|

काठमाडौं : निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन। १७ वर्ष पहिले फिल्म 'पिंजडा'बाट धमकेदार स्टन्डसहित उनले इन्ट्री गरेका थिए। पिंजडामा ७ तला माथिबाट हाम फाले चर्चा कमाएका निखिलले त्यस पश्चात आफ्नो करियरमा पछाडि फर्केर हेर्न परेन।

धेरै सफल फिल्महरुमा अभिनय गरिसकेका निखिल एक्सन स्टारका रुपमा चिनिन्छन्। पिंजडा, हामी तीन भाई, धड्कन, पापी मान्छे,भैरव लगायतका थुप्रै हिट फिल्ममा उनले स्टन्ड देखाएका छन्।

चर्चा चुलिएकै बेला नायिका संचिता लुईटेलसँग विवाह गरेर भारत छिरेपछि निखिल केही समय फिल्म क्षेत्रबाट टाढा भए। त्यसको ५ वर्ष पछि फिल्म 'भैरब' मार्फत उनी २०७२ सालबाट फेरि फर्किए। यस फिल्ममार्फत निखिलले नायकका रुपमा सिमित रहेको आफ्नो परिचयलाई फराकिलो पारे। 'भैरब' निखिलकै निर्देशनमा तयार भएको फिल्म हो। यसका निर्माता समेत उनी आफैं हुन्।

सफल नायक हुँदै निर्माता र निर्देशकको समेत परिचय बनाइसकेका निखिल फिल्म क्षेत्रमा नआएको भए के गर्थे त? थाहा खबरको प्रश्‍नपछि उनले भने,'म साइन्टिस्ट बन्थें होला।'

निखिलले नयाँ-नयाँ कुरा खोजी गर्ने आफ्नो रुची रहेको बताए। भन्छन्,'म सानैदेखि नयाँ कुराहरु खोजी गर्थें।  म आफै को हुँ? भनेर पनि धेरैपटक खोजी गर्छु। खोजी गर्ने बानी अझै छ।'

निखिलमा कलाकारिताको प्यास भने बच्चैदेखि थियो। फिल्म क्षेत्रमा आउने सोचसहित मार्सल आर्ट खेल्न थालेका उनी कराँतेका ब्याल्क बेल्ड होल्डर पनि हुन्। उनले फिल्म निर्देशनको औपचारिक अध्ययन समेत गरेका छन्। भन्छन् 'फिल्म क्षेत्रमा आउने सोच त थियो तर निर्देशक बनेर। कलाकार बन्‍नु त संयोग मात्र हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.