|

इलाम : पुर्वी नेपालको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली टुवोर्ग गोल्डपको तेस्रो संस्करण चैत १७ गतेदेखि हुने भएको छ। आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन्।

२०७१ सालदेखि आयोजना गरिएको यो फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो ।

गोल्डकपमा भारतका दुईसहित नेपालका ए डिभिजनका आठवटा टिमको सहभागिता रहने जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्गीले जानकारी दिए। यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशिसमेत बढाइएको छ। अघिल्लो संस्करणको विजेताले नगद तीन लाख रुपैयाँ र उपविजेताले नगद एक लाख ७५ हजार रुपैयाँ प्राप्त गरेकोमा यस संस्कणको विजेताले नगद चार लाख र उपबिजेताले २ लाख ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

तेस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछ। त्यसै गरी सर्वाधिक गोलकर्ताले नगद २५ हजार रुपैयाँ र म्यान अफ दि म्याचले जनही सात हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। आयोजकका अनुसार प्रतियोगितामा भारतको दुर्गा स्टिल कलकत्ता, ग्लोबल एफसी असम, रमपम झापा– ११, रुपेन्दही– ११, संकटा, लक्ष्मी हुन्डाई, मनाङ–मस्याङदी, तीन विभागीय टिम त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन्।

प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ। माइभ्याली फुटबलका अध्यक्ष धिरेन चेम्जोङले दर्शक, स्थानीय उद्यमी व्यवसायी, वैदेशिक रोजगारमा रहेका फुटबल फ्यान र प्रतियोगिताका स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटबल खेल सम्पन्न गर्नमा सहयोग हुनेमा विश्वस्त रहेको बताए। माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रूपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान भोड्का र यमाहा रहेका छन्। त्यसै गरी सह–प्रायोजक जिल्ला समन्वय समिति, इलाम नगरपालिका, पाथिभरा ट्रेडर्स, मेची पहाडी पर्यटन प्रवर्द्धन समिति लगायत रहेका छन्। प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ। प्रतियोगिताको फाइनल खेल माघ २६ गते गरिने अध्यक्ष चेम्जोङले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.