९ वर्षदेखि बेपत्ता छाेरो भेटिएको खुसीसँगै मृत्युको खबर

|
विदेशमा मृत्यु भएका जयबहादुर राई

दमक : भएका दुवै छोराको मृत्यु हुँदा वृद्ध बाबु–आमालाई कस्तो लाग्ला? यो कल्पनै गर्न नसकिने विषय हो तर, यस्तै भएको छ, इलाम बाँझो– ९ मजुवाका एक वृद्ध दम्पतीलाई।

३२ वर्षे कान्छो छोराको मृत्युले बुद्धिबहादुर राईको परिवार शोकमा डुबेको थियो। घटना भएको करिब डेढ महिनापछि ९ वर्षदेखि बेपत्ता जेठो छोरा विदेशमा भेटिएको खबरले परिवारमा केही आशा जगायो। एउटा सन्तान बिते पनि बूढेसकाल सहारा अर्को त छँदै छ भनेर मन बुझाउँदै गरेको अवस्थामा भोलिपल्टै उसको पनि मृत्युको खबर आयो।

राई परिवारमा एउटा अर्को पीडा थपिएपछि उनीहरू अहिले ठूलो शोकमा छन्। ४२ वर्षे जेठो छोरा जयबहादुर राई हराएको ९ वर्ष बितिसकेको थियो। एक्कासि विदेशी भूमि ओमनमा रहेका जयको मृत्युको खबर सुन्दा राईको परिवारमा ठूलो बज्रपात परेको छ।

भएका दुवै सहारा नै नरहेपछि बुढेसकालमा बाबु–आमालाई जीवनयापन गर्न कति गाह्रो हुन्छ? सोच्न पनि पीडा महसुस हुन्छ। कान्छा छोराको मृत्यु भएको डेढ महिनामा जेठा छोराको समेत मृत्यु हुँदा सो परिवारमा परेको बज्रपातले छरछिमेकी पनि शोकाकुल बनेका छन्। राई दम्पतीका कान्छा छोरा ३२ वर्षे सन्देश राईको डेढ महिनाअघि मुटुको रोगले मृत्यु भएको थियो।

बुद्धिले भने, ‘९ वर्षअगाडि बुबा मेरो नागरिकता पठाइदिनु म काठमाडौंमा छु, मलाई नागरिकता चाहिने भयो भनेर जेठो छोरोले फोनमा बोलेको मात्र याद छ, त्यसपछि बेपत्ता भएको छोरो ओमनमा छ भन्ने थाहा पाएको भोलिपल्टै मृत्यु भएको खबर सुनेँ।’

कान्छो छोराको मृत्युको आँसु सुक्न नपाउँदै जेठो छोराको मृत्युको खबरले  ६२ वर्षे वृद्ध राईलाई सर्वश्व गुमेको महसुस भएकाे छ। बुढेसकालका सहारा २ छोराकै मृत्यु भएपछि बाँच्ने आशा मरेर गएको उनले बताए। लामो समयदेखि छोरा बाहिर बाहिरै बस्ने गरेकोले घरमा पैसा नपठाउने गरेको उनले बताए।

५९ वर्षीया आमा बुद्धिमाया राई भने एकपछि अर्को गरेर छोराहरूको मृत्युका कारण विक्षिप्त बनेकी छन्। कान्छा छोरा सन्देशको काजक्रियाको काम पनि नसकिँदै यस्तो घटना सुन्दा गाउँ नै शोकमा डुबेको स्थानीय जसमान राईले बताए। ‘हामी त कपुरथान बनाएर चिल्याउने काम गरिरहेका थियौँ, यस्तो घटना सुन्दा पत्याउनै गाह्रो भयो’, उनले भने।

मृतक राईकी जेठी श्रीमती भने लामो समयसम्म श्रीमान् नआएपछि अर्कैसँग घरजम गरेर बसेकी छन्। उदयपुर बस्दै आएकी राईकी कान्छी श्रीमती चुनमाया राईलाई पनि श्रीमानको अत्तोपत्तो थिएन।

एक्कासि मृत्युको खबर सुन्दा आफूलाई सपना जस्तो लागिरहेको उनले बताइन्। लामै समयदेखि श्रीमान् आफ्नो साथमा नभए पनि उनका साथमा छोरीहरू बस्दै आएको उनले बताइन्।

बुद्धिमायाको पनि मुटुको समस्या रहेको छिमेकी दिलु राईले बताए। राईले भने, ‘आमाकै लागि महिनाको २०/२५ हजार रुपैयाँ खर्च हुन्छ, आर्थिक अवस्था पनि एकदमै कमजोर छ।’ आमा र कान्छो छोरा मुटुको रोगी भएकोले उपचारका लागि धेरै खर्च भइसकेको बुद्धिबहादुर बताउँछन्। उनले भने, ‘भएको घर खेत बेचेर अहिलेसम्म उपचार गरेँ, अब केही छैन, कसरी श्रीमतीको उपचार गर्ने समस्यामा परेँ।’ झापाको दमक आइपुगेका राईले थाहा खबरसँग कुरा गर्दै सबैसँग सहयोगको याचना गरे।

कान्छो छोरा सन्देश सानैदेखि मुटुको समस्याले ग्रस्त रहेको र उनको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेढ महिनाअघि मृत्यु भएको थियो।

प्रवासी महिला समूह ओमनकी सचिव उमा आचार्यको पहलमा परिवारले जेठो छोराको मृत्युको खबर सुनेको थियो। मृत्यु भएको तीन/चार दिन बित्दा पनि परिवारको सम्पर्क नभएकोले सोधीखोजी गरी सम्पर्क स्थापित गराउन सहयोग गरेको उनले बताइन्। आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि आचार्यले परिवारका लागि सहयोग जुटाउन प्रवासी नेपालीहरूलाई आग्रहसमेत गरेकी छन्।

शव ल्याउनका लागि दूतावासमा पहल गरिरहेको समेत उनले बताइन्। ओमनको मस्कटमा काम गरिरहेका राईको सुतेकै ठाउँमा मृत्यु भएको उनले बताइन्। मृतक राईका तीन छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.