|

कालिकोट : निर्माण शुरू गरेको १० वर्षसम्म अलपत्र परेको कालिकोट-खुलालु सडकखण्डमा पक्की पुल निर्माणले गति लिएको छ। 

कर्णालीकै गौरवको आयोजना भनिएको यो पुल निर्माण जिम्मा पाएको प्रगति कन्काई नेपाल प्रालि र सडक डिभिजन कार्यालय जुम्लाको चरम लापरबाहीले अलपत्र पारेका थिए। यो पूल बनेपछि कालीकोट-खुलालु सडकखण्ड कर्णाली करिडोरमा जोडिनेछ।

०६७ मा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र ०७१ सालमा तत्कालीन भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि पुलको शिलान्यास गरेका थिए। दुई पटक शिलान्यास भएको पुल निर्माणको काम एक दशकसम्म पनि सकिएको छैन। 

शिलान्यास भएको एक दशकपछि अलपत्र पुल निर्माण थालिएको हो। निर्माण कम्पनीले आउने असारसम्म निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता गरेको छ। अब छिट्टै पुल निर्माण हुने भन्दै स्थानीयहरू खुशी भएका छन्‌। 

सडक डिभिजनले समयमै नक्सा नदिँदा निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनीले दाबी गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माणकार्य अलपत्र गरेको परेको ठेकेदार कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताए।

उनले भने, ‘नक्सा पाइसकेपछि २०७४ सालदेखि निर्माण कार्य शुरू गरेका थियौँ। नदीको पानी कम भएपछि हिउँदको ६ महिना काम हुने, तर बर्खामा पानी बढ्दा काम गर्न सकिएन, त्यसकारण निर्माणमा ढिलाई भयो। पुलको लागत १६ करोड रुपैयाँ बढी हो।’

कम्पनीका प्रतिनिधि मैनालीका अनुसार, लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने योजना थियो। लकडाउनले गर्दा काम ६ महिनासम्म​ पूर्णरूपमा रोकियो। अब आउने असारसम्म पुल निर्माण गरी सक्ने मैनालीले बताए।

पुलको निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ। निर्माण निम्ति आवश्यक सबै सामग्री पनि ठेकेदारले ल्याइसकेको छ।

यहाँ पुल नहुँदा नदीमा फेरीबाट गाडी तारेर कर्णाली करिडोरमा केही यातायात संचालनमा छन।  थोरै गाडीहरू रहेको र भाडामा मनपरी गर्दा यात्रा महंगो पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.