|

काठमाडौं : आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। यस दिनलाई स–साना बालबालिकाको अक्षरारम्भ गर्ने शुभ साइतको रुपमा पनि लिइन्छ। आजको दिन कतिपय निजी विद्यालयले निःशुल्क भर्ना अभियान चलाएका हुन्छन्।

सुरुमा विद्यालय विद्यार्थी संख्या बढाउन केन्द्रित हुन्छन। तर, माथिल्लो तहमा पुग्दै गर्दा पढाइ छोड्ने विद्यार्थीको खोजी कार्य हुँदैन। जसका कारण जति माथिल्लो तहमा पुग्दै गर्छन्, पढाइ छोड्ने विद्यार्थीको प्रवृत्ति बढ्दो छ। 

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाका अनुसार हरेक वर्ष १० लाख विद्यार्थी भर्ना भएका हुन्छन्। तर, कक्षा १० सम्म पुग्दा चार/पाँच लाख मात्रै विद्यार्थीले एसइई  परीक्षा दिएको सरकारी तथ्यांक छ। बीचमा भर्ना भएका संख्याको आधा नै विद्यार्थीले अध्ययन नै छोड्ने गरेका छन्।

‘गरिबी र समाज चेतनशील नहुँदा विद्यार्थी संख्या घटे’

भर्ना भएका विद्यार्थीहरू अध्ययनबाट टाढा हुनुको कारण मुख्य त गरिबी रहेको शिक्षाविद् कोइराला बताउँछन्। उनले भने, ‘सुरुमा विद्यालयमा धेरै विद्यार्थी भर्ना भएका हुन्छन्। तर, गरिबी,चेतनशील समाज नहुँदा, शिक्षा प्रणाली राम्रो नहुँदा विद्यार्थीहरू स्कुल छोड्दै जान्छन्।’

उनका अनुसार अहिले पनि समाजमा पढेर के हुन्छ भन्ने धारणा छ। समाजले नै विद्यार्थी पढ्नमा हाैसला दिएका हुँदैनन्। जसले झनै विद्यार्थीको मानसिकतामा पढाइको महत्व नहुने रहेछ भन्ने भ्रम पैदा हुन्छ।

भाषिक समस्याले पनि विद्यार्थी पढाइ छोड्छन्, ’उनले भने, ‘अहिले सीपको आवश्यकता हुन्छ। त्यही सीप विद्यार्थी खोज्छन्। तर,शिक्षकले सीप सिकाएका हुँदैनन्। सैद्धान्तिक कुराहरू मात्रै सिकाउँछन्। विद्यालयले विद्यार्थीलाई पढाइमा टिकाउन सीप पनि दिनुपर्छ।’

सरकारले विद्यार्थीको हौसला,उजार ल्याउने खालका कार्यक्रम सञ्चालन गरेमा विद्यार्थी दर नघट्ने उनको बुझाइ छ। उनले भने, ‘स्थानीय सरकारले विद्यार्थीलाई स्कुलमा जान मन दिनको लागि पाँच/दश रुपैयाँ दिने व्यवस्था गर्नुपर्छ। शिक्षकको भूमिका पनि राम्रो हुनुपर्छ। माया, ममतासँगै विद्यार्थीले घरमा पढेका कुराहरूलाई पनि स्कुलमा जोड दिनुपर्छ। बालबालिकालाई मनोरञ्जनको वातावरण पनि दिँदा पढाइमा आकर्षित हुन्छन्।’

उनका अनुसार बीचमै छाेड्ने विद्यार्थीहरू कुनै विदेश पलायन भएका छन भने कुनै बेराेजगार भएर बसेका छन्।

यसो भन्छन् अभिभावक

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले गरिबीसँगै सरकारले विद्यार्थीलाई पढाउन आकर्षक दिन नसकेका कारण पढ्ने विद्यार्थी संख्या घट्दै जाने गरेको बताउँछन्। उनले भने, ‘यो नेपालको रोग नै बनेको छ। सरकारले ल्याएको भर्ना अभियान, दिवा खाजालगायत कार्यक्रम दिगो हुन नसक्दा विद्यार्थीले पढाइ छोड्ने गरेका छन्।’

उनका अनुसार १४ वर्ष अगाडि हरेक वर्ष १४ लाख विद्यार्थी भर्ना हुन्थे। तर, अहिले  भर्ना संख्या दर नै घटेर ९/१० लाखको हाराहारीमा आइपुगेको छ। ‘कक्षा १ देखि २ मा जाँदा १३ प्रतिशत विद्यार्थी घट्छन’, उनले भने, ‘१ देखि ५ मा जाँदा १५ प्रतिशत विद्यार्थी घटेका हुन्छ।’

स्कुलसम्म विद्यार्थीे पुग्ने वातावरण दिनमा अभिभावकको समेत ठूलो हात हुन्छ। अभिभावकको भूमिकामा भण्डारी भन्छन्,‘सबै अभिभावकको इच्छा नै छोराछोरी पढून्। पछि राम्रो जागिर खाउन भन्ने हुन्छ। छोराछोरीकै लागि अभिभावक दिन रात खटिन्छन्। सक्दो पढाइको लागि दुःख गरिरहेका हुन्छौँँ। तर, कतिपय अभिभावक गरिबीका कारण इँटाभट्टामा काम गर्छन्। त्यही छोराछोरी पनि काम गराउँछन्।’

आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अभिभावकलाई स्थानीय तहले निःशुल्क व्यवस्था गर्नुपर्ने उनी माग गर्छन्। ‘सरकारले दिवा खाजा, स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्छ। कक्षा १ देखि १२ कक्षा सम्म नै टोली खटाएर चेतना दिँदै खोजी खोजी विद्यार्थीलाई पढाउन लगाउनुपर्छ। अनुगमन गर्नुपर्छ। नपढ्नुको कारण खोजी त्यसको उपचार गरिनुपर्छ। यसो गरेमा ९९ प्रतिशत विद्यार्थी पढाई छोड्दैनन्,’ उनले भने।

सरकार भन्छ – विद्यार्थीलाई पढाइमा केन्द्रित गराउन कार्यक्रम चलाइरहेका छौँ

यता,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यार्थीलाई पढाइमा ध्यानकेन्द्रित गराउन विभिन्न चेतनामूलक कार्यक्रमहरू चलाउँदै आएको दाबी गर्छन्।

‘सरकारले भर्ना अभियान, दिवा खाजा, भत्तालगायत विभिन्न अभिभावकमाझ चेतनामूलक कार्यक्रम चलाइरहेको हुन्छ,’उनले भने,‘स्थानीय तहलाई पनि ती कार्यहरू निरन्तर अगाडी बढाउन निर्देशन दिइरहेका हुन्छौँ। भावी योजनाबारे पनि मन्त्रालयले योजना ल्याउन छलफल चलाइरहेको छ।’ 

सरकारले यस्ता कार्यक्रमहरू चलाइरहँदा पनि विद्यार्थीको पढ्ने मानसिकता नभएको,अभिभावकबाट पढाइएमा ध्यान दिन सल्लाह सुझाव नदिँदा पढ्ने विद्यार्थी संख्या घट्दै जाने गरेको उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.