|

उदयपुर : पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने बैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र पर्यटकको आकर्षक स्थल बनेको छ। पुल आसपासमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। 

एसियाली विकास बैंकको सहयोगमा पाँच वर्षअघि निर्माण भएको पुल पुल हेर्न धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट सर्वसाधरणहरु आउने गरेका छन्। पुल वरपर आधा दर्जन स्तरीय होटल सञ्चालनमा रहेका छन् भने अन्य आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय नागरिकले यहाँका स्थानीय सरकारलाई आग्रह गरिरहेका छन्।

दैनिक करिब ५०/६० जना पर्यटक पुल हेर्नकै लागि मात्र यहाँ आउने गरेको स्थानीय व्यापारी शरद कोइरालाले बताए। आफ्ना कामले पूर्व–पश्चिम यात्रा गर्ने यात्रु पनि केही समय सवारीसाधन रोकेर तस्बिर खिच्ने र रमाउने गर्दछन्। पुल नजिक कोशी किनारमा वनभोज खानेको घुइँचो लाग्न थालेको कोइरालाले बताए।

पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालनमा छ। बोट बराहक्षेत्र, सिम्लेसम्म पुग्दछ। उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेट बोट चढ्न र वनभोज खान आउने गरेको कोइराला बताउँछन्। सामाजिक संघसंस्था, विद्यालय र साथीभाइ समूह बनाएर कोशी पुलमा वनभोज खान आउनेको संख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताए। वनभोज खानेको संख्या बढेपछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा शौचालय तथा अन्य आवश्यक न्यूनतम पूर्वाधार निर्माण गरिदिएको छ।

स्थानीयवासी मोहन खड्काका अनुसार शनिबार १०० भन्दा बढी समूह वनभोज खान आउने गरेका छन्। अन्य दिन दैनिक पाँचदेखि सात वटासम्म समूह वनभोज खान आउने गरेका छन्। वनभोज खान आउनेहरु बोट चढ्ने, कोशी नदीमा पौडी खेल्ने र नाचगान गरेर मनोरञ्जन लिइरहने मानिसको जमघट दिनप्रतिदिन बढ्दै गएको खड्काले बताए।

धरानबाट पारिवारिक वनभोजमा जानुभएकी इन्दु खड्काले कोशी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताइन्।

खानेपानी र फोहोर व्यवस्थापनको समस्या

दैनिक आन्तरिक पर्यटक वनभोज खान आउने गरे पनि वनभोज क्षेत्रमा खानेपानीको अभाव छ। खोलाको बगर भएका कारण बसेर खानेकुरा पकाउने, खानका लागि असुविधा हुने गरेको वनभोज आउनेहरुले बताएका छन्। 

जेट बोट पनि त्यही किनाराबाट लाग्ने भएकाले ती स्थानमा वनभोज खानेहरु बढेका हुन्। तर स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा वनभोज खानेहरुले दुःख व्यहोर्नु परिरहेको छ। यसमा स्थानीय तहको ध्यान पुग्नुपर्ने वनभोजमा सहभागीहरु बताउँछन्। स्थानीय सरकारको बेवास्ताले गर्दा वनभोजस्थल वरपर खाली पानीको बोतल, मदिराका बोतल, खानेकुराको फोहरको डङ्गुर हुन थालेको छ। 

ती फोहरको व्यवस्थापन हुन सकेको छैन। वनभोजमा आएर नाचगान गर्ने, फराकिलो ठाउँको अभाव छ। भिरालो जग्गा भएका कारण दुःखले वनभोज खाने गरेका छन्। बिजुलीको समेत व्यवस्थापन नहुँदा वनभोज आउनेहरुले वैकल्पिक व्यवस्था गर्नुपरेको छ।

वनभोजस्थलमा आकर्षक उद्यानसहितको डिपिआर तयार

बराहक्षेत्र गाउँपालिका–८ का वडाध्यक्ष जयकुमार राईका अनुसार प्रदेश सरकारको सहयोगमा कोशी पुलदेखि केहीमाथि सप्तकोशी किनारमा सुविधा सम्पन्न वनभोजस्थलको डिपिआर तयार गरिएको बताए। करिब ५० वटा सवारी अटाउने पार्किङ क्षेत्र, १०० वनभोजस्थल, सेल्फी स्टेशन, फिसिङ क्षेत्र, बोट चढ्न जाने बाटो, खानेपानीको व्यवस्थापनसहितको डिपिआर बनाएर प्रदेश सरकारलाई पठाइएको छ। आगामी वर्षको पर्यटन शीर्षकको बजेटबाट सबै निर्माण गरिने अध्यक्ष राईले जानकारी दिए। 

वनभोजमा आउनेका लागि जेट बोट आकर्षण

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ। हाल चारवटा कम्पनीले सातवटासम्म सानो ठूलो बोट सञ्चालन हुँदै आएको छ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सातवटा जेट बोटबाट कोशी पुलदेखि बराह क्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन्। करिब १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएका छन्। सोही बोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन्।

चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ। सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ। सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभर नै समय खर्चनुपर्ने हुन्छ। सिम्लेबाट धनकुटा सदरमुकाम, भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा गर्न सकिन्छ।

उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरामा पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने बैकल्पिक बाटो पनि खुलेको थियो। पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजरूपमै जोडिएका छन्। सोही सडकलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा विस्तार गरेको छ। 

बराह क्षेत्र दर्शनको अवसर 

यहाँ वनभोज खान आउनेहरु नेपालका चार ठूला धाममध्येको बराह धामको दर्शन गर्ने अवसर पाउने छन्। कोशी पुलबाट उत्तर करिब दुई किमी जेटबोटबाट पाँच मिनेटमा पुग्न सकिन्छ। सडक मार्गबाट चार किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ। त्यहाँ बराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ।

नेपालमा रहेका प्रशिद्ध चार धाम सप्तकोशी किनारमा रहेको बराह क्षेत्रधाम, बागमती नदी किनारमा रहेको पशुपित क्षेत्र, कालीगण्डकीको शिर मुक्ति क्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्र धाम धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिँदैं आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.