भारतले नाकाबन्दी लगाउँदा चर्चा, भाषण गर्न मात्रै काम आयो

|

काठमाडौं : टेकुको पचली भैरव मन्दिर अगाडि पुग्दा त्यही जमिनको एक छेउमा ३ ठाउँबाट पानीका फोका उठिरहेको देखिन्छ। त्यहाँ प्राकृतिक ग्यास बाहिर निस्किएको हो।

एउटा पुरानो खिया लागिसकेको ग्यास स्टोरेज बुलेट पाइप र जमिनमा गाडिएका ठुल्ठूला फलामका पाइप पनि जडान गरिएको छ। वरिपरि भने झारले ढाकिएको छ।

यो पुरानो प्राकृतिक ग्यासको स्रोत अहिलेसम्म बेवारिस छ। ग्यास रेखदेख गर्दै आएका खबरराज तिम्सिनाले ग्यास उपयोगमा राज्यले चासो नदिँदा अलपत्र परेको बताए।

‘अहिले पनि पानी र ग्यासको फोका निस्किरहेको छ, बनाइएका संरचनाको मर्मत गरे यहाँबाट निस्कने ग्यास उपयोग गर्न सकिन्थ्यो, तीनकुनेलगायत १४ ठाउँमा यसरी नै ग्यास खेर गइरहेको छ। उपयोगतर्फ सरकारले चासो लिनुपर्‍याे।’

पहिले उपयोग, अहिले बेवास्ता

तिम्सिना काठमाडौंमा बसेको २७ वर्ष भयो। उनी काठमाडौं आउँदा ग्यास बलिरहेको थियो। त्यसबेला पाइपलाइनबाट टेकु क्षेत्रको सरकारी कार्यालय, पशु अस्पताल, उद्योग विभागलगायत केही घरमा ग्यास वितरण गरिएको थियो। उनका अनुसार त्यही ग्यासमा शहरबासीले खानासमेत पकाएका थिए।

उनी भन्छन्, ‘यो ग्यास निकै पूरानो हो, जापानको जाइकाले यो ग्यास निकालेको हो। तर, २०६५ सालबाट बन्द भयो।’

खानी तथा भूगर्भ विभागका अनुसार जाइकाले १९७८ देखि ग्यासको अध्ययन थालेर सन् १९८२ सम्ममा टेकुमा ग्यास प्लान्ट स्थापना गरी वितरण थालेको थियो। 

भूकम्पमा चर्चा, मन्त्रीको पूरा भएन बाचा 

भारतले २०७२ सालमा अघोषित नाकाबन्दी गरेपछि नेपालमा ग्यासको चरम अभाव भयो। उपत्यकावासी ग्यास पाउन एक सातासम्म लाइनमा बस्न बाध्य भए। ग्यासको चरम अभाव भएपछि स्वदेशमै रहेका प्राकृतिक ग्यासका स्रोत उपयोगबारे बहस थालियो।

त्यही नाकाबन्दीको बेला काठमाडौँको जमिनमुनि रहेको ग्यास उत्खनन गरी उपभोग गर्न सकिने कुराले ठूलै चर्चा पाएको थियो तर, नाकाबन्दी अन्त्य भएसँगै ग्यासको चर्चा पनि सेलाउँदै गयो।

२०७२ साल माघ  महिनामा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सो ठाउँमा गएर ग्यासको अवलोकन गरेका थिए। त्यहाँबाट मिथेन ग्यास निकाल्न सरकारले काम अघि बढाउने बताएका थिए। 

टेकुमा मात्रै नभई सरकारले ललितपुरको इमाडोलमा पनि ग्यास निकाल्ने योजना बनायो। २०७३ कात्तिकमा ग्यासको उत्खनन पनि भयो। ३ सय ५० मिटर खनेर ग्यास परीक्षण समेत गरिएको थियो।

सोही महिना ग्यास उत्खनन स्थलमा पुगेर तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्राकृतिक ग्यास जोडिएको स्टोभ पनि बालेका थिए। त्यतिबेला मन्त्री जोशीले १ महिनाभित्रै टेकुको ग्यास प्लान्टबाट ग्यास निकाल्ने बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटक-पटक सार्वजनिक कार्यक्रममा घरघरमा ग्यासको पाइपलाइन पुर्‍याउने भन्दै भाषण गरिसकेका छन्। तर, यी मन्त्रीहरुको बाचा अहिले सम्म पूरा हुन सकेको छैन। 

भूगर्भ विभागले इमाडोलको ग्यास उत्खनन सफल भएको भन्दै २०७४ वैशाखमा काठमाडौंको टेकुमा ग्यास उत्खनन परीक्षण कार्य शुरू गरेको थियो। तर,कामले तीव्रता पाउन सकेन। 

कति छ काठमाडौंको जमिनमुनि ग्यास ?

जापानी संस्था जाइकाले २५ वर्षअघि अध्ययन गरी काठमाडौँको ललितपुरको टीकाथली, टेकुदेखि कोटेश्वरसम्मको जमिनमुनि ४० प्रतिशत ग्यास र ६० प्रतिशत पानीको मिश्रण रहेको प्रतिवेदन तयार पारेको थियो।

काठमाडौँको २६ वर्ग किमि क्षेत्रफलमा ३१ करोड घनमिटर मिथेन ग्यासको भण्डार रहेको पत्ता लागेको थियो।

उपलब्ध ग्यास काठमाडौँका २० हजार परिवारलाई ५० वर्षसम्म ग्यास प्रयोग गर्न पुग्ने अनुमान गरिएको थियो। बढी कोटेश्वर-तीनकुने, टेकु-त्रिपुरेश्वर र महाराजगन्ज-इमाडोल क्षेत्रमुनि ग्यासको घनत्व बढी पाइएको थियो। 

किन उत्खनन्‌ भएन ?

खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक जय राज घिमिरेले अहिले जमिनमुनि के कति ग्यास छ भन्ने यकिन नभएकाले पुन: सर्वे गर्नुपर्ने बताए। त्यसैले टेकु लगायत स्थानमा ग्यास उत्खनन कार्य रोकिएको उनको भनाइ छ।

उनले भने, ‘ग्यासबारे पुन:अध्ययन गर्नुपर्नेछ, हामीले जाइकालाई फेरि अध्ययन गरिदिन पत्र पठाइसकेका छौँ, अध्ययन भएपछि मात्रै काम शुरू हुन्छ।’

उनका अनुसार  इनार खन्नु, उपत्यकामा जनसंख्या बढेसँगै जमिनमुनिको बढी पानी तान्दा जाइकाले पहिला अध्ययन गरेको भन्दा अहिले ग्यास घटेको अनुमान लगाइएको छ। टेकुको ग्यासमा ४० प्रतिशत पानी रहेको पाइएको छ। 

इमाडोलमा भने के कति ग्यास बढेको वा घटेको छ भनी हेरेपछि पनि काम बढ्न सकेको छैन। इमाडोल, तीनकुने र टेकुलगायत क्षेत्रको व्यावसायिक ढंगले ग्यास उत्पादन गर्दा एक अर्ब रुपैयाँभन्दा बढी लागत लाग्ने विभागको अनुमान छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.