|

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन उपाध्यक्ष पीताम्बर तिम्सिना र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालले राखेपमा १ सय ३५ नम्बरमा मोडर्न पेन्टाथलन खेल संघ दर्ता गरेको पनि एक वर्ष नाघिसकेको छ। त्यसपछि नेपाल कुराँस संघ, नेपाल रिङ रेस्लिङ संघ जस्ता खेल संघ दर्ता गरिएको छ। कार्यकाल सकिन केही महिना मात्र बाँकी रहँदा उपाध्यक्ष तिम्सिनाले आफ्नै अध्यक्षतामा सो संघ दर्ता गरेका थिए। तिम्सिना एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। एमालेका तिम्सिना र माओवादी केन्द्रका प्रकाशबीचको यो गठबन्धनले खेलकुदमा नयाँ तरङ्ग ल्याएको थियो।

राष्ट्रिय प्रतियोगिताको आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, प्राविधिक जनशक्ति उत्पादन र साधारणसभा जस्ता नियमित कार्य पनि धेरै संघले गर्दैनन्। र पनि राखेपमा राष्ट्रिय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सहभागिता जनाएको भन्दै रकम लिन पनि पछि पर्दैनन्।

संघ दर्ताले ल्याएको तरङ्गसँगै राखेपका पदाधिकारीहरू खेल संघमा आवद्ध हुने क्रम बढेको छ। तिम्सिना नेपाल ब्याडमिन्टन संघका उपाध्यक्षसमेत हुन्। राखेपमा दर्ता भएका डेढ सय संघमध्ये धेरै संघहरूले अझै पनि कुनै राष्ट्रियस्तरको प्रतियोगिता हालसम्म पनि आयोजना गरेका छैनन्। राष्ट्रिय प्रतियोगिताको आयोजना, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, प्राविधिक जनशक्ति उत्पादन र साधारणसभा जस्ता नियमित कार्य पनि धेरै संघले गर्दैनन्। र पनि राखेपमा राष्ट्रिय प्रतियोगिता तथा अन्तर्राष्ट्रिय सहभागिता जनाएको भन्दै रकम लिन पनि पछि पर्दैनन्।

महालेखा परीक्षकको प्रतिवेदनमा राखेपका पदाधिकारी कुनै पनि राष्ट्रिय खेलकुद संघमा बस्न नपाउने उल्लेख छ। तर, महालेखाको प्रतिवेदनलाई लत्याउँदै राखेपका उच्च पदाधिकारी नै विभिन्न संघको उच्च पदमा आसीन छन्। राखेपका उपाध्यक्ष, सदस्य-सचिवदेखि सदस्यसम्मका पदाधिकारीले राष्ट्रिय संघमा कब्जा जमाउने क्रम बढ्दो छ। राखेपमा उपाध्यक्ष लामा टेण्डी शेर्पा नेपाल बास्केट बल संघका अध्यक्ष हुन्। त्यस्तै शेर्पा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका महासचिव पनि हुन्।

त्यस्तै, राखेपका सदस्य सचिव केशवकुमार विष्ट सेपाकताक्रो उपाध्यक्ष हुन्। राष्ट्रिय संघलाई नियमन गर्न पदाधिकारीको मुख्य भूमिका रहन्छ। नियमनकारी निकाय नै संघमा रहँदा स्वार्थ बाझिने देखिन्छ। पदाधिकारी संघमा बस्दा स्वार्थ बाझिने भएकाले महालेखाको प्रतिवेदनमा सो सुझाव दिइएको हो। केही वर्र्ष अगाडिदेखि राखेप बोर्डले आफ्ना कर्मचारीलाई खेल संघको अध्यक्ष र महासचिव पदमा उठ्न र बस्न नपाउने निर्णय गरे पनि सोसम्बन्धमा बोर्डका पदाधिकारीबारे भने कुनै निर्णय गरिएको थिएन। किनभने राखेपको विधानमा बोर्ड सदस्य हुन कुनै पनि खेल संघको पदाधिकारी वा सदस्य हुनुपर्ने बाध्यता रहेको छ। तर, राखेपमा आबद्ध रहेकै संघमा राखेपबाट नै प्रतिनिधि पठाउने विधानमा रहेको छ।

