|

नवलपरासी (अमलटारी): पूर्व पश्‍चिम राजमार्गमा जोडिएको नवलपरासी कावासेती नगरपालिकाबाट दक्षिणतर्फ ३७ किलोमिटर छिर्दा अग्यौली पुगिन्छ।नारायणी नदिको नजिकै रहेको यो गाउँ अहिले अग्यौलीका रुपमा नभई अमलटारी भनेर परिचित छ।

यही अमलटारीमा स्वागत गर्नको लागि एउटा हरियो गेट छ। हात्ती र बाघको चित्र कोरिएको यो गेटबाट भित्र छिरेपछि साना-साना घरसहितको एउटा टोल देखिन्छ।  

यस टोलमा रहेका २३ घरहरुमध्ये प्रत्येक घरहरु ५० देखि सय मिटरको दुरीमा छन्। पक्की घरसँगै जोडेर प्रत्येकले एउटा सानो घरको घर पनि बनाएका छन्। पाहुनालाई सुताउनका लागि यहाँका स्थानीयवासीहरुले त्यस्तो घर बनाएका हुन्। त्यस घरमा परिवारका सदस्‍‍य नसुत्‍ने चलन छ। 

यस टोलमा २ वटा ठुला पक्की घरहरु समेत छन्। ती सुविधासम्पन्‍न २ वटा हल छन्। टोलमा आउने पाहुनालाई एकसाथ राखेर यी घरमा खाना खुवाइन्छ। अनि प्रत्येक दिन सांस्कृतिक कार्यक्रम समेत आयोजना हुन्छ। 

यहाँ एक पटक आउने पाहुना फेरि-फेरि आउने गरेका छन्।  अमलाटारी मध्यवर्ती सामुदायि होम स्टे सञ्चालनमा आएपछि यो गाउँ अहिले अमलटारी भनेर चिनिएको छ। 

पर्यटक लोभ्याउने सुत्र

होम स्टे संचालन गरेको अझै चार वर्ष पुगेको छैन। तर होम स्टेमा अहिले सम्म ४० हजार मान्छेले बास बसेका छन्। एक पटक आएको पर्यटक फेरि- फेरि पनि आउने गरेका छन्।  

थारु, वोटे र मुसहर परिवारका २३ घरधुरी मिलेर संचालन गरिएको होम स्टेमा पर्यटकको आकर्षण बढाउन उनीहरुले विशेषत पाँच उपाय अबलम्बन गरेका छन्। ती हुन् घुमाउने, डुलाउने, नुहाउने, खुवाउने र नचाउने। यस बाहेक अन्य विभिन्‍न कार्यक्रम समेत सञ्‍चालन हुन्छ। 

१. घुमाउने

यो होम स्टे नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको छ। व्यस्त समय निकालेर होम स्टेमा जाने पर्यटको लागि  जंगल घुमाउनेदेखि नदीमा बोटिङ गराउने काम स्थानीयले गर्छन्। पर्यटकलाई निकुञ्ज घुमाउन जीप सफारी र हात्तीमा चढेर जीप सफारीको व्यवस्था छ। बाघ, गैडा, हात्ती, कालिज, मृग लगायतका वन्यजन्तु हेर्ने चाहना पुरा गर्नका लागि पर्यटकहरु घु्म्‍न आउँछन्। 

होम स्टेमा आएका पर्यटकहरु प्रत्येक दिन यो कार्यक्रममा सहभागी हुने गरेको प्रबन्धक धनिराम गुरौ बताउँछन्। 'विभिन्‍न किसिमका ट्रेनिङ तथा सेमिनार लिएर होम स्टेमा आउनु हुन्छ। एक दिन घुमेपछि प्रत्येक दिन जाऊ भन्‍नुहुन्छ,' गुरौले भने।

२. हिँडाउने

पर्यटक तथा होम स्टेमा आउने पाहुनाहरुका आ–आफ्ना चाहनाहरु हुने गर्छन्। कतिलाइ पैदल हिडेर जंगल घुम्‍ने रहर पनि हुन्छ। यस्तै रहरहरुलाई क्याच गर्दै हो स्टेले सामुदायिक वन घुमाउने कार्यक्रम पनि राखेको छ।

जंगल पैदल वाक कार्यक्रम अन्तर्गत उनीहरुले दुई जना गाइडसहित पर्यटकलाइ पैदल घुमाउँछन्। यसका लागि सामुदायिक वनमा प्रति व्यक्ति ५० रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ। त्यस्तै गाँउ डुलाउनको लागि भने उनीहरुले वयलगाडा सफारी कार्यक्रम राखेका छन्। 

३. नुहाउने

त्यहाँ पुगेका कति पर्यटकहरु हात्ती समेत नदेखेका हुन्छन्। त्यही हात्तीमा बसेर जंगल घुम्दाको आनन्द बेग्लै हुन्छ। यसमाथि उनीहरुले हात्तीले नुहहाइदिने कार्यक्रम समेत राखेका छन्।

इलिफेन्ट वास कार्यक्रम अन्तर्गत यो कार्यक्रममा पर्यटकको चाहना अनुसार हात्तीले नुहाइदिन्छ। हात्तीका सोडले पानी निकालेर टाउकोबाट खनाइ दिन्छ। निकै रमाउने गर्छन् यो कार्यक्रममा पर्यटकहरु। एकै दिनमा ३ पटक समेत यो कार्यक्रममा भाग लिन्छन् केही पर्यटकहरुले।

त्यस्तै नारायणी नदीमा बोटिङ गराउने कार्यक्रम पनि उनीहरुले राखेका छन्। जसअन्तर्गत ३ किलोमिटर नदीमा बोटिङ गराइन्छ।

