|

बाँके : नेपालगन्जमा भैरहेको दोस्रो टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि रुपन्देही–११ र संकटा क्लब फाइनलमा भिड्ने भएका छन्। नेपालगन्ज रङ्गशालामा मंगलबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै रुपन्देहीले उपाधिका लागि संकटासँगको भेट पक्का गरेको हो।

अमर डंगोलको दुई हेडिङ गोलको मद्दतले रुपन्देहीले प्रहरीलाई पराजित गर्‍यो। खेलको ३३ औँ मिनेटमा डिएरियाभित्र फाउल गरेपछि पाएको पेनाल्टीमार्फत पुलिस क्लबका जुमानु राईले गोल गरेका थिए। तर पुलिसले अग्रतालाई ३ मिनेट पनि जोगाउन सकेन्।  

अमर डंगोलले गोल गर्दै रुपन्देहीलाई बराबरीमा ल्याए। फ्रिकिकमा आएको बललाई अमरले हेडमार्फत जाली चुमाएका थिए। रुपन्देहीका डंगोललाई रोक्न प्रहरीका रक्षकलाई हम्मेहम्मे परेको थियो।

७५ औं मिनेटमा पाएको कर्नरमा डंगोलले हेडिङमार्फत नै गोल गरेपछि रुपन्देही–११ विजयी भयो। डंगोल म्यान अफ द म्याच घोषित भए। तनावपूर्ण खेलमा पाँच जनाले पहेँलो कार्ड पाए। रुपन्देहीका ४ र प्रहरीका एकजनाले पहेँलो कार्ड पाए।

खेलाडीले अग्रता लिए पनि बचाउन नसक्दा पराजित भएको प्रहरीका प्रशिक्षक कुमार कटुवालले बताए। 'हाम्रो भन्दा समग्रमा रुपन्देहीले राम्रो खेल्यो, हाम्रा केहीले राम्रो खेले पनि सबैले राम्रो खेल्न सकेनन्,’ प्रहरीका प्रशिक्षक कटुवालले भने।

प्रहरीका रक्षकले आफ्नो क्षेत्रमा बल होल्ड गरेर खेल्दा फाउल भएर दुर्भाग्य भएको कटुवालको भनाइ छ। पाएको धेरै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हारेको प्रहरीका कप्तान जुमानु राईले बताए।

खेल अवधिभर पाएको दुई वटा राम्रा अवसरलाई गोलमा परिणत गर्न सक्नुले नै जित हासिल भएको रुपन्देहीका प्रशिक्षक दायाराम सापकोटाले बताए। कप्तान दिलिप क्षेत्रीले खेलाडीहरुले पहिलो दिनभन्दा मंगलबार मेहनत गरेर खेलेको बताए। बिहीबार उपाधिका लागि रुपन्देही–११ र संकटाका बीचमा खेल हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.