नेपालगञ्ज : बन्द सफल बनाउन सडकमा निस्किएका संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा नेपालगञ्जमा १० जना घाइते भएका छन्। मोर्चाका कार्यकर्ताले एमालेको आमसभामा नेपालगञ्ज आउन लागेका सर्वसाधारण चढेको बसमा तोडफोड गर्न खोज्दा प्रहरीले गरेको लाठी चार्जमा परी १० जना घाइते भएका हुन्।
घाइते हुनेमा कौशल यादव, भुसैली यादव, असलम राई, झब्बर भाट, मतिन खाँ, जमिल भाट, गरिवा तेली, भुजौ नाउ, सहमतुल्लाह अन्सारी र जमिल भाट रहेको संघीय समाजवादी फोरमका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए। उनले घाइतेमध्ये ७ जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य उपचारपछि घर फर्किएका छन्। धेरैजसोको टाउको र खुट्टामा चोट लागेको छ। घाइतेको अवस्था सामान्य रहेको उनले जानकारी दिए।
बसमा तोडफोड गर्नुका साथै प्रहरीमाथि नै ढुंगामुढा हुन थालेपछि स्थिति नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर र २ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर गिरीले जानकारी दिए। उनले प्रहरीले बन्ना भाट, दुजी जरवट र इर्फान खानलाई नियन्त्रणमा लिएको जानकारीसमेत दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।