ढाँचामा परिमार्जन गर्नुपर्ने प्रमुख आवाश्यकता छ।’

यसैगरी नेकपा एमालेका जिल्ला सचिव परमेश घिमिरेले सिंहदरबारबाट पाउने अधिकार गाउँबाट पाउनु परिर्वतन भन्दै खुशियाली व्यक्त गरेका थिए। नेपाली काङ्ग्रेस लगायतका दलले जिल्ला समन्वय समितिको स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.