|

बर्दिया : पछिल्लो केही समययता बर्दियामा वन्यजन्तुमैत्री संरचना निर्माणबारे चर्चा चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन र वन्यजन्तुसँग जोडिएका जुनसुकै सभा-सम्मेलन तथा गोष्ठीहरूमा संरक्षणकर्मीहरूले वन्यजन्तुमैत्री संरचनाकै कुरा गरिरहेका हुन्छन्‌। 

पाटे बाघ, जंगली हात्ती, गैँडा, चित्तल लगायत वन्यजन्तुहरू ओहोरदोहोर गर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गमा वन्यजन्तुमैत्री सडक तत्काल बनाउन संरक्षणकर्मीहरूले पटक-पटक माग समेत गर्ने गरेका छन्। 

केही दिन पहिलेमात्रै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण विषयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सडक दुर्घटनामा मानिस र वन्यजन्तु मारिने समस्या हुने गरेको भन्दै वन्यजन्तुमैत्री सडक निर्माणको विषय संरक्षणकर्मीहरूले फेरि उठाए। 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया निकुञ्जको कर्णाली चिसापानीदेखि अम्रेनीपोष्टर रम्मापुरदेखि सैनवार पोष्टसम्मको राजमार्ग क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र तत्कालका लागि निकुञ्जभित्रका राजमार्ग किनारको झाडी सफा गर्नुपर्ने उनीहरूले माग गरे।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हुमबहादुर एसी, हुलाकी सडक आयोजना नेपालगञ्जका प्रमुख गगल भण्डारी लगायत बर्दियाका संरक्षणकर्मीहरूले निकुञ्जभित्र पर्ने राजमार्ग अनुगमनसमेत गरे।

निकुञ्जमा संख्या बढेसँगै बासस्थानमा बाधा पुगेका कारण वन्यजन्तु आक्रामक बन्न थालेको हुनसक्ने संरक्षणकर्मीहरू बताउँछन्। मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्न नदिई सह-अस्तित्व कायम राख्न निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा र संरक्षित जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा वन्यजन्तुमैत्री सडक बनाउनुपर्ने संरक्षणकर्मीको भनाइ छ।

पाटे बाघ लगायतका वन्यजन्तुले आक्रमण गर्ने क्रम बढ्न थालेपछि क्षति कम गर्न दिगो व्यवस्थापनका लागि सरकारले वैकल्पिक उपाय खोज्नुपर्ने वा तत्काल वन्यजन्तुमैत्री संरचना बनाउन जरूरी रहेको बर्दिया निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.