|

काठमाडौं: विश्‍व बजारमा नेपाली कामदारहरु मेहिनती र लगनशिल कामदारको रुपमा चिनिन्छन्। थोरै संख्याका कामदारहरुले धेरै प्रतिफल दिने भएका कारण विदेशीहरु नेपालीको कामबाट प्रभावित छन्।

तर, नेपालमै भने नेपाली कामदारले राम्रो प्रतिफल दिने काम गर्न सकेका छैनन्। मानव संसाधनको क्षेत्रमा  कार्यरत संस्था ग्रोथ सेलर्सले गरेको अध्ययनले नेपालको निजी क्षेत्रमा काम गर्ने कामदारबाट कम्पनीहरुले राम्रो प्रतिफल दिन नसकेको निस्कर्ष निकालेको छ। नेपालमा प्रतिव्यक्तिले दैनिक औसत ३ घण्टामात्रै काम गर्ने गरेको तथ्याङ्क यस अध्ययनपछि सार्वजनिक भएको छ।

' काम गरे भन्नलाई आठ घण्टाको हाजिर अनिवार्य नै रहेको छ। तर हाम्रो अध्ययन अनुसार नेपालको प्राइभेट क्षेत्रमा काम गर्ने औसत एक कर्मचारीबाट दैनिक ३ घण्टाको उपलब्धि मात्रै देखिएको छ' ग्रोथ सेलर्सका प्रबन्धक मोहन ओझाले भने।

अन्तराष्ट्रिय श्रमिक संगठन आइएलओको सिद्धान्त अनुसार नेपालमा पनि न्युनतम आठ घण्टा काम तोकिएको छ। धेरै निजी क्षेत्रबाट संचालित उद्योग तथा संस्थाहरुमा आठ घण्टा हाजिर नपुगेमा तलब काट्ने गरिन्छ। कतिपयले उद्योगहरुले बढी काम गर्ने कर्मचारीलाई ओटीको व्यवस्था समेत गरेका छन्। तर त्यसका बाबजुद कर्मचारीहरुले राम्रो प्रतिफल दिन सकेका छैनन्।

यी हुन् कम प्रतिफल नआउनुका कारण

अध्ययन अनुसार आठ घण्टाको हाजिर तर तीन घण्टाको प्रतिफल आउनुका कारण यस्ता छन्।  

.न्युन तलब

काम अनसारको उपलब्धि न्युन आउनुको पहिलो कारण न्युन तलब रहेको छ। कम्पनीहरुले थोरै तलब दिने आफ्नो दैनिक आवश्‍यकता पुरा नहुँदा वास्तविक उपलब्धि नदेखिने अध्ययनले देखाएको छ। 'न्युन तलबका कारण कर्मचारीका सबै आवश्यकता पुरा हुन सक्दैनन्। त्यसैले  तर आवश्‍यकता पुर्ति नहुँदा अन्य काम कसरी गर्ने र घर खर्च कसरी चलाउने भन्‍नेमै कर्मचारीको ध्यान केन्द्रीत हुन्छ। जसका कारण प्रतिफल राम्रो आउन नसकेको देखिन्छ,' ग्रोथ सेलर्सका प्रबन्धक मोहन ओझाले भने।

२ सुपरभाइजरको समस्या

सुपरभाइजर अर्थात काम अह्राउने मानिसको कमजोरी न्युन उपलब्धिको अर्को कारण हो। कुन व्यक्तीबाट कस्तो काम लिन सकिन्छ भन्ने विषयमा विभागीय प्रमुखले नबुझेको कारण पनि काम अराउन समस्या हुने र परामर्श दिन नसक्दा पनि कम प्रतिफल देखिएको हो। क्षमता अनुसारको काम दिन नसक्नु सुपरभाइजरको कमजोरी हो।

 काम गर्ने वातवरण

श्रम उत्पादन कम हुनुको अर्को कारण अनुकुल वातवरण नहुनु पनि देखिएको छ। कर्मचारीले काम गर्न चाहने तर कार्यलयमा आउने विभिन्न किसिमको समस्याको कारण प्रतिफल नआएको देखिएको छ। प्राविधिक समस्या पनि कम उत्पादकत्वको अर्को कारण हो।

राजनीति

पार्टीको राजनीतिका कारण पनि कर्मचारीहरु काममा लगाव राख्दैनन्। उनीहरुलाई काममा लगाउन व्यवस्थापनलाई समेत समस्या देखिन्छ।

विभिन्न दल विशेषले गर्ने कार्यक्रममा कर्मचारीहरु जान्छन्। जसका कारण कम्पनीको काममा अवरोध आउँछ। उद्योगभित्र संघ- संगठन बढाउने र संघ- संगठनको नाममा विभिन्न खालका कार्यक्रम गर्ने कर्मचारीको स्वभावका कारण काम अनुसारको प्रतिफल आउदैन्।

यसरी गरियो अध्ययन

निजी क्षेत्रबाट सन्चालित विशेषत तीन विधाका उद्योग तथा निजी क्षेत्रमा अध्ययन गरिएको छ। जसअनुसार उद्योग, बैंकिङ, बिमा तथा प्रविधिको क्षेत्रबाट प्रतिनीधि उद्योगमा अध्ययन गरिएको थियो।

अध्ययनमा एमबीए गरेका १२ जना विद्यार्थीलाइ खटाइएको थियो। उनीहरुले सम्बन्धित उद्योग तथा संस्थाका व्यक्तीहरुलाई गोप्य इमेल मार्फत १२ प्रश्‍नको उत्तर मागेको ग्रोथ सेलर्सका प्रबन्धक मोहन ओझा जानकारी दिए।

करिब तीन महिना लगाएर गरिएको अध्ययनमा १७० उद्योगलाइ छनोट गरिएको थियो। अध्ययनको क्रमममा लगानीकर्ता, शाखा प्रमुख र तल्लो तहका कर्मचारीलाई छुट्टा-छुट्टै किसिमका प्रश्‍नहरु सोधिएको ओझा बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.