त्यस्तै राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल नेपाल भारत्तोलन संघका उपाध्यक्ष हुन्। राखेपको पदाधिकारीमा बस्दा संघको गतिविधिमा कुनै बाधा नपर्ने हमाल बताउँछन्। राखेपको बोर्ड बैठकमा आफ्नो संघलाई केही लाभ हुने कुरा भने उनी नकार्दैनन्। तर, बोर्ड सदस्यमा आइसकेपछि सबै संघहरूलाई समान दृष्टिकोण राख्नुपर्ने उनको भनाइ रहेको छ। तर, कुनै राष्ट्रिय प्रतियोगिताहरू नगरेका संघलाई कारबाही गर्नुपर्नेमा उनको जोड छ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीमा रहेका संघहरू संघको विधानअनुसार नचलेको भनिरहँदा राखेपबाट मान्यताप्राप्त कतिपय संघहरूले पनि साधारणसभा गर्न सकेका छैनन्।

साढे पाँच वर्षअघि राखेपमा सदस्य–सचिव युवराज लामाको नेतृत्व आएपछि यसअघि निष्क्रिय रहेको भन्दै तत्कालीन सदस्यसचिव लामाले पुरानो संघ विघटन गरी १८ बैशाख २०६९ सालमा आफ्नै अध्यक्षतामा इक्वेस्टेरियन (घोडचढी) संघको तदर्थ समिति बनाए। अहिले उनी पहिलो पटक बनाइएको पर्वतीय खेलकुद महासंघको निर्वाचित अध्यक्षसमेत भइसकेका छन्। इक्वेस्टेरियन संघको पनि अध्यक्ष भएका छन्। बढीमा एक वर्षभित्र तदर्थ समितिको निर्वाचन हुनुपर्ने भए पनि राखेपमा दर्ता भएका कतिपय संघहरूले निर्वाचन गरेका छैनन्। त्यतातिर भने राखेपको ध्यानाकृष्ट भएको पाइँदैन।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीमा रहेका संघहरू संघको विधानअनुसार नचलेको भनिरहँदा राखेपबाट मान्यताप्राप्त कतिपय संघहरूले पनि साधारणसभा गर्न सकेका छैनन्। यसरी साधारणसभासमेत नगरेको भन्दै गत वर्ष मात्रै राखेपको बोर्ड बैठकबाट सातवटा संघको दर्ता खारेज गरिएको थियो। तर, खारेज गरेको एक वर्ष नहुँदै तिनै संघहरूलाई पुनः राखेपमा दर्ता गरिएको छ। कारबाही गर्दा प्रचार प्रसार गर्ने तर दर्ताचाहिँ गुपचुपमा नै गर्ने राखेपको पहिलेदेखिकै काम हो। चार वर्र्षको कार्यकाल रहने राखेप बोर्डमा आइसकेपछि पदाधिकारीहरू विभिन्न संघमा प्रवेश गर्न लालायित देखिने गरेका छन्। संघ विघटन, नयाँ संघ दर्ता, मनोनयन जस्ता कारण राखेप पदाधिकारीका लागि खेल संघमा प्रवेश गर्ने माध्यम हुने गरेको छ। राखेपका पदाधिकारी नै संघमा रहेकाले यस्तो भएको सहजै बुझ्न सकिन्छ।

यस्तै राखेपका तत्कालीन कोषाध्यक्ष ईन्द्रबहादुर थिङ पनि उसु संघमा उपाध्यक्ष छन्। थिङ उसु संघमा मनोनीत भएर पछि उपाध्यक्ष बनेका हुन्। तर, अहिले राखेपले उसु संघलाई विघटन गर्दै आङदेण्डी शेर्पाको नेतृत्वमा निर्वाचन गर्न गठन गरिएको थियो। तर, तीन महिनाभित्र निर्वाचन गर्नु भन्ने कार्यादेश पाएको उसु संघमा राखेपकै कारण निर्वाचन हुन सकिरहेको छैन। थिङ नेपाल पन्केक सिलात मार्सल आर्ट संघका उपाध्यक्ष पनि हुन्।

एथलेटिक्स संघ विघटन भएपछि बनाइएको तदर्थ समितिमा प्रवेश गरेका जुडोका पूर्व खेलाडी मानबहादुर न्यौपानेपछि सोही संघमा निर्वाचित उपाध्यक्ष बने। उनी पर्वतीय खेलकुद महासंघमा पनि उपाध्यक्ष छन्। निष्क्रिय रहेको भन्दै पुनर्गठन गरिएको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघमा उनी तदर्थ समिति हुँदै पछि निर्वाचित अध्यक्ष बनेका हुन्।

