|

रोहन गुरुङ

 

बिहान करिब ११ बजे फोनको घण्टी बज्यो।

'हेलो...!'

एकजना मित्रले फोन गर्दै भने, 'जंगली भीर मह चाख्न पठाइदिएको छु, तल घरको गेटमा कसैलाई लिन पठाइदिनुस्।'

मैले 'धन्यवाद!' भन्दै फोन राखेँ।

एउटा डब्बामा कालो रंगको मह, बिर्को खोलेर हेरेँ,अनि कडा बास्ना सुँघ्दा मनमा स्वादको कौतुहलता बढ्यो। श्रीमती खाना लगाउदै थिइन्‌, त्यसैले खाना खाएर मह चाख्ने सोच बनाउँदै खानातिर लागियो।

दिउँसो ३ बजे बत्तीसपुतलीनेर एउटा मिटिङमा जानुपर्ने थियो। मिटिङमा सँगै जाने सल्लाह भएबमोजिम करिब डेढ बजेतिर महेश भाइ मेरो घरमा आइपुग्यो।

एकएक कप ब्ल्याक कफी पियौँ। अनि घरबाट निस्कन लागेको झल्याँस्स त्यो जंगली भीर मह सम्झिएँ। लकडाउनले अल्छि भएर शरीरमा बढेको बोसो काट्छ रे, जंगली मह चाखौँ भाइ भन्दै एक एक सानो चिया चम्चा मह तातो पानीमा राखेर एकएक कप दुबै जनाले पियौँ। भीर मौरीको मह धेरै खान हुँदैन भन्ने थाहा थियो।

बसुन्धराबाट नक्साल हुँदै गौशाला पुग्दै थियौं। मलाई पेट चिसो भएको महसुस भयो। केहीबेरपछि टाउको झुम्म हुँदै आयो। उकुसमुकुस हुँदै गाह्रो महसुस भएपछि महेशलाई गाडी गौशाला चोकबाट देब्रे चाबहिल तिर मोड्न लगाएँ। प्रेसर लो हुँदाजस्तो गाह्रो भयो।

महेशले गाडीको इमर्जेन्सी लाइट बाल्दै करिब पौने तीन बजे अस्पताल पुर्‍यायो। म मुस्किलले गाडीबाट झरेर अस्पतालको आकस्मिक कक्षमा पुगेँ र त्यहाँका स्वास्थकर्मीलाई मैले जंगली भीर मौरीको मह खाएको र मलाई गाह्रो भयो भनेर कुरा राखेँ।

स्वास्थकर्मीले 'तपाईंलाई एन्टी पोइजन डोज दिनुपर्ने देखिन्छ, ॐ अस्पताल वा टिचिङमा त्यो सुविधा छ त्यहाँ जानुस्' भन्ने सुझाव पाएँ। हतार गर्दै नजिकैको ॐ अस्पतालको इमर्जेन्सी कक्षमा पुग्यौं। नर्स र डाक्टरलाई सबै कुरा बताएपछि बेडमा सुतेँ। शरीर चिसो भएजस्तो र स्वासको गति घट्दै गइरहेको थियो।

मेरो हातको बुढी औँलामा मुटुको धडकन नाप्ने यन्त्र लगाइयो र इसीजी गर्ने काम शुरू भयो। मुटुको धडकन ४० मा झरिसकेको रहेछ। ३५ भन्दा तल झरे मुटुले नै काम गर्न छाड्ने रहेछ।

मेरो शरीरमा रहेको सबै नशा र मांसपेशी द्रूत गतिमा सल्बलाउन शुरू गर्दै थिए। म आत्तिइरहेको थिएँ। नर्स र डाक्टर मलाई केही हुँदैन भन्दै हौसला दिँदै थिए।
मेरो हातको नशाबाट औषधी दिन पीन घुसाउने कोशिस भइरहेको थियो। म लगभग अर्धचेतन अवस्थामा पुग्दै थिएँ।

​पल्स घट्दै थियो, मेरा शरीरका सबै भागमा झट्का लाग्ने र कम्पन हुन थाल्यो। अँध्यारो हुँदै गइरहेको थियो। मैले मेरो कूल, पितृ, नाग देवता लगायत सबै भगवान पुकारेँ। श्रीमती छोराहरू आमा, भाइ, दिदिबहिनी, कुटुम्ब लगायत सबै नातेदार सबै साथीभाइ सम्झेँ। धेरै टाढा कोही बोलिरहेको जस्तो लाग्थ्यो, म मृत्युको अन्तिम ढोकामा पुगेको जस्तो लाग्थ्यो। जीवनमा धेरै काम गरे जस्तो, केही काम अधुरै रहेजस्तो...

मानसपटलमा थुप्रै कुराहरू घुम्न थाले। यदी म फर्किन सकिन भने के होला ? जाबो एक चम्चा महले केही हुँदैन भन्दै म आफैंले आफैलाई हौसला दिँदै थिएँ, शरीरका नशा अनि मांसपेशी नियन्त्रण बाहिर गइसकेको थियो। 

नर्सको धेरै प्रयासपछि दाहिने नारीमा पीन घुसाउन सफल भएको रहेछ। स्लाइन पानी र एन्टी पोइजन दबाइ शरीरभित्र पस्न शुरू गरेछ। केही समयपछि जाडोले शरीर काँपिरहेको अनुभुति भयो। महेश भाइ छेउमा देखेँ, जाडो भयो भनेपछि नर्सले ३/४ वटा कम्मल ओढाइन्‌ र हिटर बालिदिइन्‌।

​मेरो मुटुको धडकन मोनिटर स्क्रीनमा ८५-८६ देखाउन थालेको रहेछ। सुगर र प्रेसर सबै डाउन भएको रिपोर्ट आइपुग्यो। औषधीहरू स्लाइन पानीसँग मिसिँदै शरीरभित्र पस्दै गए। करिब ६:३० बजेतिर छातीको एक्सरे गरेर राम्रै रिपोर्ट आयो। केही औषधी लिएर ७ बजेतिर डिस्चार्ज भएँ।

जंगली (भीर) मह धेरै खान हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि मैले ठूलो समस्या भोग्नु र मसँगै बराबर मह खाएको महेशलाई केही नहुनुको कारण मैले पछि थाहा पाएँ। मलाई त्यो महले एलर्जी गरेको रहेछ, तर महेशलाई गरेन।

त्यसैले जंगली (भीर) मह खाँदा ध्यान दिनुहोला। गाह्रो हुन साथ घरमा वा कतै नसुति तुरुन्त अस्पताल जानुहोस्। २६ माघ २०७७ को दिनमा मैले भोगेको घटना जनचेतनाका लागि शेयर गरेको हुँ।

सबैको माया र आशीर्वादले आजबाट तन्दुरुस्त छु। यो मेरो दु:खद अनुभवबाट तपाईंको परिवार र साथीभाइलाई पनि चेतना जगाउन लेखेको हुँ।

(सार्वजनिक हितको विषय भएकोले गुरुङको फेसबुकबाट साभार र सम्पादन गरिएको।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.