१२ जना शारीरिक अशक्त र एक कैदी सामेल हुने

|

नेपालगञ्ज : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाँकेबाट ८ हजार ७८० विद्यार्थी सहभागी हुने भएका छन्। जिल्ला शिक्षा कार्यालयले बुधबार आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो परीक्षामा चार हजार ५४५ छात्रा र चार सय २३५ छात्र सहभागी हुने जानकारी दिएको हो।

यस पटकको एसईई परीक्षामा छात्रका तुलनामा छात्राको संख्या बढी रहेको जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउदले बताए। उनले नियमिततर्फ सात हजार ४८० जनामध्ये तीन हजार ७६६ छात्रा र ३ हजार ७१४ छात्रले परीक्षा दिने बताए। एक्जाम्टेड र ग्रेड वृद्धिका लागि ७७९ छात्रा र ५२१ छात्र गरी एक हजार ३ सयले परीक्षा दिने साउदले जानकारी दिए।

प्राविधिक विषयमा समेत छात्राको संख्या नै धेरै रहेको छ। उनले प्राविधिकतर्फ ४८ जनामध्ये २६ जना छात्रा र २४ जना छात्रले परीक्षा दिन लागेको बताए। खुलातर्फ १८२ जनाले परीक्षा दिँदै छन्’, जिशिअ साउदले भने। परीक्षामा १२ जना शारीरिक अपाङ्गता भएका र एक जना कैदी/बन्दीले समेत परीक्षा दिने भएका छन्। नेपालगञ्ज कारागारमा रहेका एक जना कैदीले परीक्षा दिने भएपछि कारागारमा केन्द्र तोकिएको सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाले जानकारी दिए। उनले २१८ जना परीक्षा दिनबाट अयोग्य भएको समेत बताए।    

जिशिअ साउदले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउँदै उत्तरपुस्तिका परीक्षाकेन्द्रमा पुगिसकेको र प्रश्नपत्र नजिकको सुरक्षा निकायमा पुर्याइसकिएको बताए। यहाँ परीक्षा सञ्चालनको लागि ३१ वटा केन्द्र तोकिएका छन्। उत्तरपुस्तिका केन्द्रमा पुगेको छ, प्रश्नपत्र नजिकको सुरक्षा पोष्टमा पठाएका छौँ, कर्मचारी नियुक्तसमेत भइसकेका छन्’, उनले भने।

परीक्षाको लागि ३१ केन्द्राध्यक्ष, ४५ सहायक केन्द्राध्यक्ष, ३७६ निरीक्षक र १९५ सहयोगी खटाइएको जिशिकाले जनाएको छ । जिशिअ साउदले परीक्षालाई अमर्यादित बनाउनेलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र जेल सजायसमेत हुने बताए । परीक्षा बिथोल्ने वा परीक्षामा खलल पुर्याउनेलाई हदैसम्मको कानुनी कारवाही हुने प्रावधान छ’, उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.