|

बैतडी : बैतडीको दोगडकादार गाउँपालिका-७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको भेजाइनल स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ।

भगरथीको शव घर नजिकैको लबलेक जंगलमा माघ २२ गते विभत्स अवस्थामा भेटिएको थियो।  बलात्कारपछि हत्या गरिएको आशंका भएपछि उनको भेजाइनल स्वाब परीक्षणका गर्न काठमाडौंस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो। 

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको आशंका गरिएकोले स्वाब परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। स्वाब परीक्षण गरिएपछि अनुसन्धान गर्न थप सहज हुने बैतडीका प्रहरी प्रवक्ता जनक धामीले जानकारी दिए। उनले भने, ‘घटनास्थलबाट प्राप्त भएका सम्पूर्ण प्रमाण सुरक्षित राखेर थप अनुसन्धानको काम भइरहेको छ।’

डीएनए परीक्षण गर्न ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरू संकलन गरिएका हुन्। भागरथीको ‘भेजाइनल स्वाब’मा शंका लागेको व्यक्तिको शुक्रकीटसँग मिलेमा दोषी पत्ता लाग्नेछ।

स्वाब एक सहायक सामग्री भएकोले बलात्कार गर्ने व्यक्तिको डीएनए छुटेको भए मात्रै परीक्षणबाट थाहा हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए। उनले भने, ‘पोष्टमार्टम रिपोर्टले कसरी मृत्यु भयो भन्ने थाहा लाग्छ।’

शनिबार नै जिल्ला अस्पतालमा शव परीक्षण गरिएपनि रिपोर्ट अझै सार्वजनिक गरिएको छैन। रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा पुगेको डाक्टर जोशीको भनाई छ । उनले भने, ‘रिपोर्ट तयार गर्ने काम अन्तिम चरणमा छ, आज प्रहरीलाई बुझाउँछौं।’ पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पोष्टमार्टम भएको ३ दिनसम्म पनि आफन्तले भने शव बुझ्न मानेका छैनन्। बलात्कारपछि हत्या भएको र हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने भागरथीका काका शिवराज भट्टले बताए। उनले भने, ‘वास्तविक हत्यारा पत्ता नलाग्दासम्म शव बुझ्ने कुरै हुँदैन।’

माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गदै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जंगलमा विभत्स र निर्वस्त्र रूपमा मृत अवस्थामा फेला परेकी थिइन्। उनी दोगडाकेदार गाउँपालिका-३, श्रीकोटस्थित सनातन धर्म माविमा अध्ययनरत थिइन्।

५ दिनसम्म पनि हत्यारा पत्ता लागेन

प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको बताएपनि घटना भएको ५ दिनसम्म पनि हत्यारा पत्ता लगाउन सकेको छैन।

घटनाको सुक्ष्म अध्ययन र अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। 'अनुसन्धान र अध्ययनका लागि हाम्रो माथिल्लो निकाय पनि परिचालन भएको छ,' उनले भने, ‘दोषीलाई पत्ता लगाउन हाम्रो सबै शक्ति लागिपरेको छ, छिट्टै पत्ता लाग्नेछ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ।

त्यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरिक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली र केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टीम परिचालन भएको छ। 

प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शङ्कास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यसका साथै तालिमप्राप्त कुकुरले भागरथीको हत्या भएको जङ्गल क्षेत्र पनि प्रहरीले ‘सर्च’ गरेको थियो। त्यसक्रममा किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकोले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ।

यता किशोरीका आफन्त तथा स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन्‌।

आइतबारदेखि ३ दिनका लागि शैक्षिक हड्ताल गरिएको संघर्ष समितिका सदस्य भुवन कार्कीले जानकारी दिए। संघर्ष समितिले पहिलो चरणमा ३ दिन शैक्षिक हड्ताल गर्ने, माघ २८ गते दोगडाकेदार गाउँपालिका घेराउ गर्ने र माघ २९ गते आम हड्ताल गर्ने घोषणा गरेको छ। यसअघि शुक्रबार र शनिबार पनि आफन्त र स्थानीय बासिन्दाले महाकाली राजमार्गमा चक्काजाम गर्नुका साथै प्रदर्शन गरेका थिए।  

भागरथीले न्याय पाउनुपर्ने र दोषीलाई पत्ता लगाउन मागसहित जिल्लास्थित राजनितिक दलहरु पनि एक ठाउँमा उभिएका छन्। जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय अगाडी र्‍यालीसहित दोषीलाई यथाशीघ्र पक्राउ माग गर्दै नाराबाजी समेत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.