|

सिमरा : भ्रष्टाचार र आर्थिक अनियमिता भएको भन्दै जीतपुरसिमरा उपमहानगरमा सत्तारुढ दलकै वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

५ महिनापछि शुक्रबार बसेको ५२ औं कार्यपालिका बैठक १३ जना वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले बहिष्कार गरेका हुन्।

‘एकसाताभित्र नगरको सम्पुर्ण हिसाबकिताब सार्वजनिक नगरे नगरपालिकाको मूल गेटमा ताला लगाउने गरी आजको कार्यपालिका बैठक बहिष्कार गर्‍यौं,’ वडाध्यक्ष रामशरण बर्तौलाले भने, ‘नगरपालिकाको शिक्षा धरासायी हुने अवस्थामा पुगेको छ, नगरप्रमुख,उपप्रमुखले मनपरी कर्मचारी नियुक्ति गर्ने, किसानले पाउने सिंचाई, मल बीउको सुविधाहरू बोल्ने मात्रै नदिने, हामीले पटक-पटक घच्घचाँउदा प्रमुख उपप्रमुखबाट सुनुवाई हुन सकेको छैन।’

उपमहानगरले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक हिसाबकिताब समेत पटक-पटक माग गर्दा सार्वजनिक नगरेको, विविध शीर्षकमा ६ करोड खर्च गरेको नदीजन्य उत्खनन् बाहेकको सबै ठेक्का अमानतमा उठाएको भन्दै वडाध्यक्षहरूले आपत्ति जनाएका हुन्। ‘उपमहानगरको २४ वटा वडामध्ये नेकपाका १४ जना साथीहरू हामीसँग हुनुहुन्छ, अरुले साथ दिनुहुन्छ कि हुँदैन हेर्न बाँकी छ,’ वडाध्यक्ष बर्तौलाले भने। 

अर्का वडाध्यक्ष केदार बजगाईंले नगरपालिका भित्र रहेका अव्यवस्थित बसोबासको नापी हुनुपर्ने माग गरेका छन्। ‘हाम्रो विरोधको मूख्य एजेण्डा आर्थिक विषय नै हो,’ वडाध्यक्ष बजगाईंले भने।

नगरपालिकामा नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित नगरप्रमुख डा. कृष्ण पौडेलका भाइ र सालामार्फत कमिसन भागबण्डामा हरेक टेन्डर, ठेक्काको काम हुँदै आएको वडाध्यक्षहरूले बताएका छन्।

‘हामीले आजसम्म गत र चालु आर्थिक वर्षको योजनाको किताब पाएका छैनौं, योजनाको किताब छाप्नै चलखेल छ, कृषिको बीउ वितरण भएको छ, बजारमा २० रुपैयाँमा पाउने बीउको पोकोलाई सय रुपैयाँ तोकिएको छ, कानुनविपरीत सबै ठेक्का अमानतमा सञ्चालन भएको छ,’ अर्का वडाध्यक्ष भोजराज खत्री ‘ईश्वर’ ले भने।

खोलामा ठेकदारकै प्रतिनिधिलाई मासिक २२ हजार रुपैयाँ सुविधासहित अनुगमन जिम्मेवारी दिएको भन्दै वडाध्यक्षहरूले विरोध जनाएका छन्। ‘हामीले पटक-पटक खर्चको विवरण मागेपछि विविध शीर्षकमा ६ करोड देखाइयो, यो ६ करोड रुपैयाँ कुन-कुन शीर्षकमा खर्च भएको हो भनेर हामीलाई लगातार २ वर्षदेखि फाइलसहित खर्चको रेकर्ड चाहियो भनेर माग गर्दा आजसम्म सार्वजनिक गरिएको छैन,’ वडाध्यक्ष रामप्रसाद लामिछानेले भने।

सत्तारुढ दलका वडाध्यक्षहरूको विरोधमा नेपाली कांग्रेसको पनि समर्थन रहेको नेपाली कांग्रेसका वडाध्यक्ष रामबाबुप्रसाद कलवारले बताएका छन्।

‘उहाँहरूको माग हाम्रो पनि माग हो, यो जायज माग हो, उपप्रमुखले खोलामा केटाहरू मनपरी खटाएको सत्य हो, यसमा हाम्रो पनि विरोध छ,’ वडाध्यक्ष कलवारले भने।

राजपाका वडाध्यक्ष रामबाबु राउत कुर्मीले नेकपाका वडाध्यक्षहरूको माग भएपनि एकतर्फी कुरा राखेर नगरप्रमुखको कुरा नसुनी बैठक बहिष्कार गर्नु गलत भएको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.