|

दमक : यस वर्षको कक्षा १० को माध्यमिक परीक्षा (एस.ई .ई) मा झापाबाट १५ हजार ६ सय २२ जना परीक्षार्थी सामेल हुँदै छन्। ३ चैत्र अर्थात् भोलिबाट सुरु हुने एस.ई .ई को सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ।

गत वर्षसम्म प्रवेशिका परीक्षाको रुपमा सञ्चालन हुँदै आएको सो परीक्षा परिवर्तित नियमावलीअनुसार एस.ई .ई को रुपमा पहिलो पटक सञ्चालन हुन लागेको हो। परीक्षाका लागि झापामा कुल ५३ वटा परीक्षा केन्द्र  तोकिएको जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले जानकारी दिए। जसका लागि १ हजार ५ सय ५९ जना कर्मचारी खटाइएको उनले बताए।

परीक्षामा झापाबाट नियमित विद्यार्थी, १४ हजार ९४ जना, एक्जाम्टेड ४ सय ८५ र ग्रेट वृद्धिका लागि १ हजार ४३ जनाले परीक्षामा सहभागिता जनाउने परीक्षा फाँटका प्रमुख उद्धव विष्टले जानकारी दिए।

झापाका सामुदायिक १ सय १२ र संस्थागत १ सय ९२ वटा विद्यालय गरी ३ सय ४ वटा विद्यालयका विद्यार्थीले भाग लिने सो परीक्षामा विशेष क्षमता भएका ७ जनाले पनि भाग लिनेछन्।

जसमा दृष्टिविहीन १ र सुस्तश्रवण भएका ६ जना विद्यार्थी परीक्षामा सामेल हुँदै छन्। संस्थागत विद्यालयभित्र एउटा भुटानी शरणार्थी शिविर दमकको विद्यालयका विद्यार्थीसमेत सामेल हुने बताइएको छ। यस पटकको परीक्षामा झापाबाट छात्रभन्दा छात्रा धेरै सहभागी हुँदै छन्। छात्रभन्दा ८ सय २८ जना छात्राहरु सहभागी हुने जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.