यसैगरी आफ्नै अध्यक्षतामा रामकृष्ण बानियाँले डान्स स्पोर्टस् संघ र नेपाल पन्केक सिलात मार्सल आर्ट संघ दर्ता गरेका छन्। बानियाँ पूर्व तेक्वान्दो खेलाडी हुन्। नेपाल रेन्बुकाई संघ पनि पुनर्गठन गरिएको हो।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक महर्जनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू नगर्ने तर, संघमा बसिरहने, उचित हुँदै होइन।’ त्यसरी कुनै प्रतियोगिता नहुँदा खेलाडीको खेल जीवनलाई नै असर गर्ने उनले बताए। कुनै प्रतियोगिता नगरी संघमा आबद्ध हुनेहरूको बाहुल्य राखेपमा भएको उल्लेख गर्दै उनले त्यस्ता संघलाई सम्बन्धित निकायले जतिसक्दो चाँडो निलम्बन गर्नु उचित हुने बताए।

राखेपका पूर्व सदस्यसचिव जीवनराम श्रेष्ठ आफ्नै कार्यकालमा जुडो संघमा प्रवेश गरेर पछि ओलम्पिक कमिटीमा भित्रिए। हाल नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका जीवनरामले राखेप सदस्य-सचिव हुँदा नै आफ्नो अध्यक्षतामा नेपाल स्की संघ दर्ता गरेका थिए। जीवनराम सदस्य-सचिव हुँदा पनि राखेपका थुप्रै पदाधिकारी संघमा छिरेका थिए। त्यतिबेला नै राखेपका पूर्व सदस्य पुरेन्द्रविक्रम लाखे कराँते महासंघमा अध्यक्ष भए। उपाध्यक्ष सीताराम मास्के भारोत्तोलन संघ, राजु श्रेष्ठ जुडो संघमा प्रवेश गरेका हुन्।

राखेप पदाधिकारीका लागि संघ विघटन गर्दै संघ प्रवेश गर्ने सुन्दर अवसर बन्ने गरेको छ। पदाधिकारी वा राखेपको चासोले होस् वा संघको लापरवाहीले, प्रायः संघ एक न एकपटक पुनर्गठन गर्नुपरेको इतिहास छ।

यसैगरी कबड्डी संघमा विवाद भएपछि ११औँ सागलगत्तै त्यसलाई विघटन गरेर तदर्थ समिति बनाउँदा राखेपका तत्कालीन सदस्य लालबहादुर लामा अध्यक्ष भएका थिए। त्यसपछि उनी निर्वाचित रुपमै सो संघको अध्यक्ष बन्न सफल भए। अहिले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापालाई नियुक्त गरिएको छ। लालबहादुर सोतोकान कराँते संघ (जेएसकेए) मा पनि वरिष्ठ उपाध्यक्ष छन्। हरिबाबुकै पालामा दर्ता भएको नेपाल कर्लिङ संघमा पनि उनी उपाध्यक्ष छन्। यसैगरी नेपाल पौडी संघ पनि विवादमा आएपछि त्यसलाई विघटन गर्दै तत्कालीन सदस्य समिम मिया अन्सारीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो।

राखेप पदाधिकारीका लागि संघ विघटन गर्दै संघ प्रवेश गर्ने सुन्दर अवसर बन्ने गरेको छ। पदाधिकारी वा राखेपको चासोले होस् वा संघको लापरवाहीले, प्रायः संघ एक न एकपटक पुनर्गठन गर्नुपरेको इतिहास छ। कुस्ती संघ हालसम्म चार पटक, जुडो संघ दुई पटक, जिम्न्यास्टिक संघ चार पटक, सुटिङ संघ तीन पटक, बक्सिङ संघ तीन पटक, लनटेनिस संघ दुई पटक, एथलेटिक्स संघ तीन पटक, टेबुल टेनिस संघ दुई पटक र क्रिकेट संघ पाँचपटक पुनर्गठन भएका छन्।

सक्रियताको सन्दर्भ खोज्ने हो भने दिनहुँ प्रशिक्षण भइरहने मार्सल आर्ट्सका विभिन्न विधाका गरी राखेपमा तीन दर्जन भन्दा बढी संघ दर्ता छन्। तीमध्ये तेक्वान्दो, सितेरियो कराँते, सोतोकान, गोजुरियो, वादोकाई, क्योकुसिन, बक्सिङ आदिका विभिन्न स्तरका प्रतियोगिता निरन्तर भइरहेका देखिन्छन्। तर, दर्ता भएका त्यतिका संघमध्ये कुन संघले वार्षिक कार्यक्रम गर्यो र कसले वर्षभरिमा कतिवटा प्रतियोगिता आयोजना गर्यो भन्ने कुरा सम्बन्धित संघमा बसेका खास व्यक्तिबाहेक अन्यलाई थाहा हुँदैन।

