|

इलाम : इलामको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन्। आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन्।

दानाबारीको शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई साउदीस्थित नदिम रियादको कारागारमा रहेको उनका दाजु चक्रबहादुर राईले जानकारी दिए। कम्पनीले आफूमाथि गलत आरोप लगाएर बिनाकारण यातना दिएको प्रेमको भनाइ उद्धृत गर्दै चक्रबहादुरले बताए।

सन् २०१२ मा साउदी गएका राई सन् २०१६ जनवरीमा दोस्रो पटक सोही कम्पनीमा गई गाडी चलाउन थालेका थिए । अल सहलावी कम्पनीमा काम गर्दै आएका राईले लहरी (गाडी)मा केवल तार लिएर जाँदा कम्पनीबाट १० किलोमिटर टाढा साथीको कोठामा निस्किएका बेला गाडीसहित सामान चोरी भएको थियो।

उनले चोरी लगत्तै कम्पनी र प्रहरीलाई जानकारीसमेत दिएका थिए। चोरी भएको दुई दिनपछि १० किमी टाढा रोमा भन्ने स्थानमा लहरी भेटिए पनि केवलको तार नभेटिएको चक्रबहादुरले जानकारी गराए। सोही आरोपमा प्रहरीले दुई महिना कैद र ५० कोर्रा सजाय सुनाएको थियो।

सो भुक्तान भएपछि पुनः चोरी गरेको आरोपमा कम्पनीले विमानस्थलबाटै पक्राउ गरी तीन लाख दस हजार रियाल जरिवाना सुनाई हालसम्म कारागारमा राखिएकाले दैनिक शारीरिक र मानसिक पीडा सहेर बस्नुपरेको प्रेमका दाजु चक्रले दुखेसो पोखे।

राजदूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा पनि भाइलाई छुटाउन नसकेको चक्रको भनाइ छ । क्राउन इम्प्लोयमेन्ट प्रालि काठमाडौँको सम्पर्क कार्यालय शनिश्चरे रोड, बिर्तामोडबाट प्रेम लहरी ड्राइभिङमा साउदी गएका थिए।

उनलाई राजकुमार नामका एजेन्टले विदेश पठाएको हुँदा उनीमार्फत कम्पनीमा निर्दोष रहेको प्रमाणित गराउन सहयोगको अपेक्षा गर्दासमेत सहयोग नपाएको चक्रबहादुर गुनासो गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.