४. खुवाउने

होम स्टेमा बस्‍‍न आउने पर्यटकहरुलाई उनीहरुले सामान्यतय दाल, भात तरकारी नै खुवाउने गर्छन्।

नन भेज खानामा हाँसको मासु, लोकल कुखुराको मासु, माछा, तरकारी, दाल, (गुन्द्रुक, भटमास र आलु मिसाएको) अचार, भात खुवाउने गर्छन् भने भेज खानामा तरकारी, दाल, (गुन्द्रुक, भटमास र आलु मिसाएको) अचार, भात र दही  खुवाउने गर्छन्। 

खाना पनि स्थानीय स्तरमा उत्पादन गरेको र उनीहरुको आफ्नै शैलीबाट पकाउने गरेको कारण पर्यटक लोभिने गर्छन्। प्रबन्धक गुरौका अनुसार अपवाद बाहेक आफै उत्पादन गरेका खाद्य सामाग्री उनीहरुले प्रयोग गर्ने गरेका छन्।

 

५. नचाउने

आउने पर्टकलाई सांस्कृतिक कार्यक्रममा सहभागी गराइन्छ। नेपाली थारु रिमिक्स गितमा पर्यटकलाई नचाइन्छ।

थारु महिलाले पर्यटकको हात समाएर उनीहरुकाै शैलीमा नचाउने गर्छन्।

माछा मार्न दिने र किन्‍ने अर्को कार्यक्रम

पर्यटकका आफ्ना–आफ्ना सोख हुने गर्छन्। पर्यटक लोभ्याउनको लागी उनीहरुले फिसिङ इन्ड पाउण्ड कार्यक्रम राखेका छन्। यो कार्यक्रम अन्तर्गत पर्यटकले माछा मार्छ, ती माछा होम स्टेले किन्छ र उनीहरुलाई पकाएर खुवाउँछन्।

यसको लागि होम स्टेले बल्छी उपलव्ध गराउँछ, बल्छी भाडामा लिनका लागि २ सय रुपैयाँ तिर्नुपर्छ। 

सस्तो मुल्य सूची

यहाँको मुल्य सूचि निकै सस्‍तो छ। ६ सय ५० रुपैयाँमा एक जोडीले ननभेज खानासहित एकदिन बिताउन पाउँछन्। 

यस्तो छ मुल्य सुची:

मुल्य सामाग्री

मूल्य रु.    

ननभेज खाना र एक दिन बस्न दुईजना बराबर

६५०

ननभेज खाना र एक दिन बस्न दुईजना बराबर

५५०

जीप सफारी १४ जना बस्न मिल्ने

६५००

हात्ती सफारी चार जना बस्न मिल्ने

५०००

नारायणी नदिमा बोटिङ (एक जना)

७००

बयल गाडा सफारी ८ जना चढ्न मिल्ने

१८००

जंगल पैदल वाक टिकट पछि एक समुहको लागि दुई जना गाइड

१०००

इलिफेन्ट वास

१०००

आर्थिक विकासतर्फ 

केही वर्ष पहिलेसम्म पनि यहाँका स्थानीय नारायणी नदीमा माछा मारेर जीवन चलाउने गर्थे । माछा परेको दिन त दुई छाक खान सहजै हुने थियो। नपर्दा सहज थिएन जीवन गुजारा गर्न। तर अहिले यो गाउँ नै सम्पन्‍न गाउँको रुपमा गनिन थालेको छ।

अहिले गाउँमै होमस्टे सञ्चालन भएपछि स्थानीयको जीवनमा परिवर्तन आएको छ। 'माछा मारेर परिवार पाल्ने बोटे र मुसहर थारू समुदायका लागि पछिल्लो समय माछा मारेर जीवन गुजरा गर्न धौ–धौ थियो। तर, होमस्टे सञ्चालनमा आएपछि ४ वर्षको छोटो अवधिमा नै ठूलो सुधार आएको छ, करिब सम्पन्‍न भएको छ यो समुदाय,' होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया भन्छन्। 

वन तथा भू–संरक्षण मन्त्रालयको तराई भू–परिधि (ताल) कार्यक्रमले होमस्टे सञ्चालन गर्न आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। पछिल्लो समय होम स्टेको नाफा अनुसार लगानी बढाउदै गएका छन्।

२३ घरमा सञ्चालित होमस्टेले डेढ वर्षको अवधिमा २ करोड रुपैयाँ नाफा कमाएको छ। मासिक प्रतिघरधुरी आम्दानी सिजनको समयमा ४० हजार रुपैयाँ र अफ सिजनमा न्युनतम १५ हजार रुपैयाँ प्रतिघर हुने गरेको प्रबन्धक गुरौ बताउछन्।

स्थानीयस्तरमा नै उत्पादन हुने दैनिक उपभोग्य सामग्री, माछा, लोकल कुखुरा, हाँस तथा खसी–बोका होमस्टेमा नै खपत हुने गरेको छ। यो दुख अनुसारको आम्दानी कमाउने अर्को उपाय हो।

दुई वर्षमा ४० लाख जम्मा

होम स्टेबाट आउने कमाई र कृषि मार्फत आएको कमाई उनीहरुले जम्मा गर्ने गरेका छन्।  सुरुमा बचत खाता चलाएका उनीहरुले अहिले सहकारी नै खडा गरेका छन्। २३ सदस्यले सुरु गरेको सहकारीमा अहिले २१२ जनाले सदस्यता लिएका छन्। सहकारी संचालनमा आएको दुई वर्ष मात्रै भएको छ तर सहकारीमा ४० लाख रुपैयाँ जम्मा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.