लाठी संघ, स्की संघ, रग्बी संघ, जोरखाने संघ, खो खो संघ, इक्वेस्ट्रियन संघ, बेसबल संघ आदिसमेत केही यस्ता संघ छन्, जो न कहिल्यै सक्रिय हुन्छन्, न त कहिल्यै कुनै सार्वजनिक कार्यक्रम गर्छन् र न कहिल्यै आफ्नो संघमा के कति संख्यामा खेलाडी छन् भनेर नै बेलीविस्तार लाउँछन्। कतिपय संघको त नाम पनि आमखेलप्रेमीलाई थाहा छैन।

प्रशस्त मात्रामा हिउँ भएको ठाउँमा खेलिने स्की खेल्ने सर्किट नेपालमा पाइनु अथवा बनाउन सक्नु दुर्लभ जस्तो कुरा हो। त्यस्तै, आइस हक्की संघको त युवा तथा खेलकुद मन्त्रालयले पाउने बजेट नै पाए पनि खेल मैदान बनाउन सक्ने अवस्था छैन। इक्वेस्ट्रियन जस्तो शक्तिशाली एवं अति प्रशिक्षित उच्चकोटिका घोडाको व्यवस्थापन गरेर मात्र खेल्न सम्भव हुनसक्ने खेलको संघ गठन आफूलाई खेल क्षेत्रमा संलग्न गराइराख्ने खास उद्देश्यले गरेर दुनियाँ हँसाउने काम मात्र भएको बुझ्न त्यति असहज छैन।

स्की अथवा इक्वेस्ट्रियन खेल्न सक्ने कति जना खेलाडी छन् नेपालमा ? रग्बी वा जोरखाने वा खो खो समेत अनेक नामधारी संघअनुरुप खेल्न जान्ने के कति खेलाडी छन् यहाँ ? यस्तो लेखाजोखा कसैले राखेको छैन। स्वयं राखेपले नै पनि यससम्बन्धमा कुनै अनुगमन गरेको छैन।

कुस्ती र एथलेटिक्स जस्ता नियमित इभेन्ट भइरहने संघहरूले आफ्नो पहलमा कुनै उल्लेखनीय प्रतियोगिता आयोजना नगरेको पनि धेरै भइसकेको छ। यस्तोमा आमसञ्चार माध्यमहरूलाई आधार मानेर हेर्दा बरु विद्यालयहरूले खासगरी सहरी क्षेत्रमा खेलकुदको झन्डा उचालिरहेको भान हुन्छ। विद्यालयस्तरमा बास्केटबल, फुटबल, भलिबल, टेनिस, टेबल टेनिस, ब्याडमिन्टन, पौडी, एथलेटिक्स, चेस आदि खेलकुद नियमित अन्तरालमा हुने गरेका छन्। यद्यपि, राखेपमा दर्ता भएका धेरैजसो संघ यस्ता आयोजनाप्रति मौन एवं उदासीन देखिँदै आएका छन्।

के स्पष्ट छ भने सबैलाई यहाँ नयाँ खेलसित आफ्नो नाम जोड्ने अनि आफू र आफ्नो सर्कलका खास मानिस भेला गरी राखेपमा नयाँ खेल–संघ दर्ता गराइहाल्ने हतारो हुन्छ। न त्यसरी दर्ता गराउन खोज्नेले केही प्रष्ट पारेका हुन्छन्, न त दर्ता गरिदिने राखेपले मुलुकभित्र त्यस्ता खेलको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) नै गरेको हुन्छ।

कसैको ध्यान खास कुराले तान्दैन, केवल एकपछि अर्को गर्दै नयाँनयाँ खेल संघहरू दर्ता गर्दैमा र नयाँ खेल भित्र्याउँदैमा देशको खेल विकास हुँदैन। ‘खेलकुदको विकास गर्ने हो भने त्यसका लागि समुचित योजना, त्यसको इमानदार कार्यान्वयन र उच्चस्तरीय समर्पण प्राथमिक आवश्यकता हुन्’, महर्जनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.