कोभिसिल्डको खोप पाउने सम्भावना बढ्यो
कोभिसिल्डको खोप पाउने सम्भावना बढ्यो
काठमाडौं : कोरोना भाइरस विरुद्धको ३ वटा खोप निर्माताले नेपालमा आपतकालीन प्रयोग अनुमति मागेका छन्।
औषधी व्यवस्था विभागका अनुसार हाल नेपालमा भारतको बायोटेक कम्पनीले उत्पादन गरेको कोभ्याक्सिन, रसियाले उत्पादन गरेको स्पुतनिक र चीनले उत्पादन गरेको सिनोफार्म खोप निर्माताले आपतकालिन प्रयोग गर्न नेपाल सरकारसँग अनुमति मागेका हुन्।
विभागका निर्देशक भरत भट्टराईका अनुसार हाल यी ३ वटै खोप निर्माताले आवश्यक कागजात पेश गरिसकेका छन्। उनले भने, ‘हामीसँग हाल भारत बायोटेकको कोभ्याक्सिन, रसियन स्पुतनिक र चीनको सिनोफार्म खोप निर्माताले प्रयोग निम्ति अनुमति मागिरहेका छन, उनीहरूले पेश गरेका कागजातहरू अध्ययन गरिरहेका छौँ।'
हाल नेपालमा अक्सफोर्ड–एस्ट्राजेनेकाले उत्पादन गरेको र भारतको सेरम कम्पनीले बनाएको कोभिसिल्ड खोपले मात्रै आपतकालिन प्रयोग अनुमति पाएको छ।
आपतकालिन प्रयोग अनुमति पाएपछि माघको पहिलो हप्ता भारतले कोभिसिल्ड खोप १० लाख भाइल अनुदानमा दिएको थियो। सो खोप उपलब्ध भएसँगै नेपालमा गत माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान थालिएको हो।
चीन सरकारले पनि नेपाललाई माघ २४ गते कोभिड विरुद्धको ५ लाख डोज खोप प्रदान गर्ने घोषणा गरेको थियो। यो घोषणा गरेसँगै काठमाडौंस्थित चीनियाँ दूतावासले कोरोनाविरुद्धको खोप सिनोफार्म नेपालमा आपतकालीन प्रयोग निम्ति अनुमति मागेको हो। केही दिनमै चीनले दिने खोप नेपालमा आउने हुँदा छिट्टै आपतकालीन प्रयोगका लागि स्वीकृति दिन दूतावासले औषधि व्यवस्था विभागलाई पत्राचार गरेको छ।
विभागका अनुसार हाल सिनोफार्मको खोप आपतकालीन प्रयोग गर्न अनुमति माग्दै केही कागजात पेश गरिसकेको छ भने केही आउने प्रकृयामा रहेको र सो पूरा भएमा आपतकालिन प्रयोग निम्ति अनुमति दिने जनाइएको छ।
कोभ्याक्स खोप पाउने सम्भावना बढ्यो
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालिन प्रयोगका लागि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपका २ वटा संस्करणलाई सूचीकृत गरेसँगै नेपालमा पनि कोभ्याक्स अन्तर्गत कोभिसिल्ड खोप नै आउने सम्भावना बढेको छ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपहरू एसकेबायो (दक्षिण कोरिया) र सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गर्दै आएका छन्। सेरममा उत्पादित कोभिडविरुद्ध खोप कोभिसिल्ड अहिले नेपालमा समेत प्रयोग हुँदै आइरहेको छ।
डब्लुएचओको स्वीकृतिसँगै ती खोपहरू अब कोभ्याक्स फेसिलिटीअन्तर्गत संसारका विभिन्न देशहरूमा समेत पठाउने बाटो खुलेपछि सेरमले उत्पादन गरेको कोभिसिल्ड नै आउने सम्भावना बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार हाल नेपालमा प्रयोग भइरहेको र ल्याउन समेत सजिलो हुने हुँदा अब कोभ्याक्सबाट आउने खोपमा पनि कोभिसिल्ड नै आउने सम्भावना रहेको बताए। उनले भने, ‘विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगका लागि अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपका २ वटा संस्करणलाई सूचीकृत गरेको छ, अब यो खोप धेरै उत्पादन हुन्छ होला, हाम्रोमा पनि अहिले यही खोप प्रयोग भइरहेको छ, जसले गर्दा अब कोभ्याक्स सुविधाबाट पनि कोभिसिल्ड नै आउँछ होला।‘
यता अक्सफोर्ड–एस्ट्राजेनेकाले भारत र दक्षिण कोरियामा उत्पादन गरेका दुवै खोपको प्रभावकारिता अध्ययनपछि दुवै संस्करणलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरेको हो। यो सँगै अब डब्ल्युएचओको कोभ्याक्स कार्यक्रम पनि कार्यान्वयनमा आउने भएको छ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस टेड्रोस गिब्रियसिसले छिटो र न्यायसंगत वितरणका लागि अनुमति प्राप्त खोपको उत्पादन पनि वृद्धि गर्नुपर्ने बताएका छन्।
आपतकालीन प्रयोगको सूचीमा समावेश भएपछि यो खोप कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वभर वितरणको बाटो पनि खुलेको डब्ल्युएचओले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।